काठमाडौँ – बैंक तथा वित्तीय संस्थाले वैशाखमा निक्षेपको ब्याजदर नबढाउने भएका छन् । ब्याजदर बढाउँदा पनि निक्षेप नआउने भएपछि बैंक तथा वित्तीय संस्थाले वैशाख महिनाका लागि ब्याजदर स्थिर राख्ने भएका छन् ।
यसका लागि वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले आइतबार निर्णय नै गरिसकेको छ । वाणिज्य बैंकहरुले गत फागुनमा मात्र निक्षेपको ब्याजदर बढाएका थिए । चैतमा भने निक्षेपको ब्याजदर स्थिर राखे ।
चैतमा जस्तै वैशाखमा पनि निक्षेपको ब्याजदर नबढाउने सहमति भएको बैंकर्स संघले जनाए । ‘ब्याजदर बढाएर मात्र निक्षेप बढ्ने होइन । यसले ब्याजदरमा अस्थिरता मात्र बढाउँछ,’ बैंकर्स संघका उपाध्यक्ष सुनिल केसीले भने, ‘वैशाखका लागि पनि चैतकै ब्याजदर प्रकाशित गर्ने सहमति भएको छ ।’अब वैशाख महिनाका लागि बैंकहरुले चैतकै ब्याजदर प्रकाशित गर्ने भए ।
जसअनुसार वाणिज्य बैंकहरुको हाल एक वर्षे व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ११.०३ प्रतिशत ब्याजदर तोकिएको छ । गत माघको तुलनामा फागुनमा बैंकहरुले मुद्दती निक्षेपको ब्याजदर ०.९८ प्रतिशत बिन्दुले बढाएका थिए ।
फागुनमा वाणिज्य बैंकहरुले संस्थागत एक वर्षे मुद्दती निक्षेपको अधिकतम ब्याजदर १०.०३ प्रतिशत र साधारण बचतको ६.०३ प्रतिशत कायम गरे । सहमति अनुसार बैंकहरुले साेही ब्याजदर प्रकाशित गर्ने भएकाले वैशाख महिनाका लागि पनि निक्षेपकर्ताले उल्लेखित ब्याजदर नै पाउने भएका छन् ।

