सबैलाई पठाउनु होला

काठमाडौं –  एमाले अध्यक्ष केपी शर्मा ओलीकै चाहनामा पोखरामा एमालेबाट उम्मेदवार बनाइएका दीपक पौडेललाई सुनको सिक्री चोरीको आरोप लागेपछि टिकट फिर्ता लिएको एमालेले काठमाडौं महानगरमा चाहिँ यौन दूराचारको यौन दूराचार  लागेका केशव स्थापितलाई उम्मेदवार बनाए ।

स्थापितलाई मेयरको उम्मेदवार बनाएपछि सार्वजनिक रुपमा आलोचना सुरु भएको छ, तर स्थापितले चाहिँ आरोप लगाउनेलाई नै पागलको संज्ञा दिँदै हलुका टिप्पणी गरे ।

सोमबार मनोनयन दर्ता गर्न राष्ट्रियसभा गृह पुगेका बेला स्थापितले समय–समयमा आफूविरुद्ध केही न केही विवाद आउने गरेको बताउँदै भने, ‘म जस्तो व्यक्तित्वबारे विवाद उठेन भने त केशव स्थापित नै भएन । विवादमा नआउने पनि केशव स्थापित हुन्छ र ?’

उनले विगतमा आफूविरुद्ध ५० वटा मुद्दा भएका बेला ५ वटा थप्नु पर्‍यो भनेर आफैं भन्ने मान्छे भएको बताउँदै भने, ‘यस्तो मान्छेलाई सडकमा केही विवाद उठ्दा त्यतातिर ध्यान दिनु हुँदैन ।’

चार वर्षअघि काठमाडौं महानगरपालिकाकी पूर्वकर्मचारी रश्मिला प्रजापतिले महानगरपालिकामा आफूमाथि दुर्व्यवहारको प्रयास भएको सार्वजनिक गरेकी थिइन् । ‘स्थापितको उद्देश्य पूरा हुन नसक्दा मैले मेरो जागिर पनि गुमाउनुपरेको थियो’ प्रजापतिले भनेकी थिइन्, ‘मलाई अन्य महिलाहरुबारे पनि थाहा छ, जो उनीबाट दुर्व्यवहारको  शिकार बनेका  थिए ।’

त्यतिबेला रश्मिला महानगरपालिका अन्तर्गत हनुमानढोका दरबार क्षेत्रको कार्यक्रम व्यवस्थापकको पदमा कार्यरत थिइन् । उनलाई बढुवा गराइदिने आश्वासन दिँदै स्थापितले कहिले नगरकोट त कहिले धुलिखेल जाने प्रस्ताव राखेको प्रजापति सम्झन्छिन् । ‘असह्य भएपछि मैले मुखै फोरेर उहाँलाई म एउटा जागिरका लागि ठाउँठाउँ जाने मान्छे होइन भनेकी थिएँ’ प्रजापतिले  भनिन्, ‘त्यतिबेला मेयरको कार्यकाल सकिएर उहाँ जानु भयो, राजाको शासनमा मेयर मनोनित हुँदा उहाँले २०६० सालमा पहिलो निर्णय नै मलाई जागिरबाट हटाउने गर्नुभयो ।’

विश्वभरि महिलाहरुले आफूमाथि भएको हिंसाबारे आवाज उठाउँदै मीटू अभियान चलाइरहेका बेला स्थापितमाथिको यो आरोप सार्वजनिक भएको थियो । त्यति नै बेला पूर्वपत्रकार उज्ज्वला महर्जनले पनि सन् २०१२ मा स्थापितले आफूलाई दुर्व्यवहार गर्न खोजेको सार्वजनिक गरिन् । महर्जनले फेसबुकमा स्ट्याटस लेख्दै प्रश्न गरिन्, ‘एउटा अन्तर्वार्ताका लागि भेटेको मान्छेले तपाईंलाई राति बोलाउँछ भने तपाईं के सोच्नु हुन्छ ?’

स्थापितले उपत्यका विकास प्राधिकरणको प्रमुख भएका बेला पटकपटक राति फोन गरेर बोलाएको उनले खुलाएकी थिइन् । ‘कम्तीमा चार-पाँच दिन बेलुकी मलाई फोन आइरह्यो, मैले बेवास्ता गरिरहेँ’ उनले भनेकी थिइन् ।

मीटू आरोप लागेका बेला स्थापित बागमती प्रदेशको भौतिक पूर्वाधारमन्त्री  रहेका थिए । २०४७ सालमै एमालेको भ्रातृ संगठन प्रजातान्त्रिक राष्ट्रिय युवा संघका महासचिव बनेका २०७० सम्ममा राजनीतिको किनारमा पुगिसकेका थिए ।

