सबैलाई पठाउनु होला
साउन १७, काठमाडौं ।   भारतसँग संवाद गर्न कांग्रेसको आग्रह, ४ वाम घटकद्वारा विरोध, विद्यार्थी संगठनले बुझाए ज्ञापनपत्रगृह सचिवको नेतृत्वमा छानबिन समिति, स्थलगत प्रतिवेदन पर्खंदै परराष्ट्र मन्त्रालय, दिल्लीस्थित दूतावास पनि अध्ययनमा जयसिंह बेपत्ता हुनुमा एसएसबीको संलग्नता छैन, तुइनमा आफैं अल्झिएर बगेका हुन् ।

दार्चुला — कल्याणसिंह धामीले मालघाटमा यात्रु कुर्न थालेको २१ वर्ष भयो, उनको रोजीरोटी नै यही हो । सरकारले न पुल बनाएको छ, न सडक । त्यसैले आफ्नै सदरमुकाम जान पनि महाकाली तरेर पारि जानेका लागि कल्याणसिंह जस्ता स्थानीयले आफ्नै लगानीमा तुइन बनाएका हुन्छन् । हिउदमा ५० र बर्खामा सय रुपैयाँ लिएर उनीहरू मान्छे पारि पठाउँछन् ।

दार्चुलाको व्यास–२ मालघाटमा शुक्रबार तुइनसँगै महाकालीमा खसेर जयसिंह धामी बेपत्ता भएपछि मुचुल्का गर्दै प्रहरी । वारि काठको खम्बा र पारि रूखमा बाधेर २१ वर्षदेखि तुइन सञ्चालन हुँदै आएको थियो । हिउदमा ५० र बर्खामा १०० रुपैयाँ तिरेर सर्वसाधारणले महाकाली तर्ने गरेका थिए ।शुक्रबार बिहान उनी मालघाट पुग्दा नपुग्दै यात्रुको लाइन लागिसकेको थियो । ८ बजेसम्म त उनले चार जनालाई पारि तारिसकेका थिए । लगत्तै स्थानीय जयसिंह धामी, विक्रम रङ्कली किनारमा पुगे । उनीहरू सदरमुकाम पुगेर बस चढी काठमाडौं र त्यहाँबाट विदेश जाने यात्रामा थिए । स्थानीय अनिता धामी पनि उनीहरूसँगै राजधानीसम्मको यात्रामा थिइन् । महाकाली तर्न जयसिंह तुइनमा झुन्डिए ।यताबाट जयसिंह तुइनमा सर्कंदै थिए, उता भारतीय सशस्त्र सीमा बल (एसएसबी) का जवान तुइनको लट्ठा फुस्काउँदै थिए । ‘उताबाट अचानक रूखको लट्ठा फुस्काउन थाले, हामीले होहल्ला गर्दागर्दै तुइन फुस्कियो, जयसिंह तारसहित खोलामा खसे र बेपत्ता भए,’ कल्याणसिंह भन्छन् ।

वारि काठको खम्बा र पारि रूखको हागामा लट्ठा बाधिएको थियो । रूखमा बाधिएको तुइन फुकाल्दा घटना भएको भन्नेमा कल्याणसिंह प्रस्ट छन् । जयसिंहले तुइनमा चढ्ने तयारी गर्दागर्दै पारिपट्टि तुइन बाँधेको ठाउँनजिकै एसएसबीका एक जवान देखिए पनि वारिपट्टि शंका भइसकेको थियो । किनकि यस्ता तुइन बेलाबेलामा एसएसबीले काट्दै आएको थियो । ‘तर, मान्छे नै झुन्डिएका बेला तुइन काट्ला भनेर सोच्नै सकिएन, त्यही भूल भयो,’ कल्याणसिंह भन्छन्, ‘एसएसबीका मान्छे रूखसम्म पुगुञ्जेल तरिसक्छु भनेर जयसिंहले तुइन सर्काउन थाले, उनी फटाफट पारि पनि पुगिसकेका थिए, तीन–चार मिटर मात्र बाँकी रहँदा तुइनसहित जयसिंह महाकालीमा पछारिए ।’

