काठमाडौं – अविश्वास प्रस्ताव संसदबाट पास भएपछि पाकिस्तानका प्रधानमन्त्री इमरान खान पदबाट हटेका छन् । अब पाकिस्तानमा नयाँ प्रधानमन्त्री को बन्ला भन्ने चासो बडीरहेको छ । पाकिस्तानका मिडियाका अनुसार अब पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन) का नेता शहबाज शरीफ पाकिस्तानको नयाँ प्रधानमन्त्री बन्ने सम्भावना रहेको स्थानीय मिडियाले जनाएका छन् ।
सम्भवत आउँदो सोमबार शहबाजलाई सदनले नयाँ प्रधानमन्त्री चुन्ने बताइएको छ । शहबाज शरीफ पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरीफका भाइ हुन् । शहबाज शरीफका दुई दाजुहरु नवाज शरीफ र अब्बास शरीफ हुन् ।
नवाज शरीफ तीन पटक पाकिस्तानको प्रधानमन्त्री बनेका थिए । पनामा पेपर्सले नवाज शरीफ र उनका परिवारका सदस्यहरुले कालो धन राखेको तर सम्पत्ति विवरणमा नदेखाएको खुलासा गरेपछि त्यसैलाई टेकेर तत्कालीन विपक्षी दलका नेता इमरान खान लगायतले अदालतमा मुद्दा हालेका थिए ।
सोही मुद्दामा पाँच सदस्यीय पूर्ण इजलासले सर्वसम्मत रुपमा नवाज शरीफलाई दोषि ठहर गरेपछि नवाज शरीफको प्रधानमन्त्री पद गुमेको थियो । अब पाकिस्तानका प्रधानमन्त्री बन्न लागेका शहबाज शरीफ दाजु नवाज शरीफ भन्दा पनि धनी रहेको बताइन्छ ।
सन् २०२० को सेप्टेम्बरमा शहबाज शरीफ पनि सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा पक्राउ परेका थिए । सन् २०२१ को अप्रिलमा लाहोर हाईकोर्टले उनलाई धरौटीमा रिहा गरेको थियो । शहबाज शरीफ १३ अगष्ट सन् २०१८ देखि नेशनल एसेम्बलीको सदस्य छन् । उनी विपक्षी दलको नेता पनि हुन् । यसअघि उनी शहबाज शरीफ तीन पटक पन्जाब प्रान्तको मुख्यमन्त्री बनेका थिए । पन्जाब प्रान्तको सबैभन्दा लामो समयसम्म मुख्यमन्त्री बनेका उनी हाल पीएमएल–एनको अध्यक्ष रहेका छन् ।