आफ्ना अधिकांश समकक्षी पार्टी पदाधिकारी बनिसक्दा उनी चाहिँ कहिले ज्ञानेन्द्र शाह, कहिले बामदेव गौतम,  त कहिले माओवादीको नजिक भएर हिँडिरहेका थिए ।

‘मलाई शत प्रतिशत के थाहा छ भने उहाँले महिलालाई ह्यारेस गर्ने विषयबारे कुनै पनि महिला नेतृ अनभिज्ञ हुनुहुन्न, तर जो महिला अधिकारका लागि लामो लडाइँ लड्नु भयो, उहाँहरु नै स्थापितको उम्मेवारीमा चुइँक्क बोल्नुभएन’ प्रजापतिले भनिन्, ‘एमालेले पनि २५ वर्षमा मेयरका लागि योग्य अर्को एउटा व्यक्ति पनि जन्माउन सकेको रहेनछ ।’

एमालेबाट टिकट नपाएपछि २०७० सालको चुनावमा उनले काठमाडौं–६ मा योगेश भट्टराईविरुद्ध संघीय समाजवादी फोरमबाट उम्मेदवारी पनि दिएको थियो  । त्यतिबेला भट्टराईलाई हराउन स्थापित कारक बनेको एमाले नेताहरुले आरोप लगाएको छ  ।

तर ०४७ सालमा युवासंघको महासचिव हुँदा अध्यक्ष रहेका हालका एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले स्थापितलाई चुनाव हारेको केही समयमै फेरि एमाले फर्काए । र, राजनीतिमा उनलाई कमब्याक गराउन हरसम्भव प्रयास गरेको थियो , २९ माघ २०७४ मा बागमती प्रदेशको मन्त्री नै बनाए ।

त्यसवेला उनको नियुक्तिप्रति तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेल पनि सन्तुष्ट थिएनन् । स्थापितको कार्यशैलीविरुद्ध पनि प्रश्न उठिरहेका वेला उनले मुख्यमन्त्री पौडेलसँगै पनि विवाद गरेको थियो  । मन्त्रिपरिषद् बैठकमै भनाभन भएपछि तत्कालीन मुख्यमन्त्री पौडेलले प्रधानमन्त्री ओलीसँग भेट गरेका थिए ।

त्यति नै बेला स्थापितविरुद्ध मीटूको आरोप पनि चर्किरहेको थियो र उनलाई फेरि ओलीसँग सल्लाह गरेरै बर्खास्त गरिएको थियो । त्यतिबेला ओलीकै सहमतिमा प्रदेशमन्त्रीबाट बर्खास्तीमा परेका स्थापितलाई एमालेले काठमाडौं महानगरको मेयरमा दाबेदार बनाएको छ ।

अहिले तिनै स्थापितलाई मेयरको उम्मेवार बनाउनुलाई राजनीतिक दलको हदैसम्मको गैरजिम्मेवारी भएको नागरिक अगुवा मोहना अन्सारी बताउँछिन् । ‘कुनै पनि राजनीतिक दलले यस्ता खाले पृष्ठभूमि भएका व्यक्तिलाई उम्मेदवार बनाउनु भनेको कानून, मानवअधिकार र महिला हिंसा जस्तो विषयमा असंवेदशीलताको पराकाष्ठा हो’, राष्ट्रिय मानव अधिकार आयोगकी पूर्वसदस्य समेत रहेकी अन्सारी भन्छिन्, ‘जुन राजनीतिक दल यस्तो विषयमा संवेदनशील छैन, त्यो दल भोलि अरु कुनै विषयमा पनि संवेदनशील बन्न  सक्ने छैन  ।’

उनी आफू नेकपा एमाले पार्टीको विरोधी नभएको बताउँदै भन्छिन्, ‘एउटा जिम्मेवार दलले यौन दुराचारी मात्र होइन, हालसम्मकै भ्रष्टलाई मेयरको उम्मेदवारी दिएकोमा विरोध हो, गलत व्यक्ति र प्रवृत्तिको विरोध हो ।’ मानवअधिकारकर्मी अन्सारी पनि महिला हिंसाको विषयमा जिम्मेवारीपन देखाउन नसक्ने दलले अन्य मुद्दामा उत्तरदायी बन्न नसक्ने बताउँछिन् ।

‘राजनीतिक दलले खाली विकासको मुद्दा मात्र उठाउने होइन, जुन राजनीति दल यस्तो विषयमा संवेदनशील छैन, त्यो राजनीतिक दल भोलि अरु मुद्दामा पनि संवेदनशील हुन सक्दैन’ उनी भन्छिन्, ‘जुन समाजमा महिला तथा बालबालिका प्रताडित छन्, त्यो समाज कहिल्यै पनि अघि बढ्न सक्दैन, सधैँ त्यही विषयमा रुमल्लिराख्छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com