सबैलाई पठाउनु होला

काठमाडौं-  यति बेला मुलुकमा स्थानीय तहको निर्वाचनको रौनक छाएको छ । स्थानीय तहमा उम्मेदवार बन्न इच्छुक व्यक्तिहरू पार्टीभित्र टिकटको लागि प्रयत्नशील छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले उम्मेदवारहरू छनौटलाई तिब्रता दिएको छ । सरकारमा आबद्ध दलहरू गठबन्धन गर्ने गृहकार्यमा छन् ।

बालेन शाहजस्ता युवाहरू काठमाडौँ महानगरको मेयर पदमा प्रतिस्पर्धा गर्न मैदानमा उत्रिएका छन् । हालै एउटा अन्तर्वार्तामा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले आफू नगरपालिकाको मेयर उठ्न तयार रहेको अभिव्यक्ति दिएका छन्  ।  नेपाल जस्तो सोपानक्रममा अडिएको समाजमा प्रधानमन्त्री भइसकेको अरू कुनै व्यक्तिले मेयर उठ्छु भनेर हालसम्म भनेका छैनन् ।

बाबुराम भट्टराईको अन्तर्वाता हेरेपश्चात् अलि खुला दिमागले काठमाडौँको मेयरको सम्भावित उम्मेदवार खोजी गर्न थाले । यसै क्रममा भेटिएको नाम हो, गगन थापा । आज पनि नेपाली राजनीतिमा युवा वर्गलाई संबोधन गर्दा गगन पुस्ता भनिन्छ । गगन थापा एउटा पात्र मात्र नभई प्रवृत्ति पनि हो, जसले मूलप्रवाहको राजनीतिक दलको नेतृत्वमा जबर्जस्त युवा पुस्ताको उपस्थिति संभव गराएको छ ।

हुन त म चाहन्छु, उमेरले ४५ चल्दै गरेका गगन अबको निर्वाचनपछि नेपालको प्रधानमन्त्री बनून् । युवा जनसंख्याको बाहुल्य रहेको देशमा ती नवजवानहरूको भावनाको प्रतिनिधित्व गरून् । शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षाको प्रत्याभूति गरून् । सबल पूर्वाधारहरू निर्माण गरून् । रोजगारीका अवसरहरू सिर्जना गरून् । औद्योगिक वातावरण निर्माण गरून् । विदेशी लगानी, पूँजी र प्रविधि भित्र्याउन ।

तर अहिलेको राजनीतिक परिदृश्य नियाल्दा तत्काल दाहाल, देउवा र ओलीभन्दा तल्लो पुस्तामा प्रधानमन्त्री पद आउने देखिदैन । कुनै पनि राजनीतिक दलको एकल बहुमत नआएर सरकार अस्थिर पो बन्ने हो कि भन्ने आंशका र अनुमानहरू पनि  रहेका छन् । यदि गगन काठमाडौँ महानगरपालिकाको मेयर निर्वाचित भए भने उनलाई पूर्ण कार्यकाल अर्थात् ५ वर्ष काम गर्नबाट कसैले बञ्चित गर्न सक्ने छैन ।

५ वर्षमा थालनी गरेका धेरैजसो कामहरूले नतिजा दिनेछन् । योजनाबद्ध ढंगले पञ्चवर्षीय कामहरू गर्न मिल्नेछ । वि.सं. २०६४ सालमा समानुपातिक संसद बनेका गगन २०७० र २०७४ सालमा काठमाडौँ निर्वाचन क्षेत्र नं. ४ बाट सभासद/संसद  निर्वाचित भए । २०७९ सालमा पुनः निर्वाचित भएपनि  यो कार्यकालमा उनी प्रधानमन्त्री बन्ने संभावना अत्यन्तै न्यून छ । पार्टीमा सबै ठिकठाक अगाडि बढ्यो भने २०८४ को निर्वाचनपछि केही आशा गर्न सकिन्छ ।  तसर्थ, यो पटक मेयर उठेर अर्को निर्वाचनमा सांसद बन्दा निर्वाचन क्षेत्रको नेतृत्व व्यवस्थापनमा समेत सहज होला ।

निर्वाचनमा जनताको मत परिवर्तनशील पनि हुन्छ । नेपालमा निर्वाचनको इतिहास हेर्‍यौ भने पनि लगातार दुई निर्वाचनमा एउटै दल पहिलो दल बनेको खासै इतिहास छैन । जस्तै, २०४८ सालमा नेपाली कांग्रेस, २०५१ मा नेकपा एमाले, २०५६ मा नेपाली कांग्रेस, २०६४ मा नेकमा माओवादी, २०७० मा नेपाली कांग्रेस र २०७४ मा नेकपा एमाले पहिलो दल बनेका हुन् । लगातर एउटै उम्मेदवारले एउटै निर्वाचन क्षेत्रबाट दुईभन्दा बढी पटक चुनाव जितेका पनि कमै उदाहरण छन् । मानवीय स्वाभाव पनि हो, परिवर्तन खोज्नु ।

त्यसैले यो पटकको संसदीय निर्वाचन नलड्दा थापालाई २०८४ को निर्वाचन जितेर मुलुकको कार्यकारी नेतृत्व सम्हाल्ने मौका प्राप्त हुन सक्दछ । आगामी निर्वाचनमा काठमाडौँ महानगरमा ३ लाख २ सय ४२ मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ । भुटानको नेसनल एसेम्बलीको निर्वाचनमा खसेको भोट संख्याको हाराहारी काठमाडौँ महानगरको मतदाता संख्या देखिन्छ । (सन् २०१८ को भुटानको नेसनल एसेम्बलीको प्रथम चरणमा २ लाख ९१ हजार ९८ मात्र भोट खसेको थियो, भने दोस्रो चरणमा ३ लाख १३ हजार ४ सय ७३ भोट खसेको थियो) ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com