सबैलाई पठाउनु होला

काठमाडौं –  महेश ढकाल, मुलुकको सबैभन्दा ठूलो बैंक ग्लोबल आईएमई बैंक हाँक्ने टिमका प्रमुख व्यक्तिमध्ये एक हुन् । बैंकका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत रहेका उनी वरीयताले कार्यकारी पदको दोस्रो तहका नेतृत्वकर्ता  रहेका छन्  ।

उनले यसअघि मुलुककै जेठो बैंक नेपाल बैंक र तत्कालीन नेपाल कमर्ज एण्ड ट्रष्ट बैंकको कार्यवाहक कार्यकारी पदमा काम गरिसकेका छन् । मेगा बैंकमा पनि कार्यकारी पदमा ‘सेकेण्ड म्यान’का रुपमा समेत काम गरिसकेका ढकालसँग बैंकिङ क्षेत्रमा मात्रै २० वर्षको अनुभव  रहेको छ ।

सरकारी बैंक, विकास बैंक, निजी बैंक  र वाणिज्य बैंक सबैमा उनको कार्यानुभव  रहेको छ । दिप्ती नारायण ढकालका छोरा महेशले स्याङ्जाको सदरमुकाममा रहेको त्रिभुवन आदर्श मावि विद्यालयबाट वि.सं. २०४७ सालमा एसएलसी उत्तीर्ण गरेका थिए ।

उच्च शिक्षाका लागि भने गाउँमा क्याम्पस थिएनन् । उनी उच्च शिक्षाका लागि कास्की आएको थियो  । पोखराको पृथ्वीनारायण (पीएन) क्याम्पसबाट आइकम अध्ययन गरेको थियो  ।

गाउँमा छँदा महेशको पढाइ मध्यमस्तरीय थियो, पीएन क्याम्पसमा भने उनले निकै मिहिनेत गरी पढेको थियो  । आईकममा क्याम्पस टपर बने । बीकम (स्नातक तह) मा पनि उनी कलेजकै दोस्रो बनेको थियो  ।

स्नातकोत्तर तहमा कुन विषय पढ्ने भन्ने अन्योल रहेको  थियो । आईकम र बिकममा राम्रो विद्यार्थी भएका कारण धेरैले उनलाई चार्टर्ड एकाउन्टेन्ट (सीए) पढ्न सुझाव दिएका थिए ।

तर उनलाई कता-कता शंका थियो, पास गर्न सकिन्छ त ! धेरैले सीए पढ्न सुझाए पनि उनले सहजै निर्णय लिन सकेनन् । के पढ्ने भन्ने निर्णय लिन नै उनलाई ३/४ महिना कुर्नुपर्यो । ‘स्याङ्जाकै एक जना दाइले सीए पढेर आउनु भएको थियो, उहाँसँग सल्लाह लिएँ,’ उनी सम्झन्छन्, ‘उहाँले पढ्न सकिने सल्लाह दिएपछि भने मैले पढ्ने निर्णय गरेंको हो  ।’

सीए अध्ययनका लागि उनी भारतको दिल्ली पुगेको थियो  । सन् १९९७ मा दिल्ली पुगेका उनी सन् २००० मा सिए फाइनलको परीक्षा दिएर नेपाल फर्किएको थियो  । सन् २००१ देखि भने उनले जागिरे जीवन पनि सुरु गरेको थियो  ।

करिअरको सुरुवातमा उनले एक हाइड्रो पावर कम्पनीमा पनि काम गरेको थियो  । तर, पछि उनले नेपाल बैंकमा जागिरको अवसर पाएको थियो  । कुरो सन् २००२ को हो, जतिबेला नेपाल बैंकमा विदेशी व्यवस्थापन आएको थियो ।

नेपाल बैंक समस्यामा परेपछि विदेशी व्यवस्थापनको जिम्मा लगाइएको थियो । त्यो टिममा बसेर उनले विदेशी व्यवस्थापनसँग काम गर्ने अवसर जुर्‍यो । त्यसबेला अमेरिकन सीईओ थिए । विदेशी व्यवस्थापनसँग बसेर निकै राम्रो काम सिक्ने अवसर पाएको उनी बताउँछन् ।

त्यसबेला सीए पढेका कमै हुन्थे । ढकालका अनुसार चार्टर्ड एकाउन्टेन्सी गरेपछि त्यसबेला सिधै उच्च तहमा अवसर पाइन्थ्यो । त्यो बेला सीए गरेकाहरुलाई १०औं तहमा चिफ म्यानेजरको रुपमा नेपाल बैंकले कर्मचारी मागेको थियो । २९ बर्सिय  ढकाल प्रतिस्पर्धा गर्दा छनोट पनि भए र उच्च तहमा जागिर खान थालेको थियो  ।

त्यतिबेला उनले लोकसेवामार्फत नेपाल सरकारको सहसचिवमा सीधै प्रतिस्पर्धा गर्ने अवसर पनि थियो, तर उनले बैंकमै काम गर्ने निर्णय गरेको थियो  । त्यसको करिब ४ वर्षपछि नेपाल बैंकमा विदेशी व्यवस्थापनको समयावधि सकियो ।

