अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार कागज नभएर श्रीलंकामा पत्रपत्रिका समेत बन्द हुने अवस्थामा पुगेका छन् । केही साता पहिले कागज आयात गर्न नसक्दा श्रीलंकाका विद्यालयहरूमा परीक्षा नै हुन सकेन ।
श्रीलंकाको यो अवस्थालाई सन् १९४८ मा ब्रिटिश राजबाट स्वतन्त्रपछिको सबभन्दा दयनीय अवस्था भनिएको छ । एक वर्षअघिदेखि श्रीलंका वित्तीय संकटमा जकडिंदै थियो । विदेशी मुद्रा सञ्चिति दयनीय बन्दा श्रीलंकाले कुनै पनि वस्तु तथा सेवा आयात गर्नै नसक्ने अवस्था रहेको छ ।
पेट्रोल पम्पहरूको सुरक्षाका लागि सेना नै परिचालन गरिएको छ । इन्धनको लागि लामो-लामो लाइन छ । सर्वसाधारणले खाद्यान्न , औषधि लगायत वस्तु किन्न घन्टौं लाइनमा बस्नुपर्ने अवस्था छ । भोकमरीको अवस्था आउन अब लामो समय नलाग्ने अड्कलबाजी समेत हुन थालेको छ । श्रीलंकाको यो अवस्थाका लागि वैदेशिक ऋणको पासोलाई प्रमुख कारक मानिएको छ ।
श्रीलंकालाई हेरेर नेपालमा पनि चिन्ता व्यक्त हुन थालेको छ । यस्तो चिन्ताका पछाडि दुई कारण छन् , पहिलो, विदेशी मुद्रा सञ्चितिको अवस्था । नेपालको पनि विदेशी मुद्रा सञ्चिति लगातार घट्दो दरमा रहेको छ ।
६ महिनाभन्दा कम पुग्ने सञ्चितिलाई संकटतर्फ धकेलिंदै गएको संकेत मानिन्छ । आर्थिक वर्ष २०७८/७९ को ७ महिनाको आयातलाई आधार मान्दा नेपालको बैंकिङ्ग क्षेत्रसँग ७.४ महिनाको वस्तु र ६.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने विदेशी विनिमय सञ्चिति छ ।
अहिले शोधनान्तर स्थिति पनि नेपालको इतिहासकै कम छ । अर्को चिन्ता शोधनान्तर स्थितिसँग सम्बन्धित छ । ब्यालेन्स अफ पेमेन्ट विदेशिने र भित्रने रकमबीचको अन्तर हो । नेपाल राष्ट्र बैंकका अनुसार, चालु आवको ७ महिनामा शोधनान्तर स्थिति २ खर्ब ४७ अर्ब ३ करोड रुपैयाँ घाटामा छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ९७ अर्ब ३६ करोड रुपैयाँ बचतमा रहेको थियो ।
पूर्व गभर्नर दीपेन्द्रबहादुर क्षेत्री नेपालको ब्यालेन्स अफ पेमेन्ट इतिहासमै बढी घाटामा भएका कारण पनि श्रीलंकाको जस्तै हुन्छ कि भन्ने आशंका उब्जिएको बताउँछन् । उनका अनुसार, नेपाल र श्रीलंकाका कतिपय आम्दानीका स्रोत उस्तै छन् । श्रीलंकाको अर्थतन्त्रमा नेपालको जस्तै पर्यटन क्षेत्र र रेमिट्यान्सको महत्वपूर्ण योगदान छ ।
कोरोना महामारीले पर्यटन क्षेत्र प्रभावित भएपछि नै श्रीलंकाको अर्थतन्त्र ३.६ प्रतिशतले घटेको थियो । आम्दानीको अर्को महत्वपूर्ण स्रोत भनेको चिया निर्यात हो । ‘रूसले युक्रेनमा आक्रमण गरेपछि श्रीलंकाले चिया निर्यात समेत गर्न सकेको छैन’ पूर्व गभर्नर क्षेत्रीले भने, ‘कोरोना महामारीपछि पर्यटक आएनन्, रेमिट्यान्स पनि घट्यो अनि निर्यात गरेर कमाउनुपर्नेमा त्यो पनि हुन सकेन ।’ रूस-युक्रेन युद्धका कारण श्रीलंकाबाट ९० प्रतिशत चिया निर्यात हुन नसकेको उनी बताउँछन् ।
श्रीलंकाको अर्थतन्त्रमा समस्या देखिनुको अर्को प्रमुख कारण वैदेशिक ऋण हो । ठूलो मात्रामा ऋण लिएको श्रीलंकाले आम्दानी गुमेकाले तिर्ने भाखा चुकायो । ‘धेरै विदेशी ऋण तिर्नेलाई म्याचुर्ड पनि यही बेला भयो’ पूर्व गभर्नर क्षेत्री भन्छन्, ‘यो कारण पनि श्रीलंकामा समस्या गहिरियो ।’
के छ नेपालको अवस्था ?
