बाजुरा – सोमबार मात्रै नेकपा एकीकृत समाजवादीले मुक्तिकोटमा चुनावी सभा गरेर ‘प्रतिगमनलाई पराजित गरेपछि देश अगाडि बढिरहेको छ’ भनेर व्याख्या गर्यो । समाजवादीको पालिकास्तरका नेताले यहाँको गरिबी न्यूनीकरण गर्ने मुख्य एजेण्डा अब आफ्नो पार्टीले बनाउने धारणा राखेका छन् । स्थानीय तह चुनावको माहोल बढिरहेको बेला यहाँको स्वामिकार्तिक खापर गाउँपालिका–१ मा पर्ने मुक्तिकोट गाउँलाई पनि चुनाव लागेको छ ।
नेपाली कांग्रेस र नेकपा एमाले पनि मुक्तिकोट गाउँमा भोट माग्न पुगिरहेका छन् । उनीहरूले पनि भोकमरीलाई चुनावी एजेण्डा बनाएका छन् र कुपोषण न्यूनीकरणको कार्यक्रम लिएर चाँडै मुक्तिकोट आउने बाचा समेत गरिरहेका छन् ।
२०७४ सालको स्थानीय तह तथा त्यसपछिको संघ र प्रदेशको चुनावमा पनि यहाँको गरिबी दलहरूको चुनावी एजेण्डा थियो । तर, समस्या सम्बोधन हुनुभन्दा पनि गाउँको अवस्था झन्–झन् दयनीय बन्दै गएको मुक्तिकोट गाउँका नेकपा माओवादी समर्थक स्थानीय नेता देवराज बिक बताउँछन् । ‘हाम्रो गरिबी देखाएर नेताहरू भोट माग्छन्, समस्या ज्यूँका त्यूँ छ’, उनी भन्छन् ।
२०५८ वैशाखअघि बाजुराको यो दुर्गम गाउँको नाम डुमकोट थियो । सरकारी अभिलेखहरूमा अझै पनि यो गाउँको नाम डुमकोट नै छ । ठूलो संख्यामा दलित समुदायको बसोबास रहेको यो गाउँलाई २०५८ वैशाखपछि माओवादीले ‘डुमकोट’ अब ‘मुक्तिकोट’ भयो भनेपछि चलनचल्तीमा यसको नाम बदलिएको हो ।
त्यसैले कहिले डुमकोटलाई मुक्तिकोट भनेर भोट मागियो, कहिले गरिबी न्यूनीकरण गर्ने भनेर भोट मागियो । गएका विभिन्न निर्वाचनमा कुपोषण मुक्त गाउँ बनाउने भनेर भोट मागियो । तर, कसैले पनि यी बाचाहरू पूरा गरेनन् । ‘चुनावको बेला मुक्तिकोटको अवस्था फेर्ने सपना देखाएर जान्छन्, समस्या जस्ताको त्यस्तै रहन्छ’ गाउँका स्थानीय एमाले नेता धनसिंह बिक भन्छन्, ‘भोट माग्ने बेलामा बाहेक नेता गाउँमा पाइलो हाल्दैनन् ।
अहिले फेरि गाउँमा उनीहरूकै भीड लागेको छ ।’ मुक्तिकोटका स्थानीय नागरिक अगुवा बलबहादुर बिकको बुझाइमा, गाउँमा भोट माग्न पुग्ने नेता जतिले त्यहाँको गरिबी समस्या समाधान गर्ने भनेर आश देखाउँछन् र स्थानीयको गरिबी माथि खेलबाड गर्छन् । कुपोषणग्रस्त आमा र बच्चाका अगाडि झुटा बाचा गर्छन् अनि चुनाव सकिएपछि अनुहार देखाउँदैनन् ।

