स्याङ्जा – वालिङ्स्थित एक पसलबाट झण्डै ५ लाख मुल्य बराबरको जिन्सी सामग्री चोरी गरी फरार रहेका २० वर्षीय युवालाई सिरहाबाट पक्राउ गरी स्याङ्जा ल्याइएको छ। एउटै पसलबाट ५२ थान घडी, १५ थान मोबाइल, रिचार्ज कार्ड र ३ थान स्पीकर समेत गरी ४ लाख ९६ हजार ६ सय ५० रुपैयाँ मुल्य बराबरका सामान चोरेर भागेको राजेशकुमार दनुवार १० दिनपछि फक्राउ परेका छन।
यही चैत ८ गते वालिङ् १ रामबाच्छास्थित अलइन वन हाउसबाट मनिटर, घडी,मोबाइल, चेन, स्पिकर, (एनसेन, नमस्ते) का रिचार्ज कार्ड, चश्मा, पसल मालिकका नागरिकताका सक्कली प्रमाणपत्र, डाटाकेवल, मोबाइल चार्जर, चावी कभर, घडीका चेन, सवारी चालक अनुमति पत्र, केही बैंकहरुका चेकबुक चोरीगरी भागेका दनुवारलाई सिरहाको गोलबजारबाट पक्राउ गरी ल्याइएको प्रहरी उपरीक्षक राजिवबहादुर बस्नेतले जानकारी दिएका छन् ।
प्रहरीले सीसी क्यामराको आधारमा खोजतलास गर्दा पक्राउ गर्न सहज बनेको वडा प्रहरी कार्यालय वालिङका प्रमुख ढकेन्द्र खतिवडाले जानकारी दिएको छ । इलाका प्रहरी कार्यालय गोलबजारको सहयोग र समन्वयमा पक्राउ गरिएको उनले बताएका छन् ।
सामानसहित उनलाई चैत १८ गते गोलबजारस्थित उनकै घरबाट पक्राउ गरेको हो। केही वर्षअघिदेखि दनुवार वालिङ बस्दै आएका थिए। दनुवारलाई स्याङ्जा जिल्ला अदालतबाट सोमबार म्याद थप गरी घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको स्याङ्जा प्रहरीले जनाए ।

