बुधबारबाट औद्योगिक ग्राहकका लागि लोडसेडिङ घाेषणा हुने भएको छ । बिजुली माग पूर्ति गर्नका लागि आन्तरिक उत्पादनले नपुग्ने र भारतबाट समेत बिजुली किन्न नपाएपछि नेपाल विद्युत् प्राधिकरणले लोडसेडिङ तालिका सार्वजनिक गर्न लागेको हो ।
घरायसी र सामुदायिक ग्राहकका लागि भने बिजुली काटिने छैन ।
मागअनुसार बिजुली नभएसम्म हरेक दिन ठूला उद्योगहरुमा बिजुली कटौती गर्नेसम्बन्धी सूचना जारी गरिने नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । ‘अहिले भारतबाट बिजुली पाउन छाड्यो । करिब १०/१५ दिन हामीलाई औद्योगिक ग्राहकको बिजुली काट्नुपर्ने हुनसक्छ,’ घिसिङले भने, ‘दिउँसो त बिजुली काट्दैनौं । पिक समय र रातको समयमा कुन उद्योगमा कति बिजुली काटिन्छ भन्ने पूर्व जानकारी दिन्छौं ।’
‘बिहारले केही दिन अघिसम्म दिउँसोको समयमा बिजुली दिइरहेको थियो । तर अहिले उसले दिन सक्दिनँ भन्यो,’ कार्यकारी निर्देशक घिसिङले भने, ‘आईईक्सबाट पनि सय मेगावाट भन्दा कम मात्रै बिजुली पाउने अवस्था आयो ।’ यसअघि नेपालले ढल्केबर–मुजफ्फरपुर प्रसारणलाइन हुँदै आउनेगरी आईईएक्स मार्केटमा करिब साढे ४ सय मेगावाट बिजुलीका लागि बोलकबोल गर्न पाइरहेको थियो ।
यसै हप्ता टनकपुर–महेन्द्रनगर प्रसारणबाट थप ५० मेगावाट बिजुली आयातका लागि नेपालले स्वीकृति पाएको छ । यसरी आईईएक्स मार्केटबाट कुल ५ सय मेगावाट बराबर बिजुली नेपालले किन्न पाउने भएपनि भारतमै बिजुली अभावका कारण १ सय मेगावाट बराबर पनि पाउन सकेको छैन । ‘बिड गरेको सबै बिजुली आईईएक्सले दिन सकेको छैन । दामासाहीका हिसाबले दिइरहेको छ,’ घिसिङले भने, ‘हामीले करिब ५ सय मेगावाट बिजुली किन्नका लागि बिड गरेपनि मुस्किलले १ सय मेगावाट पाइरहेका छौं ।’

