काठमाडौं – ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवार मनोनयनको दोस्रो दिन सोमबार अबेरसम्म मनोनयन दर्ता भइरहेको छ । सोमबार साँझ ८ बजेसम्म काठमाडौं महानगरपालिकाको मेयरका लागि ५६ जनाले उम्मेदवारी मनोनयन दर्ता गरेका छन् ।
काठमाडौंमा उम्मेदवारबीच एकातिर दलगत प्रतिस्पर्धा नै हुने अनुमान रहेको छ भने अर्कातिर स्वतन्त्र उम्मेदवार र साना राजनीतिक दलका उम्मेदवार पनि निर्णायक हुन सक्ने आकलन गरिएको छ ।
काठमाडौंमा नेपाली कांग्रेसले सिर्जना सिंह र नेकपा एमालेले केशव स्थापितलाई मेयरको उम्मेदवार बनाएका छन् । सिंहलाई सत्ता घटकका अन्य दलहरु माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाको समर्थन रहेको छ ।
एमालेले काठमाडौं महानगरमा तालमेल नगरेकाले पाँच दलका उम्मेदवारसँग स्थापितले प्रतिस्पर्धा गर्नुपर्ने भएको छ ।
विवेकशील साझा पार्टीबाट समीक्षा बाँस्कोटा र राष्ट्रिय प्रजातन्त्रबाट मदनदास श्रेष्ठले उम्मेदवारी दिएका छन् । दलका उम्मेदवार भन्दा बाहिरबाट स्वतन्त्र उम्मेदवार बालेन शाह अघि बढेका छन् ।
सिर्जनालाई तीन दशकको ‘ग्याप’ चिर्नुपर्ने चुनौती
कांग्रेस उम्मेदवार सिंह ३२ वर्षपछि सक्रिय राजनीतिमा फर्किएकी हुन् । सक्रिय राजनीतिबाट लामो समय बाहिर रहेको प्रश्न मतदाताले उनलाई या त मत माग्न गएका बेला या त भोट हाल्दा उठाउनेछन् ।
उनीमाथि विरासतको ‘ब्याज’ खाएको आरोप पनि लाग्न सुरु भइसकेको छ । कांग्रेस नेता प्रकाशमान सिंहको पत्नी भएकै कारणले अन्य सक्षमको बाटो छेकेको आलोचना पनि उनले खेप्नुपर्ने देखिन्छ ।
यद्यपि उनले भनेकी छन्, ‘उहाँ (प्रकाशमान) कोे पत्नी हुनुअघि नै म प्रजातन्त्र प्राप्तिको आन्दोलनमा लागिसकेकी थिएँ ।’ दलीय भागवण्डाका आधारमा सत्ता गठबन्धनबाट उम्मेदवार बनेकी उनले ती घटकलाई सन्तुलनमा हिँडाउनुपर्ने चुनौती रहेको छ ।
उनका लागि चुनावी सारथी एकीकृत समाजवादीका उपपेयरका उम्मेदवार रामेश्वर श्रेष्ठ रहेका छन् । फरक विचार धाराका उम्मेदवारले आ आफ्नो सिद्धान्त बोकेर एक अर्कालाई मत माग्नुपर्ने बाध्यता पनि उनीसामु रहेको छ ।
विचारधारा, मार्गनिर्देशक सिद्धान्त नमिल्ने दलहरुको साथ लिएर मतदाताको मन जित्नु गठबन्धनका अरु उम्मेदवारजस्तै सिर्जनालाई पनि कठीन रहेको छ । उनको अर्काे चुनौती अघिल्लो पटकको मतान्तर घटाएर जीत निकाल्नु हुनेछ ।
अघिल्लो पटक कांग्रेस र एमालेका उम्मेदवारको मतान्तर नै १९ हजार ६४४ थियो । एमालेबाट निर्वाचित विद्यासुन्दर शाक्यले ६४ हजार ९१३ ल्याएर विजयी हुँदा कांग्रेसका मेयरका प्रतिस्पर्धी राजुराज जोशीले ४५ हजार २६९ प्राप्त गरेर दोस्रो स्थानमा रहेका थिए ।
