काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले गठबन्धनमा भागबण्डा परेका क्षेत्रको उम्मेदवार टुंग्याएको छ। सोमबार बिहान बसेको केन्द्रीय सचिवालयको २३ औं बैठकले आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि महानगर र उपमहानगरका उम्मेदवार तय गरेको हो।
महासचिव डा. बेदुराम भुसालका अनुसार पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य, काठमाडौँ महानगरपालिका उपप्रमुखमा रामेश्वर श्रेष्ठ, बुटवल उपमहानगरपालिका उपप्रमुख चिनबहादुर गुरुङ, हेटौडा उपमहानगरपालिका प्रमुखमा मिना लामा, इटहरी उपमहानगरपालिका उपप्रमुखमा केशवकुमार विष्ट, तुल्सीपुर उपमहानगरपालिका उपप्रमुख जोगबहादुर राना मगरलाई उम्मेदवार बनाएको जानकारी दिएको छ ।
भुसालले हाम्रो पार्टीका उम्मेदवार सबैले पार्टीको चुनाव चिन्ह अर्थात ‘कलम चिन्ह’ लिने बताएको छ । पाँच दलीय गठबन्धनभित्रका दलहरुबिच तालमेलको सहमति भएका स्थानमा सहमति अनुसारको उम्मेदवारी मात्र दिने र तालमेल नभएका सबै स्थानमा हाम्रो पार्टीको तर्फबाट उम्मेदवारी दिने निर्णय भएको उनले बताएको छ ।
सत्ता गठबन्धनले स्थानीय तह निर्वाचनमा महानगर र उपमहानगरमा चुनावी तालमेल गरेको हो ।

