सबैलाई पठाउनु होला

कुश्मा  –  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताका अधिकार खोसेर आफन्तलाई पोस्न ५ दलीय गठबन्धन बनेको बताएका छन्। एमाले पर्वतले कुश्मामा शनिबार आयोजना गरेको बृहत् जनसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन्।

उनले प्रचण्ड , देउवा  र माधव नेपालले आफन्तलाई राज्यका विभिन्न पदमा नियुक्त गरिरहेको भन्दै आफन्तलाई पोस्न अदालतमार्फत आफ्नो सरकारलाई विस्थापित गरिएको बताएका छन् । गैरसांसदलाई मन्त्री बनाउने, आफ्नै भाइलाई राष्ट्रियसभा सदस्यमा मनोनित गर्ने र राजदूतमा आफ्नो मान्छे सिफारिस गर्ने, भ्रष्टाचार गर्न पाइँदैन भनेर गभर्नरलाई निलम्बित गर्ने जस्ता कार्य गरेको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन ।

यो गठबन्धन मुलुक निर्माणका लागि नबनेको बताउँदै उनले भने, ‘मिलिजुली खानका लागि बनेको गठबन्धन हो।’ अध्यक्ष ओलीले नेकपा एमाले सरकारले गरेको विकास निर्माणलाई देखेर विरोधी तत्त्वहरू अत्तालिएको समेत बताएका छन् । उनले कोभिडका कारण आफ्नो कार्यकालमा रेल सञ्चालन गर्न नसकिएको  समेत बताएका छन् ।  ‘आफ्नो पालामा बनेको रेल केही दिनअघि शेरबहादुर देउवाले दिल्लीमा गएर उद्घाटन गरेकोले मैले उनलाई  धन्यवाद दिएको हुँ’ ,  उनले  भने ।

२०७४ सालको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनअघि पर्वतमा आएर कुश्मा हुँदै बेनी जाने रेलमार्ग बनाइने बताएको स्मरण गर्दै रक्सौल , काठमाडौं रेल, केरुङ , काठमाडौं रेलमार्ग निर्माण प्रक्रिया सुरु भइसकेको उनले बताएका छन् । ‘रेलमार्ग पोखरासम्म ल्याउने कुरा भइरहेको छ। त्यसपछि यता आउँछ। रेल मार्ग भनेको बोल्नेबित्तिकै बन्ने धागो तानेको जस्तो हो र ? भन्दै मध्यपहाडी रेलमार्ग बनाउन सकिने बताएका छन् । उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाएरै छाडिने  समेत बताएका छन् ।

ओलीले आफ्नो कार्यकालमा हुलाकी राजमार्ग, तुइन विस्थापन,  मध्यपहाडी लोकमार्गलगायत अनेक स्वरोजगार र सघन सहरी विकास, कृषिको आधुनिकीकरण,  डिजिटल नेपाललगायत कार्यक्रमहरू सञ्चालन गरेको बताउँदै नेकपा एमालेको विकास देखेर विरोधीहरू छटपटाइरहेको बताएका छन् ।

अध्यक्ष ओलीले नेपाल विकासको मार्गमा अत्यन्तै तीव्रताका साथअघि बढेको बताउँदै  अस्पताल, स्वास्थ्यचौकी, विद्यालय, धरहरा, रानीपोखरी,  सिँचाइ, घरघरमा धारा जस्ता धेरै पूर्वाधार बनेको बताउँदै अहिलेको सरकार विकास विरोधी भएको बताएका छन् ।

आफूले भारतलाई पत्र लेखेर फिर्ता गरेको भूमिसहितको चुच्चे नक्सा मातहतका कार्यालयमा नराख्न गठबन्धन सरकारले आदेश दिनुले गठबन्धन राष्ट्रियताको पक्षमा नरहेको कुरा स्पष्टसँग बुझ्न सकिने बताएका छन् ।  सबै स्थानीय तहमा नेकपा एमालेको विजयी सुनिश्चित गर्नुपर्ने ओलीको भनाइ छ। मुलुक निर्माणको प्रमुख आधार स्थानीय तह भएकाले जसरी भए पनि बढीभन्दा बढी स्थानीय तहमा जित्नुपर्ने उनले बताएका छन् ।

‘संघीय सरकार हाम्रो होला, प्रदेश सरकार हाम्रो होला तर पनि विकासको आधार भनेको तल्लो तहको सरकार नै हो,’ उनले भने। स्थानीय तहमा कमजोर भइयो भने संघ र प्रदेशमा विजयी भएरमात्र मुलुकको विकास हुँदैन त्यसकारण सम्पूर्ण स्थानीय तहमा नेकपा एमालेको पक्षमा जनमत बनाउनुपर्छ।    उनले ५ दलीय गठबन्धन बन्यो भनेर आत्तिनुपर्ने अवस्था नरहेको बताउँदै एमालेमा आएको जनलहरले ५ दलीय गठबन्धन ५ टुक्रा हुने पनि बताएका छन् ।

उनले नेकपा एमालेका कार्यकर्ताहरूलाई अरिंगालका रूपमा परिचालन हुनसमेत निर्देशन दिए। उनले ‘एमालेलाई जिताउनुस्, पर्वतको विकास गरेर देखाउँछ’ भन्दै एमालेलाई भोट दिन अपिलसमेत गरे। अध्यक्ष ओलीले कार्यक्रममा ५ सयभन्दा बढीलाई पार्टी प्रवेश गराएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com