केन्द्रीय बैंकको आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठ बाहृय क्षेत्र अलिकति दबावमा रहेको बताउँछन् । नेपालको पनि अर्थतन्त्र सहज अवस्थामा भने छैन ।
सबै वित्तीय सूचकले संकट देखाउँदैन । पछिल्लो समय महँगी बढेको छ । गत माघमा वाषिर्क बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.९७ प्रतिशत थियो । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति २.७० प्रतिशत थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६.०० प्रतिशत र गैर-खाद्य तथा सेवा समूहको मुद्रास्फीति ५.९६ प्रतिशत भएको छ ।
केन्द्रीय बैंकले चालु आवमा मुद्रास्फीति ६ प्रतिशतको सीमामा राख्ने बताएको छ । अहिलेसम्म बोर्डर लाइन नजिक पुगे पनि माथि नाघेको छैन । पर्यटन क्षेत्रको आय र रेमिट्यान्स दुवै घटेको छ ।
बढ्दो आयातले विदेशी मुद्राको सञ्चित घटाएको छ । ‘विदेशी मुद्रा सञ्चितिमा दबावको अवस्था पक्कै हो, तर किन्नै नसक्ने अवस्था होइन’, कार्यकारी निर्देशक डा. श्रेष्ठ भन्छन् ।
गत असार मसान्तमा रु.१३९९ अर्ब ३ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १६.२ प्रतिशतले कमी आई २०७८ माघ मसान्तमा रु.११७३ अर्ब २ करोड कायम भएको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७८ असार मसान्तमा ११ अर्ब ७५ करोड रहेकोमा २०७८ माघ मसान्तमा १७.० प्रतिशतले कमी आई ९ अर्ब ७५ करोड कायम भएको छ ।
नेपालले के गर्नेे ?
राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापा विदेशी मुद्रा आर्जनको प्रमुख स्रोत पर्यटन र रेमिट्यान्समा कोभिडले असर गर्दा श्रीलंकाको अर्थतन्त्र समस्याग्रस्त बनेको बताउँछन् । ‘अर्कोतर्फ ६-७ अर्ब डलर वैदेशिक ऋण तिर्नुपर्ने दायित्व छ’ उनी भन्छन्, ‘तर विदेशी मुद्रा सञ्चिति २.५ अर्ब डलर मात्रै छ, समस्याको दोस्रो प्रमुख कारण यो हो ।’
थापाले देखेको त्यहाँको समस्याको तेस्रो कारण आयात हो । कोभिडका कारण समस्यामा परेका क्षेत्रमा केन्द्रीय बैंकले राहत दिएको थियो । त्यो राहत पनि आयातमा ज्यादा गएको उनले बताएको छ ।
, थापाले भने , श्रीलंकाले अर्गानिक कृषि अभियान चलाएको थियो । कोभिडपछि कृषि उत्पादनमा ह्रास भएर आयात बढ्यो । ‘हिजो आन्तरिक खपत पुगिरहेको क्षेत्रमा पनि आयात गर्नुपरेपछि समस्या भयो’ ।

