सबैलाई पठाउनु होला

काठमाडौं  –   झरी र हिलोले सडक अस्तव्यस्त भएकोले नुवाकोटको ओखरपौवा (सिसडोल)स्थित ल्यान्डफिल्ड साइटमा गाडी जान नसकेर फोहोर नउठेको हो । काठमाडौं महानगरपालिकाले सूचना नै निकालेर शहरवासीलाई फोहोर बाहिर ननिकाल्न भनेको छ ।

यसले गर्दा घरभित्रै फोहोर राखेर दुर्गन्ध सहनुपर्ने बाध्यता सिर्जना भएको छ । घरधनीलाई भन्दा बढी डेरामा बसेकाहरुलाई समस्या परिरहेको छ । दुई हप्तादेखि तीन हप्तासम्मको फोहोर कोठाभित्रै राख्नुपर्ने समस्या आइपरेपछि कतिपयले रातिराति चोक, सडक र नदी किनारमा फोहोर फालिदिंदा शहरमा सरुवा रोगको महामारी फैलिने जोखिम समेत उत्पन्न भैरहेको  छ ।

काठमाडौं महानगरपालिका र आसपासका नगरपालिकाबाट दैनिक औसतमा १ हजार ५४ टन फोहोर सिसडोलमा पुग्ने गरेको थियो । काठमाडौंबाट दैनिक औसत ५१७ टन र ललितपुर महानगरपालिकासहित आसपासका नगरबाट ५३७ टन फोहोर दैनिख उठ्ने गरेको पाइन्छ  ।

 वर्षाका कारण सिसडोल सडकखण्डमा पहिरो गएका कारण पनि फोहोर व्यवस्थापन गर्न नसकेको  हो ।   तर, त्यो क्रम रोकिंदा करीब १५ हजार ८ टन फोहोर सडक किनारा र जनताको घरभित्र थुप्रिएको काठमाडौं महानगरपालिकाको वातावरण विभागको अनुमान लगाएको  छ ।

ललितपुर महानगर क्षेत्रबाट १३० मेट्रिक टन फोहोर संकलन गरेर ल्यान्डफिल्ड साइटमा पुर्‍याउने गरिएको छ । उपत्यकाका गोकर्णेश्वर नगरबाट दैनिक ६० मेट्रिक टन फोहोर उत्पादन  हुने गर्दछ ।

नागार्जुन,  तारकेश्वर, टोखा र बूढानीलकण्ठ नगर क्षेत्र हरेकबाट ३५/३५ मेट्रिक टन फोहोर उत्पादन हुने गरेको तथ्यांक रहेको  छ । महालक्ष्मी, चन्द्रागिरि र मध्यपुरथिमि नगर क्षेत्रबाट दैनिक ३०/३० मेट्रिक टन फोहोर उत्पादन  हुने गर्दछ ।

सूर्यविनायक र  गोदावरी  नगर क्षेत्रबाट २५/२५ मेट्रिक टन, कागेश्वरी मनोहरा नगर क्षेत्रबाट २० मेट्रिक टन तथा दक्षिणकाली र चाँगुनारायण नगर क्षेत्रबाट १५/१५ मेट्रिक टन फोहोर संकलन हुने  गर्दछ ।

फोहोर  फाल्ने ठाउँ भेटाउन  कढिन

वर्षाका कारण सिसडोल सडकखण्डमा पहिरो गएका कारण पनि फोहोर व्यवस्थापन गर्न  सकिरहेको छैन  । फोहोर बोकेका गाडीहरु सिसडोल जानसक्ने स्थिति  पनि  छैन । महानगरको वातावरण विभागका एक अधिकारी फोहोर उठाउने काम १५ दिनदेखि ठप्प भएको बताउँछन् ।

उनका अनुसार त्यसअघिको साता पनि साइट गएका गाडीहरु एक सातासम्म लाइनमा बस्नुपर्ने अवस्था आएर फोहोर उठाउने क्रम सुस्त बनेको थियो । ‘फोहोर पुर्दापुर्दै सिसडोलमा ८० मिटर अग्लो कान्लो बनेको छ,’ ती अधिकारी भन्छन्, ‘त्यही कान्लोको बाटोबाट माथि उक्लिएर गाडीले फोहोर खन्याउनुपर्छ, पानी परिरहेकाले त्यहाँ गाडी जान सम्भव छैन ।’

उनका अनुसार अहिले ल्यान्डफिल्ड साइटमा फोहोर बिसर्जन गर्ने ठाउँको समेत अभाव रहेको छ । हरेक साल वर्षायाममा यही समस्या दोहोरिंदै आएको छ । खोल्साखाल्सीमा डोजर चलाएर थोरै–थोरै ठाउँ निकाल्दै फोहोर व्यवस्थापन गरिरहेको महानगरलाई वर्षायाम लागेपछि गाडीहरु नै हिलोमा धसिने समस्याले पिरोल्ने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com