कल्याणसिंह शुक्रबारको घटनापछि स्तब्ध छन् । एसएसबीका सुरक्षाकर्मीले तुइन खोल्न थालेपछि वारिबाट होहल्ला गरेको उनी बताउछन् । ‘तुइन फुकाउन लागेको देखेपछि हामीले मान्छे छ, मान्छे छ भनेर करायौं तर नदीको आवाजले नसुनिने हुँदा हातले इसारा पनि गर्‍यौं । तर, उनीहरूले वास्तै गरेनन्,’ कल्याणसिंह भन्छन् । डोरी फुस्किएर जयसिंह नदीमा खस्नेबित्तिकै एसएसबीका सुरक्षाकर्मी घाटबाट माथि सडकतिर भागेको उनले सुनाए । ‘मान्छे खस्नासाथ उनीहरू पनि भागेर माथि सडकतिर गए । हामी त वारि नै भयौं, जयसिंह बगेको हेरिरहन बाध्य भयौं । केहीबेरसम्म टाउको देखिएको थियो तर एकैछिनमा गायब भइहाले,’ उनी भन्छन् ।

महाकाली पारि जान दार्चुलामा मात्र ११ ठाउँमा तुइन छन् । पछिल्लो दुई सातादेखि सीमा क्षेत्रमा एसएसबीले निगरानी बढाएको छ । दिनदिनै तुइन काटिएका छन् । तर, शुक्रबार भने अकल्पनीय र अमानवीय घटना भएकाले दार्चुलावासी चिन्तित छन् । ‘तुइन तर्नुपर्ने हाम्रो बाध्यता छ, गैरकानुनी रूपमा मान्छे आए भनेर उनीहरू रोक्न खोज्छन्, धम्क्याउछन् । कुटपिट पनि गर्छन् । तर, ज्यानै लिन पनि अघि सर्न थाले, यो त अति भो,’ कल्याणसिंह भन्छन् ।

जयसिंहले सात वर्ष नेपाली सेनामा जागिर खाए । तर, आर्थिक उन्नति नभएकाले विदेशतिर लागे । दुई वर्ष कतारमा ‘सेक्युरिटी गार्ड’ बने । फर्केर गाउँमा घर बनाए तर कमाएको पैसाले पुगेन । घर बनाउँदा लागेको ऋण तिर्न उनी फेरि विदेश जाने बाध्यतामा परे । दुई वर्षअघि पनि उनी कतार गएका थिए । तर, कोरोनाका कारण एक महिनामै घर फर्कनुपरेको थियो । घर बनाउँदा र घर चलाउँदा लागेको ऋणले उनी छटपटिएका थिए । तर, परिवालाई खुसी बनाउने भनेर हिडेको केहीबेरमै उनी महाकालीमा बेपत्ता भएपछि गाउँ नै शोकमा डुबेको छ ।भाइसँग छुट्टिएर नयाँ घरसँगै जिम्मेवारी बोकेका जयसिंहका छोरा पाँच वर्षे र छोरी डेढ वर्षकी छन् । घटना सुनेयता आमा र श्रीमती अवाक् भएका छन् । गाउँका महिला र बूढापाकाले आमालाई सम्झाइरहेका छन्, युवाहरू जयसिंहको खोजीमा नदी किनारतिरै छन् ।

‘यो उर्लंदो कालीमा कहाँसम्म खोज्ने ? न भेटिनेमा विश्वस्त छौं, न माया मार्न सकेका छौं,’ खोजीमा जुटेका हरकसिंह कार्की भन्छन् । पानी परिरहेकाले खोजीमा झन् समस्या आएको स्थानीयले बताए । सरकारले बनाउने भनेको पुल बनेको भए आज एउटा गरिब परिवारमा यो विपत्ति आउने थिएन । ‘योजना आयो, बजेट आयो तर पुल बनेन । नेता र ठेकेदार मिलेर बजेट पचाउने, हामी गरिबले ज्यान बगाउनुपर्ने यो कस्तो बाध्यता हो ?,’ कार्की आक्रोश पोख्छन् ।

