सबैलाई पठाउनु होला

काठमाडौं  –   बाँकेको नेपालगञ्ज उपमहानगरपालिकामा एक्लै चुनाव लड्न तयार भएको नेकपा माओवादी केन्द्र उम्मेदवारका विषयमा भने अलमलमा परेको छ । किनभने नेपालगञ्जको स्थानीय कमिटीले केन्द्रबाट पाउनुपर्ने निर्देशन पाएकै छैन । केन्द्रबाट के निर्देश हुन्छ सोही अनुसार गर्ने नेपालगञ्ज महानगर कमिटीको तयारी रहेको  छ ।

‘पहिले गठबन्धन हुने/नहुने टुंगो लाग्नुपर्‍यो । हिजो हामीले एक्लै लड्छौं त भन्यौं तर, गठबन्धन भत्काउन नहुने पार्टीको नीतिका कारण उम्मेदवारी दर्ताका लागि पर्खिएका छौं’ नेपालगञ्जका एक स्थानीय नेताले भने । उनका अनुसार माओवादी उम्मेदवार तय गर्नमा भन्दा गठबन्धनमा सकेसम्म धेरै भाग पाउने उपायको खोजीमा  रहेको छ ।

पाँच दलीय गठबन्धनमा नेपालगञ्जको मेयरमा कांग्रेस र उपमेयर जनता समाजवादी पार्टीले लिने सहमति भएको छ । मेयरमा दाबी गर्दै आएको माओवादी केन्द्रले उपमेयर समेत नपाएपछि २३ मध्ये १२ वटा वडा अध्यक्षमा दाबी गर्‍यो ।

तर, कांग्रेस र जसपा माओवादी केन्द्रलाई १२ वटा वडा नेतृत्व दिन तयार भएन । त्यसपछि माओवादीले एक्लै चुनाव लड्ने निर्णय सार्वजनिक गरेको हो । ‘कांग्रेस र जसपाको अपरिपक्व राजनीतिक ब्यवहारले समस्या भएको हो’ स्थानीय माओवादी नेता तुलसीमनि केसी भन्छन्, ‘आज साँझसम्म गठबन्धनका बीचमा सहमति भयो भने गठबन्धनमै रहेर चुनाव लड्छौं ।

भएन भने भोलि मेयर र उपमेयरसहित २३ वटै वडामा माओवादीको एकल उम्मेदवारी दर्ता हुन्छ ।’ गठबन्धनको राष्ट्रिय आवश्यकतालाई ध्यान दिएर आफूहरुले आइतबार उम्मेदवारी दर्ता नगरेको उनको भनाइ रहेको  छ । नेपालगञ्जको जस्तै स्थिति वीरगञ्ज र विराटनगर महानगरपालिकामा पनि रहेको छ ।

यी दुबै महानगरपालिकामा माओवादीले मेयर र उपमेयरमा भाग पाएको छैन । त्यसैले उसले वडा नेतृत्वमा आफूहरुलाई धेरै दिनुपर्ने माग गरेको छ । अन्य दलहरु तयार नहुँदा समस्या भएको रिपोर्टिङ प्रदेश हुँदै पार्टीको केन्द्रसम्म आइपुगेको हो ।

माओवादी केन्द्रको केन्द्रीय कार्यालय सचिव श्रीराम ढकाल माओवादीको सातै प्रदेश कमिटी र विभिन्न जिल्ला कमिटीहरुको बैठक चलिरहेको  बताएका छन्  ।  ढकालले भने, ‘कतै सहमति भएको खबर आएको छ, कतै सहमतिको प्रयास छ । तर, अझै गठबन्धन टुंगिन बाँकी रहेकाले धेरै जिल्लामा गठबन्धनकै विषयमा छलफल केन्द्रित भएको छ’ ।

आजसम्म गठबन्धनमा सहमति खोज्ने र भएन भने सोमबार उम्मेदवार तय गरेर दर्ता गर्ने माओवादीको केन्द्रीय नीति रहेको छ । कार्यालय सचिव ढकालले भने,  ‘आजै पाँच दलीय गठबन्धनको बैठक छ । गठबन्धनको सम्भावना सकियो भनिएको ठाउँमा केन्द्रले फेरि छलफल गरेर सहमति जुटाउन पनि सक्छ । त्यसपछि माओवादी पूर्ण रुपमा उम्मेदवार चयनमा केन्द्रित हुन्छ’ ।

चितवन जिल्लामा पालिका र ९८ वटै वडामा सत्ता गठबन्धनले भागबन्डा गरेका छन् । कांग्रेसले ५८, नेकपा माओवादी केन्द्रले २६ र नेकपा एकीकृत समाजवादी ले १३ वटा वडाध्यक्ष पाउने गरी भागवण्डा गरेका  हुन ।

चितवनसँगै सिन्धुली र रामेछाप जिल्लाका पालिकाहरुमा समेत पार्टीले उम्मेदवारहरु टुंगो लगाइसकेको बागमती प्रदेश अध्यक्ष सहयात्रीले जानकारी दिएको छ  । बाँकी सबै जिल्लाको पालिकामा उम्मेदवार आइतबार रातिसम्म तय गरेर सोमबार मनोनयन दर्ता गरिने उनले बताएको हुन  ।

०७४ को चुनावमा रुकुम पश्चिममका ६ वटा पालिका प्रमुखमा माओवादीले नै जितेको थियो । रुकुम पश्चिममा गठबन्धनले पनि सम्मानजनक उपस्थिति भनेर बढी दाबी गरेको माओवादी नेताहरु बताउँछन् । निरन्तर छलफलमा रहेको जिल्ला र प्रदेश स्तरीय गठबन्धनको बैठकले नसके केन्द्रीय गठबन्धनले टुंग्याउने कर्णालीका नेताहरु बताउँछन् ।

‘कर्णाली प्रदेशमा गठबन्धन धरापमा पर्दैन, हाम्रो कोसिस जारी छ’ केसीले भनिन् । मधेश प्रदेशमा भने पार्टीको संगठन नै प्रभावकारी नहुँदा समस्या भएको केन्द्रीय नेताहरु बताउँछन् । ‘एकातिर संगठन कमजोर अर्कोतिर धेरै आकांक्षी छन् । यसकारण मधेश प्रदेशमा उम्मेदवार तय गर्नका लागि केन्द्रले नै महेनत गरिरहनुपरेको छ’ प्रचण्ड निकट एक नेताले भने ।

उनका अनुसार अन्य जिल्ला र प्रदेशहरुमा सम्बन्धित पार्टी कमिटी नै लागिरहेको छ । उनी भन्छन्, ‘सहमति हुन नसकेको खण्डमा मात्रै केन्द्रले समन्वय गर्ने हुँदा केन्द्रले धेरै मेहनत गर्नुपरेको छैन ।’ माओवादी नेताहरु अन्य पार्टीमा टिकट पाउनका लागि लडाईं भइरहेको तर, आफूहरु गठबन्धनलाई बलियो बनाउनुपर्छ भन्नेमा केन्द्रित रहेको बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com