गोकर्णेश्वर नगरपालिका-१ सुन्दरीजलस्थित मेलम्ची चोकमा टिपरको ठक्करबाट दुई स्कुले बालिकाको मृत्यु भएको छ। स्थानीय वर्ल्ड युथ इन्टरनेसनल स्कुलमा अध्ययनरत रोहन घिसिङका छोरीहरु श्रेष्या र सृष्टिको बुधबार बिहान ८:३० बजे टिपरको ठक्करबाट ज्यान गएको हो।
उनीहरुको घटनास्थलमै मृत्यु भएको प्रहरी वृत्त बौद्धले जनाएको छ। घिसिङले दुवै छोरीलाई मोटरसाइकलमा राखेर स्कुल लैजाँदै गर्दा बा४ख ६९६५ नम्बरको टिपरले ठक्कर दिएको थियो।
चालकले टिपर ब्याक गरेर दुवै छोरीलाई किचेको घिसिङको आरोप छ। घाइते घिसिङको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचार भइरहेको छ। सो घटनामा घिसिङ पनि गम्भीर घाइते भएका प्रहरीले जनाएको छ।

