सबैलाई पठाउनु होला

रुकुम पश्चिम –   डोल्पा , जाजरकोट   सडकअन्तर्गत रुकुम पश्चिमको गोतामकोटदेखि डोल्पाको खदाङसम्मको दूरी झन्डै ३२ किलोमिटर छ । तर यो खण्डमा यात्रा गर्ने यात्रुले प्रतिव्यक्ति १ हजार रुपैयाँ तिर्न बाध्य छन् ।

यो खण्डमा मात्र होइन डोल्पा ,  जाजरकोट सडकका अन्य खण्डमा पनि यात्रुलाई महँगो भाडा तिर्नुपर्ने बाध्यता  रहेको छ । भेरी नदी र अन्य केही खोलाहरूमा पुल नहुँदा यात्रुहरू डोल्पा ,  जाजरकोट सडकमा ४ खण्डमा यात्रा गर्न बाध्य छन् ।

सरकारले कच्ची सडकमा प्रतिकिलोमिटर १५ रुपैयाँसम्म भाडा तोकेको छ । पुलकै अभावमा यात्रुहरूलाई खदाङबाट छलगाडसम्म अर्को गाडी चढ्नुपर्छ । उक्त १६ किलोमिटर दूरीको खण्डमा ५ सय रुपैयाँ भाडा तोकिएको छ ।  सौपानीदेखि दुनैसम्मको १५ किमिको भाडा ५ सय रुपैयाँ छ ।

‘सडक बन्यो तर पुल नबन्दा भाडा अचाक्ली छ,’ स्थानीय दिलबहादुर रोकायले भने, ‘मँहगै भए पनि गाडी नचढी सुखै छैन ।’ यातायात व्यवसायीले महँगो भाडा उठाउँदा पनि कसैले सुनुवाइ नगरेको त्रिपुरासुन्दरीकी निरा गुरुङले  बताएकी छन् । ‘प्रहरी चौकी सामुन्ने नै व्यवसायीले मनपरी रुपमा भाडा उठाइरहेका हुन्छन्,’ उनले भनिन्, ‘तर प्रहरीले नै नदेखेझैं  गरिरहेका छन् ।’

सडक बनेदेखि नै भाडामा मनपरी भइरहेको त्रिपुरासुन्दरी नगरपालिका–१ का मनराज न्यौपानेले बताए । ‘सडक बनेपछि सुख पाइला भनेको महँगो भाडाले बिजोग बनायो,’ उनले भने, ‘अहिले त गाडीहरूलाई कमाउनकै लागि सडक बनेजस्तो लाग्छ ।’

प्रहरी–प्रशासनको रेखदेख र अनुगमन नभएका कारणले भाडा महँगो भएको उनले बताएको छ  । उनका अनुसार यातायात व्यवसायीले जथाभाबी यात्रु राख्ने, क्षमताभन्दा बढी सामान ढुवानी गर्नेलगायत समस्या पनि लामो समयदेखि कायमै छ ।

उनले यातायात व्यवसायीको मनपरीले सडकमा दुर्घटनाको जोखिमसमेत बढ्दै गएको बताएका छन्  । डोल्पाका प्रमुख जिल्ला अधिकारी बेदनिधि अधिकारीले इन्धनको महँगी, सडकको अवस्था,  सवारी साधनको अभावलगायत कारण भाडा महँगो भएको बताएको छ  ।

‘भाडा महँगो भयो भनेर गुनासो आइरहन्छ, हामीले पनि पटकपटक यातायात व्यवसायीसँग बसेर यसबारे कुरा उठायौं,’ उनले भने, ‘व्यवसायीले कम भाडामा गाडी चलाउन सक्दैनौं भनेपछि समस्या भयो ।’ उनले फेरि यातायात व्यवसायीसँग बैठक बसी भाडाको समस्या समाधान गर्न पहल गर्ने जानकारी दिएका छन्  ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com