व्यास गाउँपालिकाले घटनाबारे छानबिन गरी दोषीलाई कारबाही गर्न माग गर्दै स्थानीय प्रशासन र गृह मन्त्रालयलाई पत्राचार गरेको छ । व्यास–२ का वडाध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता धिरन बुढाथोकीले पीडित परिवारलाई न्यायिक राहत दिलाइदिन पनि माग गरिएको बताए । प्रहरीले भने मुचुल्का बनाएर धामीको खोजी गरिरहेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय दार्चॅलाका निमित्त प्रमुख प्रहरी निरीक्षक नरेन्द्र चन्दले सशस्त्र प्रहरीका डीएसपीको नेतृत्वमा जिल्लाबाट टोली गएको बताए । महाकाली तटीय क्षेत्रका सबै प्रहरी इकाइलाई खबर गरेर खोजी गर्न भनिएको छ ।

एसएसबीको संलग्नता छैन : भारतीय पक्ष

दार्चुलाको मालघाटमा तुइन तर्ने क्रममा जयसिंह धामी बेपत्ता भएको विषयमा भारतीय सुरक्षा बल एसएसबी को संलग्नता नरहेको भारतीय पक्षले दाबी गरेको छ । तुइन तरिसकेपछि तार पारि फाल्ने क्रममा त्यसैमा अल्झिएर जयसिंह नदीमा परेको दाबी भारतीय पक्षको छ । शुक्रबार घटनालगत्तै जिल्ला प्रशासन कार्यालय दार्चुलाले पत्र पठाएकोमा पिथौरागढ जिल्लाका डीएम आनन्द स्वरूपले शनिबार जवाफ पठाएका छन् । ‘तरिसकेपछि तुइन फुकालेर नेपालतर्फ फालिरहेको अवस्थामा तारमा अल्झेर जयसिंह नदीमा बेपत्ता भएका हुन्, त्यसमा एसएसबीको कुनै भूमिका छैन भनेर जवाफ आएको छ,’ दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले भने ।

‘जयसिंह तुइन तरिरहेकै अवस्थामा तुइन फुकालेर फालेको होइन,’ पत्रमा दाबी गरिएको प्रजिअ जोशीले भने । बेपत्ताको खोजीका लागि एसएसबीको उद्धार दलले पनि काम गरिरहेको पत्रमा उल्लेख छ । तर, प्रत्यक्षदर्शीहरूले भने जयसिंह पल्लो किनार पुग्दा नपुग्दै डोरी फुकालिएको दाबी गर्दै आएका छन् । घटना भएका बेला एसएसबीका सुरक्षाकर्मी मालघाट क्षेत्रमा ड्युटीमा खटिएको भने सत्य भएको भारतीय प्रशासनले जनाएको छ । ‘गस्कु क्षेत्रमा नेपालीहरू लुकीछिपी आउने क्रम बढेको सुनेपछि एसएसबीको गस्ती गएको पत्रमा उल्लेख छ,’ प्रजिअले जोशीले भने । पिथौरागढका जिल्ला अधिकारीले पठाएको पत्र जिल्ला प्रशासन कार्यालयले शनिबार नै गृह मन्त्रालयमा पठाएको छ । मालघाटको घटनाबारे छानबिन गर्न सशस्त्र प्रहरीका डीएसपी नेतृत्वको टोली घटनास्थल पुगिसकेकाले यो विषयमा सत्यतथ्यबारे केही दिनमा यकिन हुने प्रजिअ जोशीले बताए ।

