सबैलाई पठाउनु होला

रामपुर –  पूर्वखोला-१ तामाखानी स्थायी घर भएकी नेपालीमा दिनानुदिन तानबाट ढाका बुन्ने कला र सीपमा निखारता आउँदा यतिखेर आफ्नो काममा जोस र जाँगर थपिएको छ नै, स्वरोजगार बनेकामा आत्मसम्मानको महसुस पनि भएको छ । पाल्पाको पूर्वखोला गाउँपालिकाकी तिलीमाया नेपालीको दिनचर्या तानबाट ढाका बुन्ने काममा बित्ने गरेको छ ।

उनी तानसेन बजारको सिल्खानटोलमा रहेको सरस्वती ढाका कपडा उद्योगमा ढाका कपडा बुन्ने गर्छिन्। ६ वर्षदेखि नै सो काममा संलग्न उनले दुई छोराछोरीसहित कोठा भाडा लिएर कारखानामा ढाका बुन्दै आएकी छिन् । उनले भनिन् , ‘श्रीमान् भारतमा मजदुरी गर्नुहुन्छ, एक जनाको कमाइले परिवारको पालनपोषण, छोराछोरीको पढाइ खर्च धान्न सकस हुन्छ, अर्कातर्फ दिनभर खाली समय काममा सदुपयोग भएको छ, काम गरेपछि हातमा दाम परिहाल्छ’।

छोराछोरी पढ्न गएपछि घरायसी काम सकाएर ढाका बुन्ने उनले साथीहरूसँगै काम गर्दा दिन बितेको पत्तो नै नहुने अनुभव सुनाइन् । फुर्सदका समय बिहान ७ बजेदेखि साँझसम्म पनि उनी निरन्तर ढाका बुन्छिन्।  ‘काम जति धेरै गर्न सक्यो, उति नै धेरै कमाउन सकिने रहेछ, धेरै समय खटिएर काम गर्नेले राम्रै कमाउन सक्छ, दिउँसो चार÷पाँच घण्टाको समय काम गरियो भने महिनामा १२÷१५ हजार रुपियाँ त सजिलै कमाउन सकिने रहेछ, महिलाहरूलाई आयआर्जन गर्न यो व्यवसाय धेरै राम्रो छ  ’, उनी भन्छिन् ।

साँझ बिहानको घरायसी काममा मात्रै सीमित रहने र दुई/चार पैसाका लागि अरूका भरमा बसेका महिलालाई सीप सिकेर आफैँ स्वरोजगार बन्न उनी सुझाव दिन्छन् । आफ्नो हातमा कमाइ भएपछि अरूको अपहेलना खेप्नु नपरेको र आफूलाई आत्मनिर्भर बन्ने बाटो मिलेको नेपाली बताउँछिन् । रिब्दिकोट गाउँपालिका-८ फेक बस्ने सीमा बगालेलाई आजभन्दा १५ वर्षअघि पढेलेखेको छैन, जागिर पाउने आसै भएन, आयआर्जन कसरी गर्ने भन्ने समस्याले निकै पिरोल्थ्यो ।

रोजगारीका खोजीमा तानसेन बजारमा आएकी बगाले यहाँको कारखानामा ढाका बुन्ने अवसर पाएपछि भने अहिले स्वावलम्बी बन्दै गएकी छिन् । तानमा बसेर ढाका बुन्न थालेको डेढ दशक भयो । काम गर्ने क्रममा सीप विकास हुँदै गर्दा अहिले उनलाई आफ्नो खर्चका निम्ति अरूका भरमा बस्नुपर्ने अवस्था छैन ।

बगालेले भनिन्, ‘कारखानामा काम पाउँदा धेरै खुसी लागेको छ, पढ्न नसक्दा जागिर पाउने आसै थिएन, ढाका बुनेर आफ्नो खर्च चलेकै छ, काम नपाएर खाली बस्नु पनि परेन, अरूसँग दुईचार पैसाका निम्ति हात थाप्नु परेको छैन’ । मिटरको हिसाबले ज्याला पाउने हुँदा यसैमा मात्रै ध्यान दिएर काम गर्नेले राम्रो कमाइ गरिरहेको व्यवसायमा संलग्न महिला बताउँछन् ।

पाल्पाली ढाका बुनाइ नेपाली र बगाले जस्तै यहाँका धेरै महिलाको आयआर्जन गर्ने बलियो माध्यम बनेको छ । श्रीमान्‌का भरमा मात्र बस्दा जीविका चलाउन धौधौ भएपछि धेरै महिलाले व्यावसायिक रूपमा तानमा बसेर ढाका बुनी दैनिक जीविकोपार्जन गरिरहेका छन् । ढाका उद्योग महिलाका निम्ति रोजगारको बलियो स्रोतका रूपमा स्थापित बनेको छ ।

ढाका उद्योगबाट धेरैलाई रोजगारी दिन पाउँदा आफूलाई आत्मसन्तुष्टि मिलेको सरस्वती ढाका कपडा उद्योगका सञ्चालक हरि रायमाझी बताउँछन् । उनको उद्योगमा अहिले दैनिक बिहानदेखि साँझसम्म ३० कामदार ढाका बुन्ने कार्यमा संलग्न छन् ।

