काठमाडौँ । केपी शर्मा ओली र रमेश लेखक लाई हाजिर जमानीमा रिहा गर्ने निर्णय गरिएको छ । सर्वोच्च अदालत को परमादेशअनुसार प्रहरीले दुवै जनालाई रिहा गर्ने निर्णय गरेको हो ।
सरकारी वकिलको सहमतिमा ‘खोजी भएको बेला उपस्थित हुनेगरी’ ओली र लेखकलाई रिहा गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकृतले जानकारी दिएका छन् ।
भदौ २३ र २४ को घटनाको छानबिनका लागि गठन गरिएको गौरीबहादुर कार्की आयोग ले फौजदारी मुद्दामा अनुसन्धान गर्न सिफारिस गरेपछि उनीहरूलाई चैत १४ मा पक्राउ गरिएको थियो । प्रहरीले काठमाडौँ जिल्ला अदालतबाट तेस्रो पटक म्याद थप गरी हिरासतमा राखेको थियो ।
बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले चैत २३ मा चौथो पटक म्याद नथप्न र अनुसन्धान नसकिए हिरासत मुक्त गरेर थप अनुसन्धान गर्न परमादेश जारी गरेको थियो । अदालतको आदेशअनुसार तेस्रो म्याद बुधबारसम्म मात्रै कायम थियो ।
न्यायाधीशद्वय विनोद शर्मा र सुनिल कुमार पोखरेल ले चैत २५ पछि हिरासतमा नराख्न आदेश दिएका थिए । अदालतले दिएको समयभित्र अनुसन्धान पूरा गरी मुद्दा चलाउने वा नचलाउने निर्णय गर्न र नसकिएमा मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ अनुसार प्रक्रिया पूरा गरी रिहा गर्न निर्देशन दिएको थियो ।
उल्लेखनीय छ कि मन्त्रिपरिषद्ले भदौ २३ र २४ का घटनाबारे आयोगको सिफारिस कार्यान्वयन गर्ने निर्णय गरेको थियो । सो घटनामा काठमाडौंको बानेश्वर क्षेत्रमा प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर किशोरहरूको मृत्यु भएको थियो, जतिबेला ओली प्रधानमन्त्री र लेखक गृहमन्त्री थिए ।
स्वास्थ्य समस्याका कारण ओलीलाई त्रिवि शिक्षण अस्पतालमा राखिएको थियो भने लेखकलाई महाराजगञ्जस्थित सशस्त्र प्रहरीको नम्बर–२ गणमा राखिएको थियो ।

