काठमाडौं ,मध्यपूर्व क्षेत्रमा जारी तनाव अन्त्य गर्ने उद्देश्यसहित अमेरिका र इरान का प्रतिनिधिबीच इस्लामावाद मा औपचारिक शान्ति वार्ता सुरु भएको छ।
इरानी समाचार संस्था फार्स समाचार एजेन्सी र तस्निम समाचार एजेन्सी ले इरानी स्रोतलाई उद्धृत गर्दै प्रारम्भिक चरणको वार्तामा प्रक्रिया र एजेण्डाबारे छलफल भएको जनाएको छ।
वार्ताअघि दक्षिणी बेरुत मा इजरायल ले गरिरहेको आक्रमण रोक्नुपर्ने शर्त इरान पक्षले राखेको थियो। स्रोतका अनुसार आक्रमणको तीव्रता कम भएपछि मात्र वार्ता अघि बढाइएको हो।
पाकिस्तान का प्रधानमन्त्री शहबाज सरिफ को कार्यालयले पनि वार्ता सुरु भएको पुष्टि गरेको छ। यसअघि डोनाल्ड ट्रम्प ले इरानविरुद्ध कडा चेतावनी दिएपछि पाकिस्तानले मध्यस्थकर्ताको भूमिका खेल्दै दुवै पक्षलाई वार्तामा ल्याएको बताइएको छ।
वार्तामा अमेरिकाका तर्फबाट उपराष्ट्रपति जेडी भान्स नेतृत्वको टोली र इरानका तर्फबाट सभामुख मोहम्मद बाघेर गालिबाफ नेतृत्वको टोली सहभागी रहेको जनाइएको छ।
यस वार्तालाई मध्यपूर्वमा शान्ति स्थापनातर्फको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