फराकिलो मतान्तरले कांग्रेस पराजित भएको अवस्थामा सिंहले उक्त अंक पुर्ति गर्नुको साथै नयाँ मतदाताको मन पनि जित्नुपर्ने छ । यसपटक काठमाडौं महानगरमा तीन लाख २४२ मतदाता छन् । जसमध्ये २० हजार ९३३ नयाँ मतदाता हुन् ।
स्थापितको ‘विवादित छवि’
नेकपा एमालेमा सिफारिसमा परेका अन्यलाई पछि पार्दै केशव स्थापित दोस्रोपटक मेयरको प्रतिस्पर्धामा रहेका छन् । २०५४ सालमा काठमाडौंमा मेयर बनेका उनी २५ वर्ष पश्चात् उही पदमा दोहोरिन खोजेका छन् । तर, उनका लागि यसपटक सहज भने देखिँदैन ।
यसपटक उनले सर्वाधिक झेल्नुपर्ने प्रश्न यौन दुर्व्यवहारसम्बन्धी हुने देखिन्छ । काठमाडौं महानगरको पूर्व कर्मचारी रश्मिला प्रजापति र पत्रकार उज्जला महर्जनले यौन दुव्र्यवहार गरेको आरोप लगाएका थिए । चार वर्षअघिको उक्त विषय स्थापित मेयरको उम्मेदवार हुने निर्णय भएसँगै उठिसकेकोे छ । उक्त आरोप पुनः उठ्नेमा स्थापित जानकार नै छन् ।
‘मजत्तिको व्यक्ति उपर इस्यु भएन भने केशव स्थापित नै भएन, विवादमा नआउने पनि पनि केशव स्थापित हुन्छ र आइरहनुपर्यो नि !’ सोमबार उम्मेदवारको मनोनयन दर्ता गरेपछि पत्रकारहरुसँग उनले भने, ‘चुनौती बोक्ने मान्छेलाई बाहिर सडकमा केही इस्यु उठ्यो भने त्यता ध्यान दिनु हुँदैन ।’
प्रदेश सभा सदस्य रहेका उनलाई तत्कालीन नेकपाले बागमती प्रदेशमा मन्त्री पनि बनाएको थियो । बागमती प्रदेशको भौतिक पूर्वाधार मन्त्री बनेका उनी मुख्यमन्त्री डोरमणि पौडेलसँग मन्त्रिपरिषद बैठकमा विवाद गरेका थिए । २०७६ कात्तिकमा उनी प्रदेश मन्त्रीबाट बाहिरिनु परेको थियो ।
तत्काल निर्णय गर्ने तर त्यसको दीर्घकालीन असरको हेक्का नगर्ने स्थापितको प्रवृत्ति रहेको छ । उनी शाहीकालमा तत्कालीन राजा ज्ञानेन्द्र शाहसँग पनि नजिकिएका थिए । तर, उनी तत्कालीन राजाको प्रियपात्र बन्न भने सकेनन् ।
शान्तिकालको पूर्वाद्धमा माओवादीको रापताप रहेको बेला उनी माओवादीमा प्रवेश गर्नै लागेको चर्चा चलेको थियो । त्यतिबेला उनी माओवादीको क्रान्तिकारीपन र आफ्नो विकास योजनालाई समायोजन गर्नसके देशले नयाँ रुप पिाउने अभिव्यक्ति दिने गर्थे ।
स्थापितले महानगरपालिकाको मेयर हुँदा केही सुधारका काम भने गरेका थिए । माइतीघर मण्डला निर्माण, अतिक्रमित बजार हटाउने तथा आकाशे पुल निर्माणलाई जोड दिएका थिए ।
एमालेले आफ्नो विजयी यात्रालाई निरन्तरता दिन सक्षम उम्मेदवारका रुपमा स्थापितलाई अघि सारेको हो । अघिल्लो पटकको मतान्तरलाई कायम राख्दै नयाँ मत थप्नु स्थापितका लागि चुनौती छ ।
युवाको ‘आर्कषण’ बालेन !
