काठमाडौं – विवेकशील साझा पार्टीले काठमाडौंको मेयरमा समीक्षा बास्कोटालाई उम्मेदवार बनाउने निर्णय गरे । उपमेयरमा भने कीर्ति तुलाधरलाई उम्मेद्वार बनाउने विवेकशील साझा पार्टीले जनाए । केन्द्रीय कार्य सम्पादन समितिको सोमबार बसेको बैठकले पार्टीको बागमती प्रदेशकी पूर्व संयोजक तथा हाल पार्टीको केन्द्रीय कार्य सम्पादन समितिकी सदस्य रहेकी बास्कोटालाई विवेकशीलले काठमाडौंको मेयरको उम्मेदवार बनाउने निर्णय गरेको हो।
३८ वर्षीया बास्कोटाले काठमाडौं स्कुल अफ लबाट कानुनमा स्नातक गरेर अमेरिकाबाट कानुनमै स्नातकोत्तर गरेकी छन्। उनी गएको निर्वाचनमा काठमाडौं क्षेत्र १ ‘क’ बाट प्रदेशसभाको उम्मेदवार समेत बनेकी थिइन्।
२७ प्रतिशत मत ल्याएर उनले तेस्रो स्थान हाँसिल गरेकी थिइन्। उपमेयरकी उम्मेदवार तुलाधर विवेकशील साझा पार्टीको केन्द्रीय सदस्य हुन्। उनी नेपाल जेसीजको तीनजना महिला राष्ट्रिय अध्यक्षमध्येकी एक हुन्।
उनी अन्तराष्ट्रिय जेसीजको पनि दक्षिण एसियाबाटै पहिलो महिला उपाध्यक्ष हुन्। स्नातकोत्तर गरेकी ६२ वर्षीया तुलाधर हाल विभिन्न संगठनको नेतृत्वदायी भूमिका छन्। दुवै उम्मेदवारले आफ्नो संयुक्त घोषणापत्र छिट्टै पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने विवेकशील साझाले जनाएको छ।

