जनकपुरधाम – सम्वादका लागि फोन गर्नासाथ ममताले भनिन, ‘म उम्मेदवार होइन नि !’ हामीलाई थाहा छ भनेपछि उनी सम्वादका लागि तयार भइन् । उनी पहिलो पटक नेपाली कांग्रेसका लागि महोत्तरीको बलवा नगरपालिकाको उपमेयरमा सर्वसम्मत उम्मेदवार थिइन् ।
तर, पार्टीको जातीय र गुटको कारण टिकट खोसियो र कांग्रेसकै अन्य व्यक्त उठे । तर, कांग्रेसकी जिल्ला सदस्य रहेकी ममताले ‘म उम्मेदवार होइन’ भन्दै स्पष्टिकरण मात्र दिएर पुगेको छैन, ‘बलवामा कांग्रेसको मेरो उम्मेदवार हो,’ भनेर चिनाउँदै हिँड्नु परेको छ ।
उनकै शब्दमा उनी यो स्थानीय तहको निर्वाचनरुपी महाभारतका कृष्ण हुन् भने बलवा प्रमुख–उपप्रमुख प्रत्यासी विनोद यादव र रामदुलारी ठाकुर अर्जुन ! उनको यो तर्क यस अर्थमा जायज छ कि बलवा नगरपालिकाको जितहारमा कांग्रेसकै निर्भर रहेको छ ।
‘ त्यहाँ हारे ममताले पार्टीमा अन्तरघात गरेर हराइन भन्ने भन्न बेर लाउँदैन, जिते त ठीकै छ, त्यसैले विद्रोह गरेर कांग्रेसलाई हराउन भनेर कलंक बोक्नुभन्दा बरु पार्टीसँगै हिँडेर जिताउन लागि पर्या छु ‘, उनी भन्छिन ।
ममताको खोसिएको सपना
वि.सं. २०६६ सालमा स्कुले जीवनसँगै नेपाल विद्यार्थी संघको राजनीतिमा होमिएकी ममता विद्यार्थी हुँदै पार्टी राजनीतिमा आइन् । महोत्तरीकी रैथाने उनी राजनीतिक शास्त्रमा स्नाकोत्तर गरेकी छिन् । बीए एलएलबी पढ्दै गरेकी ममता २०७३ भदौमा नेविसंघ संघका महाधिवेशन प्रतिनिधिहुँदै काठमाडौं ११ औं महाधिवेशनबाट केन्द्रीय सदस्यमा सबैभन्दा सर्वाधिक मत ल्याएर विजयी भएकी थिइन् ।
०७४ को स्थानीय तह निर्वाचनमा पनि ममताले नै टिकट पाउने कुराको सहमति भएको थियो । तर, त्यतिबेला पनि नेत्री किरण यादवले आफ्नो जोडबलमा राम दुलारी ठाकुरलाई टिकट दिइन् । जो निर्वाचनमा भारी मतले पराजित भएकि थिइन । 
०७० सालकै प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा जिल्लाबाट समानुपातिक सांसदको सूचीमा ममताको नाम सिफारिसमा पर् यो । ममताले सम्झिदै भनिन, ‘त्यो बेलामा समानुपातिक सूचिमा मेरो नाम त अटायो तर अन्ततः मेरो भाग्य ठीक थिएन ।
टुङ्गो लगाएर निर्वाचन आयोगमा पठाएको नाम फेरि फिर्ता आयो । दुर्भाग्य मेरो के भयो भने उमेरको छेकबारले निर्वाचन आयोगमा पुगेको मेरो नाम फिर्ता पठाइदियो । सांसद बन्न २५ वर्ष अनिवार्य हुन्छ, तर मेरो केही महिना घटी थियो, अनि सांसद हुन पाइन् ।’
अध्ययन, पार्टी राजनीतिक र घरपरिवारलाई एकसाथ हाक्दै आएकी ममताले अघिल्लो निर्वाचनमा आफूलाई टिकट नदिएपनि कांग्रेस जिताउन बलवादेखि लोहारपट्टी नगरपालिकामा अहोरात्र खटिएको सम्झिन्छिन् ।
‘सिंगो पार्टी पंक्तिको मेहनतको फलले अघिल्लो स्थानीय चुनाव म खटिएको दुवै नगरपालिकामा विजयी भयो । कांग्रेसले नगरपालिकासहित अधिकांश वडाहरु जित्यो ।

