काठमाडौं – उद्घाटनको एक वर्षपछि धरहराको पुनर्निर्माण म्याद करिब एक वर्ष थपिने भएको छ । धरहराको निर्माण अवधिको म्याद चैत मसान्तमा सकिएकाले ठेकदार कम्पनीले आगामी धरहरा बनाउने थप म्याद पाउन लागेको हो ।
गत मंसिरमै म्याद सकिए पनि सरकारले महामारीको कारण प्रभावित परियोजनालाई थप ६ महिना समय दिएको थियो ।
११ वैशाख २०७८मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले करिब आधा मात्रै काम सकिंदा धरहराको उदघाटन गरेका थिए । त्यसपछि सरकारले खासै चासो नदिएपछि पुनर्निर्माणको गति सुस्ताएको थियो ।
१२ वैशाख (२०७२) मा गएको भूकम्पले क्षतिग्रस्त भएको धरहरा पुननिर्माणको गति पछिल्लो समयमा केही बढेको छ । शहरी विकास तथा भवन निर्माण विभागकाका अनुसार करिब ७५ प्रतिशत काम सकिएको छ ।
शहरी विकास विभागका सिनियर डिभिजन इन्जिनियर कोषनाथ अधिकारीका अनुसार धरहराको संग्राहलयबाहेकका संरचनाको निर्माणको काम आगामी दशैं असोज सम्म काम सकाउने गरी म्याद थपको तयारी भइरहेको छ ।
के-के काम बाँकी छ ?
काम नसकिंदै हतार-हतार लिफ्ट जोडेर उद्घाटन गर्दा धरहराको भर्याङ नै बनिसकेको थिएन । अहिले पनि रंगरोगन, लाइटिङ र सूचना प्रविधिसम्बन्धी काम चलिरहेको छ । धरहराको टावरमुनि बनिरहेको तीन तले भूमिगत पार्किङको काम सकिएको छैन ।
संग्रहालयको काम सबैभन्दा चुनौतीपूर्ण छ । प्रशासनिक भवन तयार भइसकेको छैन । खिचापोखरीबाट टुँडिखेल जोड्ने सडक पनि बन्न बाँकी नै छ । बीचमा पुल बनाउनुपर्नेछ । सुन्धारालाई सजाउने काम पनि गर्नुपर्ने छ ।
बगैंचा निर्माण गरेर पार्क पनि बनाउन बाँकी नै रहेको छ । त्यस्तै भूकम्पमा भत्किएको पुरानो धरहराको बाँकी भागलाई सिसाभित्र राख्नेसहित सजावटका अनेक कार्यहरु पनि गर्नुपर्नेछ ।
पुस ९ गतेबाट विघटन भएको पुनर्निर्माण प्राधिकरणले यो धरहरा पुनर्निर्माणको जिम्मा शहरी विकास तथा भवन निर्माण विभागलाई सारेको थियो । विभागले तयार गरेपछि सम्पूर्ण संरचना काठमाडौं महानगरपालिकाको जिम्मा लगाउने भएको छ ।

