काठमाडौं – विभिन्न संघ संगठनहरुको विरोधका कारण गलेको बीमा समितिले तत्कालको लागि इञ्जिनीयरिङ बीमा दरसम्बन्धी निर्देशिका स्थगन गरेको जानकारी दिएको छ ।
बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले समितिबाट जारी इञ्जिनीयरिङ्ग बीमा दरसम्बन्धी निर्देशिका, २०७८ हाललाई स्थगन गर्ने जानकारी दिएका हुन् । बीमा समितिको आयोजनामा आज काठमाडौंमा निर्माण व्यवसायी महासङ्घ, स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल लगायत विभिन्न सरोकारवालाहरूसँग भएको इञ्जिनीयरिङ्ग बीमा दरसम्बन्धी छलफल कार्यक्रममा अध्यक्ष सिलवालले त्यस्तो जानकारी दिएका हुन् ।
अध्यक्ष सिलवालले इञ्जिनीयरिङ्ग बीमा दर निर्देशिकाका सम्बन्धमा सरोकारवाला सबैको राय, सुझावका आधारमा अगाडि बढ्न समिति तयार रहेको बताएको छ । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले इञ्जिनीयरिङ् बीमा दरका सम्बन्धमा सरोकारवालाहरूसँगको छलफलबाट निष्कर्ष निकालेर सहमतिका साथ अगाडि बढ्न समिति प्रतिवद्ध रहेको बताएको हो ।