विदेशी व्यवस्थापन हुँदा नै नेपाल बैंकले स्वेच्छिक अवकास योजना ल्याएको थियो । उनका लागि एउटा निकै रमाइलो संयोग जुर्‍यो । धेरैले स्वेच्छिक अवकास रोजेर बैंकबाट बिदा भए । यसको फाइदा भने ढकाललाई पुग्यो ।

आफूभन्दा धेरै सिनियर कर्मचारीहरुले स्वेच्छिक अवकास योजनामा सहभागी हुँदा विदेशी व्यवस्थापनको समयावधि सकिएपछि ३३ वर्षको उमेरमा नै उनले बैंकको ‘व्यवस्थापन को-अर्डिनेटर’को रुपमा काम गर्न पाएको थियो  ।

अर्थात् उनले केही समय कायम मुकायम (कामु) सीईओको रुपमा नै बैंक चलाउने अवसर पाएको थियो  । त्यसपछि बैंकमा नेपाल राष्ट्र बैंकबाट टिम आयो । करिब ७ वर्ष उनले नेपाल बैंकमा बिताएको थियो  ।

‘सेकेण्ड म्यानमा रहेको हुनाले नेपाल बैंक छाडौं कि नछाडौं भन्ने धेरै कन्फ्युजन भयो, केही व्यक्तिसँग मैले सल्लाह गरें,’ उनी सम्झन्छन्, ‘धेरैले नेपाल बैंकको जस्तो जागिर नछोड्न भनेका थिए, राष्ट्र बैंकमा एक जना दाइ जस्तो व्यक्ति हुनुहुन्थ्यो, उहाँले भने छाडे राम्रो हुन्छ भन्ने सल्लाह दिनु भएपछि मैले बैंक छाडेंको थिए  ।’

उमेरले ४० वर्ष पनि नपुगेका उनलाई अवसरहरु अरु पाउने सम्भावनाहरु प्रशस्त थिए । नेपाल बैंक सरकारी भएका कारण सेवा सुविधा धेरै थिएन । ‘भएको क्षमता देखाउन पनि गाह्रो थियो, कर्मचारी युनियनहरुको प्रभाव धेरै थियो,’ ढकाल भन्छन्, ‘छाड्ने निर्णय गर्न मलाई निकै गाह्रो भएको थियो, तर त्यसपछिको माथिल्लो तह सीईओ भएकाले इच्छा भएमा सीईओ बनेर पछि कुनै समयमा पुनः आउन पनि सकिन्छ भनेर म त्यहाँबाट बाहिरिएँ ।’

नेपाल बैंक छाडेर उनी तत्कालीन नेपाल कमर्ज एण्ड ट्रष्ट बैंकमा गए । तत्कालीन वाणिज्य बैंकको रुपमा रहेको कमर्ज एण्ड ट्रष्ट बैंकपछि ग्लोबल आइएमई बैंकमै मर्जर भएको थियो । कमर्ज एण्ड ट्रष्ट पछि उनी सिद्धार्थ डेभलपमेन्ट बैंक तथा टुरिजम डेभलपमेन्ट बैंकमा सीईओको रुपमा गएको हो  ।

गुल्मी विकास बैंक, सोसल डेभलपमेन्ट बैंक,  कन्जुमर डेभलपमेन्ट बैंक, रिलायबल डेभलपमेन्ट बैंक, प्यासिफिक डेभलपमेन्ट बैंक, त्रिवेणी विकास बैंक यसमा मिसिएका छन् । यस्तै, ब्राइट डेभलपमेन्ट, पब्लिक डेभलपमेन्ट र सिद्धार्थ डेभलपमेन्ट बैंक पनि ग्लोबलमा मिलेका छन् ।

आईएमई फाइनान्स, लर्ड बुद्ध फाइनान्स, हाथ वे फाइनान्स, शुभलक्ष्मी फाइनान्स र नेपाल आवास फाइनान्स पनि ग्लोबलमा अटाएका छन् । १८ वटा बैंक तथा वित्तीय संस्थाको संगम बनेको ग्लोबल आइएमई बैैंकको वित्तीय अवस्था पनि राम्रो रहेको  छ ।

ग्लोबल आइएमई बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरणअनुसार बैंकले अन्य वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी ३ अर्ब ७२ करोड ६२ लाख रूपैयाँ खुद नाफा गरेको छ । बैंकले गत आवको सोही अवधिमा ३ अर्ब ५७ करोड ८२ लाख खुद नाफा गरेको थियो ।

बैंकको नाफा गत आवको सोही अवधिको तुलनामा ४.१३ प्रतिशतले बढेको हो । बैंकको खुद व्याज आम्दानी ७ अर्ब ४३ करोड ९७ लाख रुपैयाँ पुगेको छ । बैंकको वितरणयोग्य नाफा १ अर्ब ९१ करोड ९१ लाख रुपैयाँ  रहेको छ ।

बैंकको यो सफलतासँग बैंकका हरेक कर्मचारी र सबै ग्राहकहरुको भूमिका महत्वपूर्ण रहेको ढकाल बताउँछन् । ‘हामी अहिले जुन स्थानमा छौं, यसमा हाम्रा विभिन्न शाखामा छरिएर रहनु भएका सबै स्टाफ र हाम्रा ग्राहकहरुका कारण हो,’ उनी भन्छन्, ‘टिमवर्कले संस्था बलियो बनेको हो ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com