सबैलाई पठाउनु होला

विराटनगर – मेयरको दाबेदारी गरेका दुई पूर्वमन्त्री पछि हटेपश्चात् नेकपा (एमाले)को विराटनगर महानगर कमिटीले विराटनगरको मेयरको उम्मेदवार छनोटका लागि पाँच जनाको नाम सिफारिस गरेको छ । शनिबार बसेको महानगर कमिटीको बैठकले नगर अध्यक्ष सागर थापासहित पाँच जनाको नाम सिफारिस गरेको हो ।

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको उम्मेदवार छनोटका लागि नगर कमिटीले नगर अध्यक्ष थापा, केन्द्रीय सदस्य रामलाल साह, मोरङ उपाध्यक्ष बाबुराम कार्की, प्रदेश सदस्य पर्शुराम बस्नेत र महेश भट्टराईको नाम सिफारिस गरेको हो ।

उपप्रमुखको उम्मेदवारका लागि शिल्पा कार्की, विमला घिमिरे दाहाल र अन्जु उपाध्ययको नाम सिफारिस गरेको छ ।

एमाले नेता पूर्वमन्त्री लालबावु पण्डित र प्रदेश १ सरकारका पूर्वमन्त्री जीवन घिमिरेको नाम पनि चर्चामा आएको थियो । तर उनीहरूको नाम सिफारिस भएन । एमाले नगर कमिटी स्रोतका अनुसार ती नेताहरूले सर्वसम्मत हुने अवस्थामा मात्रै आफ्नो नाम सिफारिस गर्न चाहेका थिए । तर दाबेदार पाँच जना निस्कीएका कारण दुई पूर्व मन्त्री पछि हटेका थिए ।

एमाले विराटनगर महानगर अध्यक्ष सागर थापाका अनुसार नगरबाट आकांक्षीको सबैको नाम सिफारिस भए पनि प्रदेश कमिटीले उम्मेदवारको नाम केन्द्रीय कमिटीमा सिफारिस गर्नेछ ।

बैठकले विराटनगर १०, ११ र १९ नम्बर वडाको अध्यक्षको उम्मेदवार पनि टुङ्गो लगाएको छ । विराटनगर १० मा अर्जुन गिरी, ११ मा तीर्थेन्द्र न्यौपाने र १९ मा श्याम घिमिरेको नाम वडा अध्यक्षको उम्मेदवारका लागि सिफारिस गरेको छ । अन्य वडामा चैत भित्र टुङ्गो लाग्ने नगर अध्यक्ष थापाले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com