काठमाडौं – फागुनसम्म २७ वाणिज्य बैंकले ४६ अर्ब ८६ करोड ५४ लाख रुपैयाँ नाफा कमाएका छन्। नेपाल राष्ट्र बैंकले आठ महिनाको तथ्यांक सार्वजनिक गर्दै नाफाबारे जानकारी दिएको हो।
यद्यपि बैंकहरू भने चालू आवको तेस्रो त्रैमासिक वित्तीय प्रतिवेदनको अन्तिम तयारीमा जुटेका छन्। तर त्रैमासिक वित्तीय विवरणमा नाफाको यकिन तथ्यांक आउने बैंकर बताउँछन्।
प्रायः नाफामा धेरथोर फड्को मार्दै आएका वाणिज्य बैंकले गत आर्थिक वर्षको फागुन महिनाको तुलनामा चालू आवको सोही अवधिमा १२.४१ प्रतिशत वृद्धि गरेका छन्।
कोभिडले अधिकांश क्षेत्र अस्तव्यस्त भए पनि व्यवसाय फस्टाउँदै जाँदा बैंकमा साँवा तथा ब्याज भुक्तानी गर्ने ऋणी पनि बढेकाले बैंकको नाफामा सुधार भएको बैंकर बताउँछन्।
चालू आवको फागुनसम्म सबैभन्दा नाफा गर्ने ग्लोबल आईएमई, नबिल बैंक र एनआईसी एसियाले गरेका छन्। ग्लोबल आईएमई बैंकले ३ अर्ब ४६ करोड २४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।

