काठमाडौं । नेपाल आयल निगम ले डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३० रुपैयाँले वृद्धि गरेको छ। बुधबार जारी गरिएको सूचनाअनुसार नयाँ मूल्य बुधबार मध्यरातिबाट लागू भएको हो।
मूल्यवृद्धिपछि काठमाडौं, पोखरा र दिपायलमा डिजेलको मूल्य प्रतिलिटर २३७ रुपैयाँ पुगेको छ। निगमका अनुसार मूल्य समायोजनपछि पनि डिजेलमा प्रतिलिटर ९९.१६ रुपैयाँ घाटा रहेको छ।
त्यस्तै, आन्तरिक हवाई इन्धनको मूल्य पनि प्रतिलिटर ५ रुपैयाँले बढाइएको छ भने पेट्रोलको मूल्य भने यथावत् राखिएको निगमले जनाएको छ।
निगमका अनुसार अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य लगातार बढ्नुमा मध्यपूर्वमा जारी युद्ध मुख्य कारण रहेको उल्लेख गरिएको छ।
मूल्य समायोजनपछि पनि पेट्रोलमा प्रतिलिटर २.३२ रुपैयाँ, डिजेलमा ८७.९९ रुपैयाँ, मट्टितेलमा ३६.७० रुपैयाँ तथा एलपी ग्यासमा प्रति सिलिण्डर ३३१.२५ रुपैयाँ घाटा कायम रहेको निगमले जनाएको छ। पछिल्लो १५ दिनमै निगमले करिब ७ अर्ब ८१ करोड ६१ लाख रुपैयाँ घाटा व्यहोरेको विज्ञप्तिमा उल्लेख छ।
इन्धनको मूल्य निरन्तर बढ्दै जाँदा सरकारले केही दिनअघि सार्वजनिक सवारी साधनको भाडा पनि वृद्धि गरिसकेको छ। व्यवसायीहरूका अनुसार ढुवानी खर्च बढ्ने भएकाले तरकारी, खाद्यान्न, निर्माण सामग्री लगायत दैनिक उपभोग्य वस्तुको मूल्यमा थप वृद्धि हुने सम्भावना देखिएको छ।