उनको खोजीका लागि जिल्ला प्रहरी, सशस्त्र प्रहरी गण नम्बर ४४ गण र राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयबाट टोली परिचालन गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जिल्ला प्रशासन कार्यालयले मालघाट घटनामा एसएसबीको संलग्नता रहेको पुष्टि नभइसकेकाले छानबिन समितिको प्रतिवेदन पर्खन भनेको छ । सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट जोशी द्वारा हस्ताक्षरित विज्ञप्तिमा दुई देशबीचको सम्बन्ध खलल पार्ने भ्रामक समाचार सम्प्रेषण नगर्न अनुरोध गरिएको छ ।

जहाँ ३ वर्षअघि पौने ३ करोडको पुल शिलान्यास भएको थियो

सरकारले मालघाटमा झोलुङ्गे पुल बनाउन तीन वर्षअघि ठेक्का लगाए पनि अहिलेसम्म काम सुरुसमेत हुन सकेको छैन । तुइन विस्थापनअन्तर्गत व्यास गाउँपालिका वडा नं २ को मालघाट र वडा नं ४ को मलघट्यामा झोलुङ्गे पुल निर्माणका लागि खम्पाचे रुविना जेभी काठमाडौंले दुई करोड ७३ लाख लागतमा ठेक्का सम्झौता गरेको थियो । कम्पनीले सुरुमा करिब १५/२० दिन निर्माणस्थलमा मान्छे लगेर राखेको थियो । ‘केही दिन केही मान्छे देखिए तर काम केही भएन । तीन वर्षसम्म काम सुरुसमेत हुन सकेन,’ स्थानीय रमेश कुँवर भन्छन् ।

यता ठेकेदार कम्पनीका सञ्चालक धनबहादुर कुँवर भने सरकारी कम्पनीले असहयोग गरेकाले पुल निर्माण हुन नसकेको बताउँछन् । ‘पुल निर्माणका लागि लट्ठा, स्टिल पाटर््स नै पाएका छैनौं । यी सामान उपलब्ध गराइदिन सस्पेन्सन ब्रिज डिभिजन कार्यालयलाई एक वर्षअघि नै पत्र लेखेका थियौं, तर अहिलेसम्म पनि सामान उपलब्ध भएको छैन,’ कुँवरले भने । मालिकार्जुन गाउँपालिका–६ बाकु र व्यास–६ बडुगाउँमा झोलुङ्गे पुल बनाउन मालिका निर्माण सेवा कञ्चनपुरले ठेक्का पाएको थियो । दुवै ठाउँको पुल निर्माण गर्न दुई करोड ५५ लाख ६४ हजारमा सम्झौता भएको छ । बडुगाउँको पुल निर्माण अन्तिम चरण पुगेको छ भने बाकुमा आधाजति मात्र काम भएको छ । तर, निर्माण सामग्री अभाव भएकाले काम रोकिएको ठेकेदारको भनाइ छ ।

तुइन विस्थापनका लागि दार्चुलाका ११ स्थानमा झोलुङ्गे पुलको प्रस्ताव गरिएको थियो । तर, ४ स्थानमा झोलुङ्गे पुलको योजना पास भएको थियो । यहाँ कुनै पनि ठाउँमा पुल पूरा नभएकाले स्थानीय बासिन्दा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । जिल्ला सदरमुकाम पुग्न, भारतीय बजारबाट दैनिक उपभोग्य वस्तु किन्न, उपचार गराउन र मजदुरी गर्न महाकाली पारि जानुपर्छ, जसका लागि तुइनको प्रयोग अनिवार्य छ । सदरमुकाम खलंगाभन्दा तल भने ट्युबबाट महाकाली वारपार गरिन्छ । सरकारी कामकाज र बजारका लागि मात्र नभई दैनिक ज्यालादारी गर्न भारतीय क्षेत्रमा जानेहरूले पनि तुइनको जोखिम मोल्नुको विकल्प छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com