सबैलाई पठाउनु होला

काठमाडौं –  अहिले विवाहको मौसम चलिरहेको छ । विवाहका पहिरनका लागि बुटिक र टेलरहरुमा धाउनेको संख्या बढेको छ । दुलाहा-दुलहीको पहिरनमा अहिले विकल्प देखिन्छन् । कुनै समय थियो, त्यसबेला अधिकांश बेहुला सुटमा सजिएका हुन्थे ।

बेहुलीहरूका लागि भने लेहेङ्गा, साडी लगायतका विकल्प  रहेका थिए । अहिले बजारमा दुलाहाका लागि पनि नयाँ नयाँ शैलीका पहिरन उपलब्ध रहका  छन् । विवाहमा दुलाहाको लागि कस्तो पहिरन बढी प्रचलनमा रहेको  छ ? दुलाहाको उमेर अनुसार कस्तो डिजाइन बढी उपयुक्त  रहेको हुन्छ ?

विवाहमा अहिले दुलाहाका लागि कस्तो पहिरन बढी प्रचलनमा रहेको  छ ?

अहिले दौरा सुरुवाल नै बढी चलेको छ । केहीले सुट पनि रुचाउँछन् भने तराईका केही ठाउँमा शेरबानी पनि प्रचलनमा  रहेको छ । विभिन्न प्रकारका बुट्टा प्रिन्ट भएका सिल्कको कपडामा विभिन्न डिजाइन गरेर तयार पारिएको दौरा सुरुवाल दुलाहाका लागि धेरै रुचाइएको छ । सल टोपी र जुत्ताको सेट मिलाएर डिजाइन गरेको दौरा सुरुवाल बढी प्रचलनमा रहेको  छ । सुटमा भने अहिले चेक र अलि डार्क कलर बढी रुचाइएको छ ।

वर्ण र समुदाय अनुसार पनि शरीरको रुपरंग फरक हुन्छ, उनीहरू सबैलाई एकैनासको डिजाइन सुहाउँछ ?

सबै जनालाई एकैनासको पहिरन सुहाउँदैन । सबैको आफ्नो रोजाइ पनि  रहेको हुन्छ । वर्ण तथा समुदाय हेरेर डिजाइन नै परिवर्तन गर्नुपर्ने हुन्छ । अहिले प्रायः सबै जातजातिका दुलाहाहरूले दौरा सुरुवाल नै मन पराउने भएकाले उनीहरूको वर्ण हेरेर डिजाइन गरिन्छ ।

यदि दुलाहा गोरो वर्णका छन् भने कस्तो रंग सुझाउनुहुन्छ ?

दुलाहा गोरो वर्णका छन् भने गोल्डेन कलरमा क्रिम कलरको दौरा सुरुवाल लगाउन सुझाव दिन्छु । सेतो वर्णका दुलाहाहरूलाई सुट भने अलि डार्क कलर जस्तै मरुन्, हरियो र निलो कलर सुहाउँछ ।

गहुँगोरो वा कालो वर्णका दुलाहाका लागि नि ?

गहुँगोरो र कालो वर्णका दुलाहाका लागि सेतोमा गोल्डेन बुट्टा गरेको दौरा सुरुवाल बढी सुहाउँछ । गहुँगोरो दुलाहालाई अलि लाइट कलर ग्रे सुटले अझै आकर्षक देखिन्छ ।

धेरै अग्ला दुलाहा छन् भने उनको लागि कस्तो डिजाइन उपयुक्त हुन्छ ? यसैगरी होचो कद भएकालाई कस्तो सुहाउँछ ?

दुलाहा अग्लो छन् भने उनीहरूको धेरै डिजाइन उपलब्ध हुन्छन् । अग्लो दुलाहाका लागि फिटिङ दौरा सुरुवाल र सुट सुहाउँछ । होचो कद भएकालाई भने धेरै फिटिङ भन्दा पनि अलि लुज डिजाइनका पहिरन सुहाउँछ । अग्लोहरूलाई चेक लाइन पेल्न सबै प्रकारका सुटले सुहाउँछ । तर होचोका लागि भने प्लेन सुट बढी सुहाउँछ ।

उमेर अनुसार पनि दुलाहाको पहिरनको डिजाइन फरक हुनसक्छ ?

उमेर अनुसार दुलाहाको रोजाइ फरक हुने भएकाले डिजाइन पनि फरक हुन्छ । २० देखि ३० वर्ष उमेर समूहका दुलाहाले अलि रङ्गीचङ्गी डिजाइन रुचाउँछन् भने ३० वर्ष भन्दा माथिका दुलाहाले सामान्य डिजाइन बढी रुचाउँछन् ।

३० वर्ष भन्दा कम उमेरका दुलाहा दौरा सुरुवाल र सुटको कलर पनि डार्क रुचाउँछन् । ३० वर्ष भन्दा माथिकाहरुले भने अलि लाइट कलर रुचाउँछन् ।

अक्सर विवाह गर्ने उमेर ३०–३५ वर्षको देखिन्छ, यस उमेर समूहका लागि कस्तो डिजाइन उपयुक्त हुनसक्छ ?

३० देखि ३५ उमेर समूहका दुलाहालाई टक्सिन डिजाइन र वेस्टकोट डिजाइन उपयुक्त हुन्छ  । प्लेन, चेक अलि लाइट कलरको कपडामा पनि सिम्पल डिजाइन बढी उपयुक्त हुन्छ । दौरा सुरुवालमा सुहाउने कोट पनि यो उमेर समूहका दुलाहालाई सुहाउँछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com