विराटनगर – वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको तयारी गरिरहेको सत्ता गठबन्धनले झापासहितका जिल्लामा राप्रपासँग तालमेल गर्ने भएको छ । स्थानीय तह निर्वाचनमा प्रदेश १ मा सत्ता गठबन्धनले राजेन्द्र लिङदेन नेतृत्वको राप्रपासँग तालमेल गर्ने भएको हो ।
प्रदेश १ का १४ जिल्लामध्ये झापामा राप्रपाको प्रभाव तुलनात्मक रुपमा राम्रो मानिन्छ । २०७४ सालको स्थानीय तह निर्वाचनमा झापाको तीन पालिका प्रमुख राप्रपाले जितेको थियो । गौरीगञ्ज र हल्दीबारी गाउँपालिका अध्यक्ष जितेको राप्रपाले कचनकवल गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष नै जितेको थियो ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको गृह नगर दमकमा राप्रपा दोस्रो बनेको थियो । ओलीको गृहजिल्ला दमकमा राप्रपालाई साथमा लिएर जाने सहमति भइसकेको गठबन्धनका एक नेताले बताएका छन् । राप्रपा प्रदेश १ का अध्यक्ष राम थापाले सत्ता गठबन्धनसँग तालमेल गरेर जाने सहमति भएको बताएका छन् । ‘गठबन्धन गर्दा अनिवार्य हुन्छ, आवश्यकताका आधारमा तालमेल गर्ने सहमति भएको छ,’ उनले भने, ‘छलफल जारी नै रहेको छ ।’
स्रोतका अनुसार झापाको दमक नगरपालिका राप्रपालाई दिएर अन्य पालिकामा राप्रपाले गठबन्धनलाई सघाउने सहमति भएको छ । राप्रपा अध्यक्ष थापाले दमक आफ्नो पार्टीले पाउने बताएका छन् । राप्रपाले अध्यक्ष राम थापालाई नै मेयरको उम्मेदवार घोषणा गरिसकेको छ । गठबन्धनको तर्फबाट दमकमा माओवादीले उपमेयर पाउने सम्भावना रहेको छ ।
२०७४ सालको स्थानीय तह निर्वाचनमा दमकमा एमाले अध्यक्ष केपी शर्मा ओलीका आफन्त रोमनाथ ओली १० हजार ८०६ मतसहित निर्वाचित हुँदा दोस्रो स्थानमा रहेका राप्रपाका उम्मेदवार राम थापाले ७ हजार ६५५ मत ल्याएका थिए । तेस्रो स्थानमा रहेको माओवादी केन्द्रका उम्मेदवार रेवतराज पुरीले ६ हजार ८९८ मत ल्याएका थिए । दमकमा कांग्रेस चौथो स्थानमा थियो ।
एमालेलाई पराजित गर्ने रणनीति अनुसार राप्रपासँग झापामा मात्रै तालमेल गर्ने सहमति भएको गठबन्धनका नेताहरू बताउँछन् । काङ्ग्रेस प्रदेश १ सभापति उद्धव थापाले आवश्यकताका आधारमा तालमेल गर्ने सहमति भएको बताए । ‘राप्रपासँग गठबन्धन भएको होइन, तालमेल हुन्छ,’ उनले अनलाइनखबरसँग भने, ‘त्यो तालमेल आवश्यकताका आधारमा हुन्छ ।’ दमकमा राप्रपाले दाबी गरेको बताउँदै उनले दमक राप्रपाले पाए अरुमा राप्रपाले गठबन्धनका उम्मेदवारलाई सघाउने बताएका छन् ।
लोकतान्त्रिक मञ्च पनि गठबन्धनमा
प्रदेश १ सरकारमा मञ्चको सहभागिता छ । प्रदेशमा पनि गठबन्धनमा मञ्च मिसिएको उनले बताएका छन् । उनले भने, ‘प्रदेश १ मा ६ दलीय गठबन्धन बनेको छ । काङ्ग्रेस प्रदेश १ सभापति थापाका अनुसार प्रदेश १ मा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सत्ता गठबन्धनमा मिसिएको छ । उनले जिल्ला तहमा भागबण्डा मिलाउनका लागि छलफल जारी रहेको बताएका छन् ।
‘गठबन्धनको बैठक जारी छ, धेरै स्थानमा सहमति नजिक पुगेका छौं,’ उनले भने, ‘सबैले अधिक पालिकामा दाबी गरेकाले सहमति जुटाउने प्रयास भइरहेको छ ।’ शनिबार विराटनगरमा सत्ता गठबन्धनको प्रदेश १ स्तरीय बैठक बसेको थियो । नेकपा एकीकृत समाजवादी पार्टीको समन्वयमा बसेको बैठकले गठबन्धनलाई मजबुत बनाउने सहमति भएको बैठकमा सहभागी नेकपा एकीकृत समाजवादी मोरङका प्रवक्ता ओसिम आलमले बताएको हो ।

