सबैलाई पठाउनु होला

बुटवल –  नेकपा एमाले र माओवादी केन्द्रबीच एकतापछि समकक्षी नेताहरुलाई पछाडि पार्दै रुपन्देहीका विष्णु पौडेल पार्टीको महासचिव भएर एकाएक शक्तिशाली बनेका  थिए  । सरकार र पार्टी दुबैतिर पौडेल हावी देखिए । तर नेकपामा विवाद हुँदै विभाजन र एमालेको दशौं महाधिवेशन यतासम्म आइपुग्दा पौडेल निरन्तर कमजोर बन्दै गएका  छन् ।

विगतमा उनी नजिक रहेका नेताहरुले एकपछि अर्को गर्दै उनको साथ छाड्न थाले । जुन कुरा अहिले स्थानीय तहको निर्वाचनको उम्मेदवार चयनका क्रममा पनि प्रष्टै देखिएको छ । रुपन्देहीका एक उपमहानगर, ५ नगरपालिका र १० गाउँपालिकाको नेतृत्वका लागि टिकट वितरणमा पौडेल निरीह जस्तै देखिएको छ  ।

राष्ट्रियस्तरमै प्रभाव पार्ने बुटवल उपमहानगरमा पौडेलका निकट र विश्वासपात्र गोपाल राना मेयरका प्रबल दावेदार थिए । धेरैले रानाले टिकट पाउने विश्वास गरे पनि विगतमा विष्णु पौडेल निकट भए पनि पछिल्लो समय महासचिव शंकर पोखरेलको समूहमा गएका बाबुराम भट्टराईले बाजी मारेका छन्  ।

प्रदेश कमिटीमा पनि विष्णु पौडेल पक्ष अल्पमतमा परेकाले रानाको पक्षमा जोडबल गर्न पौडेलले नसकेको एमाले नेताहरु बताउँछन् । प्रदेश इन्चार्ज एवं पार्टी सचिव छविलाल विश्वकर्मा,   प्रदेश सभाका एमाले प्रमुख सचेक भूमिश्वर ढकाल, प्रदेश अध्यक्ष लिला गिरी, लगायत सबै यतिबेला विष्णु पौडेल समूहमा छैनन् ।

उनीहरु महासचिव शंकर पोखरेलको समूहमा रहेका  छन् । बुटवल मात्र होइन, रुपन्देहीका ५ नगरपालिकामध्ये ४ वटामा महासचिव पोखरेल र घनश्याम भूसाल निकटका नेताले टिकट पाएका छन् । पौडेल निकटका भने सैनामैनाका चित्रबहादुर कार्कीले मात्र टिकट पाएको छ ।

पार्टी स्रोतका अनुसार भूसाल निकटका व्यक्तिलाई वडा तहसम्म नेतृत्व दिने सहमति भएको छ । ‘घनश्यामजीलाई पार्टीको केन्द्रमा किनारामा पारिएकै छ,’ एक नेताले   भने, ‘जिल्लामा पनि उहाँ निकटका आकांक्षीहरुलाई अघि बढ्न नदिंदा त्यसको सन्देश राम्रो नजाने बुझेरै होला ।

जिल्लास्थित एमाले नेताहरुका अनुसार, पार्टी उपाध्यक्ष विष्णु पौडेलले तिलोत्तमा नगरपालिकाको मेयरमा पुनः बासुदेव घिमिरेलाई दोहोर्‍याउन चाहन्थे । घिमिरे पहिले भूसाल पक्षकै भए पनि नेकपाभित्रको विवाद चर्किँदै जाँदा पौडेलतिर लागेका थिए ।तर तिलोत्तमामा पौडेललाई छोडेर महासचिव शंकर पोखरेलको खेमामा पुगेका मोहन चापागाईंले टिकट पाएको छ  ।

चापागाईं पौडेल अघिल्लोपटक अर्थमन्त्री रहेका बेला उनका सञ्चार विज्ञ समेत बनेका थिए । चापागाईंले पौडेल र महासचिव पोखरेल दुबै नेताको विश्वास जितेका र अन्तिममा पोखरेलले अडान लिएका कारण टिकट पाएको बताइन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com