काठमाडौं – राष्ट्रिय युवा परिषदले स्थानीय निर्वाचन प्रयोजनका लागि छनौट भएका म्यादी प्रहरीलाई उद्यमशीलता तालिम दिएको छ । हालसम्म धादिङका ७०० र भक्तपुरका ५५० जना म्यादी प्रहरीलाई उद्यमशीलता तालिम दिइएको हो । तालिमले म्यादी प्रहरीलाई स्वरोजगार बन्न प्रेरित गर्ने परिषदको विश्वास रहेको छ ।
स्थानीय निर्वाचनमा सरकारको सुरक्षा योजनालाई थप प्रभावकारी बनाउन छनौट भएका म्यादी प्रहरी ४० दिनपछि विदा हुनेछन् । विदा भएपछि उनीहरु पुनः बेरोजगार नबनुन् भनेर स्वरोजगार तालिम दिइएको राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले बताएको हुन ।
‘निर्वाचन सकिए लगत्तै बेरोजगार बन्न जाने युवा म्यादी प्रहरीलाई आफ्नै देशभित्र स्वरोजगार बन्न प्रेरित गर्न हामीले उद्यमशीलता तालिम दिएका हौं ’, बस्नेतले भने । परिषदले भक्तपुर र धादिङका १ हजार २५० जना म्यादी प्रहरीलाई सहुलियतपूर्ण कर्जा सहजीकरण, वित्तीय साक्षरता र उद्यम तालिम दिएको जनाएका छन् ।
नेपाल सरकारबाट जारी गरिएको ‘सहुलियतपूर्ण कर्जाको लागि ब्याज अनुदान सम्वन्धी एकीकृत कार्यविधि–२०७५’ मा केन्द्रित रहेर तालिम दिइएको परिषदका प्रशासकीय प्रमुख रमाकान्त शर्माले बताएका छन् । तालिमबाट स्वदेश भित्रै स्वरोजगार बन्न म्यादी प्रहरीका सहभागीहरु निकै उत्साहित भएको शर्माले बताएको हो ।
अहिलेसम्म भक्तपुरमा अलग–अलग समूह बनाएर ५५० जना म्यादी प्रहरीलाई उद्यम तालिम दिइसकिएको छ । तालिम कार्यक्रममा भक्तपुरका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको समेत उपस्थिति रहेको थियोे । यस्तै धादिङमा विभिन्न समूह बनाएर ७०० जना म्यादी प्रहरीलाई तालिम दिइएको परिषदका तालिम शाखा प्रमुख दिनेश घिमिरेले बताएको छ । धादिङको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मा समेत सहभागी रहेका थिए ।

