काठमाडौं । कक्षा १२ को अन्तिम परीक्षा आजदेखि देशभर सुरु भएको छ। राष्ट्रिय परीक्षा बोर्ड ले सञ्चालन गर्ने यस परीक्षामा कुल ४ लाख १८ हजार ८ सय विद्यार्थी सहभागी हुँदै छन्।
बोर्डका अनुसार नियमिततर्फ ३ लाख ३२ हजार १ सय ७८ र आंशिकतर्फ ८५ हजार ८ सय ३० विद्यार्थी परीक्षा दिँदै छन्। यस वर्ष २०७९ यताका विद्यार्थीहरूले आंशिक परीक्षा दिन पाउने व्यवस्था गरिएको छ।
विशेष रूपमा, जापान स्थित एभरेस्ट स्कुल बाट पनि ३६ जना विद्यार्थी परीक्षामा सहभागी भएका छन्।
परीक्षाका लागि देशभर १ हजार ४२१ वटा परीक्षा केन्द्र तोकिएको छ भने परीक्षा आगामी वैशाख २७ गते सम्पन्न हुने तालिका छ।
यस वर्ष परीक्षार्थी संख्या गत वर्षको तुलनामा घटेको छ। गत वर्ष ५ लाख ११ हजार ५२५ विद्यार्थी सहभागी भएका थिए भने यस वर्ष ९२ हजार ७२५ जना कम छन्। बोर्डका अनुसार नियमित र ग्रेडवृद्धि परीक्षाको नतिजामा सुधार आएकाले आंशिकतर्फ विद्यार्थी संख्या घटेको हो।
गत वर्ष कक्षा १२ मा ६१ दशमलव १७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए।