काठमाडौं महानगरको मेयरमा उम्मेदवारी दिनेमध्ये अघिल्लो पटक रञ्जु दर्शना झैं यसपाली सामाजिक सञ्जाल र युवाहरुमाझ चर्चित नाम हो बालेन शाह । युवा पुस्ताका मतदाताको उनी प्रति आकर्षण देखिएको छ ।
३१ वर्षीय शाह स्ट्रकचरल इन्जिनियर हुन् । नेपाली र्याप गायनमा पहिचान बनाएका शाहले इन्जिनियरिङमा स्नातकोत्तर गरेका छन् । शाहको पक्षमा संगीत, फिल्म र फेसन क्षेत्रका सेलिब्रिटी समेत खुलेरै लागेका छन् ।
कलाकारहरु स्वस्तिमा खड्का, प्रियंका कार्की, निर्माताहरु माधव वाग्ले, सन्तोष सेन, निर्मल शर्मालगायत बालेनको पक्षमा खुलेर लागेका छन् । प्राय राजनीतिक मुद्दामा मौन रहने प्रियंका र स्वस्तिमाले चाहिं बालेनको तस्वीर र घोषणापत्र पनि सेयर गरेका छन् ।
अघिल्लो पटकको मतदाताको रुझानका आधारमा तत्कालीन साझा र विवेकशीलका मतदाताको मत उनले खोस्न सक्ने विश्लेषण हुने गरेको छ । विवेकशील दलबाट रञ्जु दर्शनाले २३ हजार ४३९ र साझा पार्टीका किशोर थापाले १८ हजार ४९६ मत ल्याएका थिए ।
दुबै उम्मेदवारको मत मत ४१ हजार ९३५ थियो । ती दुई दलको मतको साथै थपिएका मतदातालाई पनि उनले तान्न सके भने मूलधारका दलका लागि उनी ठूलो चुनौती हुनेछन् ।
राप्रपा र विवेकशील साझालाई ‘आफ्नै मत भारी’
राष्ट्रिय प्रजातन्त्र पार्टीले मदनदास श्रेष्ठ र विवेकशील साझाले समीक्षा बाँस्कोटालाई मेयरमा उठाएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीलाई एमालेको साथ थियो । अर्कोतिर, नयाँ दलप्रति देखिएको तत्कालीन उभार विवेकशील साझाको पक्षमा देखिएको छैन । विवेकशील साझा दुबै दल विभाजित भएका छन् ।
अघिल्लोपटक एमालेसँग तालमेल गरेका राप्रपाका उपमेयरका उम्मेदवार उपमेयरका उम्मेदवार राजाराम श्रेष्ठले ३४ हजार ८५४ मत ल्याएका थिए । एमालेका मतदाताले पनि मत दिएकाले राप्रपाका पक्षमा उक्त मतभार प्राप्त भएको हो ।
३२ वडामा राप्रपाका वडाध्यक्षले प्राप्त गरेको मत नै उक्त दलको प्रतिवद्ध मत मान्न सकिन्छ । राप्रपाका सबै वडाका वडाध्यक्षका उम्मेदवारले पाएको मत १० हजार ५३९ थियो । त्यसभन्दा माथि उनले पाएको मत एमालेका मतदाताले दिएको देखिन्छ ।
पूर्वसचिव केदारबहादुर अधिकारी र पूर्वएसएसपी दीपक रञ्जितले उम्मेदवार हुन चासो नदेखाएसँगै हास्य कलाकार श्रेष्ठले राप्रपाबाट मेयरको टिकट पाएका थिए । अधिकारी र रञ्जित अघि नसर्नुको कारण नै पराजित हुने आकलनलाई नकार्न सकिन्न ।
फुटबाट बच्न नसकेको विवेकशील साझालाई अघिल्लो पटककै मत कायम राख्न सके ‘सम्मानजनक हैसियत’ हुने विश्लेषण गरिएको छ । वैकल्पिक शक्तिका रुपमा उदाएको साझाले आफ्नो ओज घटाएको टिप्पणी हुने गरेको छ ।

