विराटनगर – सडकमा गुडिरहेका बेला को ३८ प २२०३ नम्बरको मोटरसाइकलको चक्कामा सल बेरिएर सुनसरीको इटहरी उपमहानगरपालिका–८ की अन्दाजी २१ वर्षीया रेश्मा नेपालीको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिएका छन् । रेश्मा प्रहरी जवान ग्रामथान–७ घर भएका ३० वर्षीय निरजकुमार चौधरीले चलाएको मोटरसाइकलको पछाडि बसेकी थिइन्।
मोरङको ग्रामथान गाउँपालिका–७ मा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको मोटरसाइकलको चक्कामा सल बेरिएर मंगलबार साँझ उनको मृत्यु भएको हो ।
उनले लगाएको लेहेङ्गाको सल मोटरसाइकलको चक्कामा बेरिएपछि साँझ ६:५० बजेतिर दुर्घटना भएको डीएसपी श्रेष्ठले बताएका छन् । गम्भीर घाइते भएकी रेश्मालाई उपचारका लागि विराटनगरको विराट नर्सिङ होम पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेका हुन्।
मोटरसाइकल चालक चौधरीलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालिएको जानकारी श्रेष्ठले बताएको छ । प्रहरी जवान चौधरी तेह्रथुमको मोराहाङ प्रहरी चौकी दरबन्दी भइ जिल्ला प्रहरी कार्यालय तेह्रथुममा कार्यरत थिए। टिपरको ठक्करका कारण दुर्घटना भएको चौधरीले बताएपछि प्रदेश १–०२–००१ ख ८१०३ नम्बरको टिपर र चालक मोरङको बूढीगंगा गाउँपालिका–७ का ३४ वर्षीय हर्कबहादुर तामाङलाई पनि प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