यहाँ छोराछोरीलाई स्कुल, क्याम्पस पठाएर फुर्सदको समय ढाका बुनेर आफ्नो जीविका चलाउने गरेको पाइन्छ। उनले भने, ‘एउटा उद्योगबाट दैनिक ३० जनाले रोजगार पाएका छन्, धेरैजसो छोराछोरी पढाउन कोठा भाडामा बस्ने महिलाहरू हुनुहुन्छ, स्कुल पठाएपछि यहाँ आएर तानमा बसी ढाका बुन्ने गर्नुहुन्छ, यो देख्दा पनि आनन्द लाग्छ’ ।

तानसेन बजारमा फेन्सी पसल चलाउनुभएका रायमाझीले २०४८ सालदेखि ढाका कपडाको व्यापार सुरु गरेका हुन् । विस्तारै उद्योगका रूपमा विकास गर्दै गएपछि अहिले उहाँ धेरैलाई यसैबाट रोजगार दिने एक सफल उद्योगीका रुपमा स्थापित भएका छन् ।

द्वन्द्वकाल र कोभिड-१९ को प्रभावले व्यवसायलाई असर पुर्‍याए पनि ढाका सम्मानजनक व्यापार भएकाले उद्योगीलाई राम्रो पहिचान दिएको उनको अनुभव छ । उनी एक वर्षमा सरदरमा रु २० देखि २५ लाखसम्मको ढाका कपडाको कारोबार गर्छन् । ब्राण्डमा गएपछि ठगिने क्रम हटेको र उद्योग थप हुँदै गएकाले ढाका कपडाको व्यापार फस्टाउँदै गएको उनको भनाइ छ ।

पाल्पाली ढाका कपडा सङ्घका अध्यक्ष पूर्णमाया महर्जन आफूले चलाएको कारखानामा हाल १६ महिलालाई दैनिक रोजगारी दिएको बताउँछिन् । पाल्पाको पहिलो ढाका व्यवसायी महर्जन आठ दशक पार गरे पनि अझै बिहानै उठेर कारखानामा खटिएका कामदारसँगै काम गर्छिन् ।

महर्जनका श्रीमान् गणेशमानले २०१५ सालमा पाल्पामा पहिलो ढाका उद्योग स्थापना गरी यहाँका विपन्न, गरिब र महिलालाई रोजगारीको सिर्जना गरेका थिए । ‘उद्योग स्थापनाका तत्कालीन समयमा सडकमा मजदुरी गर्ने, गिट्टी कुट्ने, ढुङ्गा, माटो, बालुवा बोक्ने र भारी बोक्ने महिलालाई डोर्‍याएर उद्योगमा ल्याई ढाका बुन्न लगाइयो, उहाँहरू पनि धेरै मेहनत गरेर ढाका बुन्नुहुन्थ्यो’, उनले थपिन्, ‘मेरो उद्योगमा ढाका बुन्ने महिलाहरू अहिले सीप विकास गरी आफैँ उद्यमी बनेर व्यवसाय चलाएको देख्न पाउँदा सन्तुष्ट छु ।’

महर्जनले हालसम्म एक हजारभन्दा बढी महिलालाई आफ्ना कारखानाबाट आयआर्जनको अवसर दिएकी छिन् । बुढ्यौली लागे पनि उनी विशेषगरी एकल महिला, गरिब, विपन्न, दलित, जनजाति, घरपरिवार– समुदायबाट अपहेलित महिलालाई प्राथमिकता दिँदै ढाका बुन्ने कार्यमा सीप तथा हौसला दिने गर्छिन्। पहिला मासिक रूपमा तलब दिएर कामदार खटाउने महर्जनले अहिले भने मिटरको हिसाबले पारिश्रमिक दिने गरेको बताउँछिन् ।

महर्जन भन्छिन्, ‘मिटरको हिसाबले पारिश्रमिक दिन थालेपछि कामदारले राम्रै कमाइ गर्नुभएको छ, नयाँ नयाँ डिजाइन, बुट्टा भर्नेलाई थप सुविधा उपलब्ध छ, निरन्तर काममा खटिएर काम गर्नेले महिनामा रु पन्धदेखि रु बीस हजारसम्म त सजिलै कमाइ गर्नुहुन्छ।’

काठमाडौँ, गोरखपुरलगायत विभिन्न स्थानमा उत्पादित ढाका आयात गरी केही व्यापारीले पाल्पाली ढाकाको नाम बेचेर नक्कली ढाका बेच्ने गर्दा व्यवसाय धराप अवस्थामा पनि पुग्यो । सङ्घले बाहिरबाट भित्रिएका ढाका पाल्पाली ढाकाको नाम राखेर बिक्री नगर्न निर्देशन दिए पनि केही व्यापारीको अटेरका कारण पाल्पाली ढाका उद्योग संकटमा पर्‍यो । पाल्पाली ढाकाबाट उपभोक्ता नठगिन ब्राण्डका रूपमा ढाका कपडा बजारमा ल्याउन थालेको अध्यक्ष महर्जनको भनाइ छ ।

त्‍यतिबेला सुरु गरेको उक्त ढाका उद्योग अहिले देश तथा विदेशमा राम्रो पहिचान बनाउन सफल भएको छ । त्यतिबेला गणेशमानले पाल्पा कारागारमा रहेका थुनुवाबाट कपडा बुन्ने काम गराउँदा तिनलाई आम्दानीको राम्रो माध्यम बनेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com