चितवन – चितवनको भरतपुर महानगरपालिका र माडी नगरपालिकामा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी बीच चुनावी तालमेल गर्ने विषयमा चलेको छलफल अन्तिम चरणमा पुगेको नेताहरुले बताएका छन् ।
जिल्लाका यी दुई पालिकामा राप्रपाको मत राम्रो रहेकाले राप्रपालाई दुबै पालिकामा उपमेयरसहित केही वडाध्यक्ष दिएर तालमेल गर्ने सहमतिको नजिक पुगिएको एमाले नेताहरुले बताएका हुन ।
राप्रपाको बैठक अहिले बिहान ११ बजे बस्ने भएको छ । राप्रपाका नेता जीवलाल पुरीले एमालेसँग सकारात्मक कुराकानी भइरहेको बताएका छन् । भरतपुर महानगरपालिका र माडी नगरपालिकामा राप्रपाको बलियो उपस्थिति रहेको छ ।
एमालेले भरतपुर महानगरपालिका र माडी नगरपालिकामा राप्रपासँग तालमेल गर्ने भनेर उपमेयरको टुंगो लगाएको छैन । शनिबार राति सकिएको एमाले सचिवालय बैठकले पनि भरतपुर महानगरपालिकाको उपमेयरमा सकेसम्म तालमेल गर्ने नभए गीता श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
एमालेले भरतपुर महानगरको मेयरमा विजय सुवेदी र माडीको मेयरमा ताराकाजी महतोलाई मेयरको उम्मेदवार बनाएको हो । एमाले चितवन जिल्ला इञ्चार्जसमेत रहेका पोलिट्ब्यूरो सदस्य देवी ज्ञवालीले राप्रपासँग चुनावी तालमेलमा सहमतिको नजिक पुगेको बताएका छन् ।
‘आज साँझसम्म एउटा कुरा आउँछ,’ ‘एमाले र राप्रपासँगै मिलेर जानेमा एकमत छौं ’, नेता ज्ञवालीले भने ।
‘मिलेर जानुको विकल्प छैन, आज फाइनल हुन्छ,’ उपाध्यक्ष पाण्डेले भने, ‘यसपटक भरतपुर जित्नुपर्छ भन्ने हो ।’ एमालेले भरतपुरको उपमेयरमा प्रदेश सांसदसमेत रहेकी रिना गुरूङलाई उम्मेदवार बन्न अनुरोध गरेको हो ।
राप्रपा र एमाले मिल्दा भरतपुरमा के हुन्छ ?
अघिल्लो स्थानीय तह निर्वाचनमा एमालेबाट मेयर बनेका देवी ज्ञवाली २०३ मतले कांग्रेस–माओवादी गठबन्धनबाट उम्मेदवार बनेकी रेनु दाहालसँग पराजित भएको थियो । एमालेका उम्मेदवार देवी ज्ञवालीले ४२ हजार ९२४ मत ल्याउँदा रेनुले गठबन्धनबाट ४३ हजार १२७ मत ल्याएकी थिइन् ।
राप्रपाबाट मेयर उम्मेदवार बनेका बद्री तिमिल्सिनाले ६ हजार ८४२ मत ल्याएका थिए । तिमिल्सिना अहिले माओवादी केन्द्रमा रहेका छन् । राप्रपाबाटै उपमेयरको उम्मेदवार बनेकी रिना गुरूङले ७ हजार २५२ मत ल्याएकी थिइन् ।
अघिल्लो चुनावमा काठमाडौं लगायतका पालिकामा राप्रपासँग तालमेल गरेको एमालेले भरतपुरमा तालमेल नगर्दा चुनाव हार्न परेको एमालेकै जिल्ला नेताहरु बताउँछन् ।
‘हामी जम्मा २०३ मतले मेयरमा हार्यौं, त्यतिबेला राप्रपासँग तालमेल भएको भए कांग्रेस–माओवादी गठबन्धन पराजित हुन्थ्यो, राप्रपाको ६ हजार मत आउँदा माओवादीले मतपत्र च्यात्ने आँट पनि गर्दैनथ्यो,’ एमाले जिल्ला सदस्य राजु पौडेलले भने, ‘यसपटक मिलेर जानुपर्दछ, थोरै मतको हार–जित हैन, ठूलो अन्तरले जित्नुपर्छ ।’
यसपटक राप्रपाले १० हजार बढी मतदाता आफ्नो रहेको दावी गर्दै आइरहेका छन् । भरतपुर महानगरपालिकाको वडा नं. २५, २६, २७ र २८ मा राप्रपाको जनमत राम्रो छ । यस्तै माडी नगरपालिकामासमेत राप्रपाको बलियो उपस्थितिछ । माडी नगरपालिकामा गएको स्थानीय तहको निर्वाचनमा मेयर जितेका ठाकुर ढकालले ३ हजार ८७३ मत ल्याउँदा राप्रपाका मेयर उम्मेदवार मदन पौडेलले ३ हजार ७३ मत ल्याएका थिए ।
एमालेका उम्मेदवार नारदमणी पौडेलले ३ हजार ८२६ मत ल्याएका थिए । राप्रपाको माडीको वडा नं. १, २ र ३ मा बलियो जनमत रहेको छ । एमाले र राप्रपा बीच तालमेल हुँदा माडी र भरतपुरको नतिजामा फरक पार्ने अवस्था आउने अनुमान गरिएको छ ।

