सुनसरी जिल्ला को धरान उपमहानगरपालिका–१३ आँपगाछीस्थित कोशी लोकमार्गमा प्रहरीले चेकजाँचका क्रममा ठूलो परिमाणमा लागूऔषध गाँजासहित तीन जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय धरान का अनुसार धनकुटाको भेडेटारबाट धरानतर्फ आउँदै गरेको बीआर १० पिबी २२४१ नम्बरको भारतीय स्कार्पियो गाडीलाई शंका लागेर जाँच गर्दा सिटमुनि फल्स बटम बनाएर लुकाइछिपाइ ल्याउँदै गरेको अवस्थामा ५९ केजी गाँजा फेला परेको हो।
प्रहरी निरीक्षक अमरदिप भण्डारी र प्रहरी सहायक निरीक्षक मनोज कुमार बल को नेतृत्वमा खटिएको संयुक्त टोलीले गाडीसहित तीनै जनालाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेहरू बिहार राज्यको सुपौल जिल्लाका २२ वर्षीय चालक सुबिध कुमार, २२ वर्षीय रोहित कुमार र ४० वर्षीय मोहम्मद जमशेर रहेका छन्। हाल उनीहरूलाई आवश्यक अनुसन्धानका लागि इप्रका धरानमा राखिएको प्रहरीले जनाएको छ।

