काठमाडौं – २०५४ सालको स्थानीय निकाय निर्वाचनमा नेकपा (एमाले)का तर्फबाट काठमाडौंको मेयर निर्वाचित हुँदा केशव स्थापित ३८ वर्षका थिए, अहिले ६३ का भएको छ ।
यसबीचका हिउँद-बर्खामा वागमतीमा धेरै पानी र लेदो पनि बग्यो । स्वयं स्थापितको राजनीतिक जीवनमा पनि धेरै उतार-चढाव आयो । यसबीचमा उनी राजवादीदेखि माओवादी र संघीय समाजवादीसम्म बनेको छ ।
देशले संघीय शासन प्रणाली अपनाएपछिको दोस्रो स्थानीय तहमा उनी पुनः एमालेका तर्फबाट काठमाडौं महानगरपालिकाको मेयर पदका प्रत्यासी बने । झण्डै डेढ दशकपछि मेयरको त्यही कुर्सीमा उक्लिन चुनावी मैदानमा उत्रिएका स्थापित यो राजधानी सहरको चुनावी खेलका निकै अनुभवी खेलाडी पनि हुन् ।
२०४३ सालको काठमाडौं नगरपञ्चायतको चुनावमा उनी तत्कालीन नेकपा (माले)का तर्फबाट उपप्रधानपञ्चको जनपक्षीय उम्मेदवार रहेका थिए । यस हिसाबले उनी ३६ वर्षयता निरन्तर काठमाडौंको नेतृत्व लिने खेलमा रहेका छन् ।
काठमाडौंका रैथाने स्थापितले पहिलो पटक २०५१ सालमा राजनीतिक नियुक्ति पाएका थिए-राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिवको रूपमा रहेको छ ।
त्यो जिम्मेवारीमा उनी केवल एक वर्ष रहे । तर, त्यही बेलाको कामले उनलाई काठमाडौंको मेयरमा निर्वाचित हुने वातावरण बनाइदियो । युवा वयदेखि नै पञ्चायत विरोधी संघर्षमा जोडिएका स्थापित २०५४ को स्थानीय निर्वाचनमा एमालेको रोज्जा उम्मेदवार बने अनि सहजै जिते पनि ।
राजनीतिक उतारचढाव
काठमाडौंको लोकप्रिय मेयरमा दरिएका स्थापित त्यो कार्यकालको अन्त्यपछि भने राजनीतिक विचलनका कारण चर्चित हुन थालेको छ । २०६१ माघमा तत्कालीन राजा ज्ञानेन्द्रले सत्ता हत्याएपछि उनी काठमाडौंको मेयरमा मनोनीत भएर ‘टिके मेयर’को रूपमा आलोचित बनेको छ ।
राजाको समय सकिएर राजनीतिको डाडुपन्यूँ नेकपा (माओवादी)को हातमा आएपछि स्थापित माओवादी बनेको छ । माओवादी बनेसँगै काठमाडौं उपत्यका विकास प्राधिकरणको प्रमुख आयुक्तमा नियुक्त भएका उनी ९ महिना पनि टिक्न सकेनन् ।
त्यसपछि नेपालको सबभन्दा पुरानो राजनीतिक संगठन प्रजापरिषद्को अध्यक्ष बनेर चर्चामा आएका उनी त्यसमा पनि असफल बनेको छ । संविधानसभाको दोस्रो निर्वाचनको मुखमा संघीय समाजवादी पार्टीमा लागेका उनी काठमाडौं क्षेत्र नं. ६ बाट उम्मेदवार बनेर नराम्ररी पराजित भएको छ । अन्ततः उनी आफूले युवावय खर्चिएको एमालेमै फर्किएर पुनः काठमाडौंको मेयरमा खडा भएका छन् ।
मुख्यमन्त्री सपना, मीटुको हमला
केशव स्थापित स्वयंले आफूलाई राजनीतिक रूपमा अस्थिर सावित गरेका छन् । २०४९ सालमा नेपाली कांग्रेसका नवीन्द्रराज जोशीसँग काठमाडौंको उप मेयरमा पराजित भएपछि उनको राजनीतिक विचलन सुरु भएको देखिन्छ ।
२०६१ मा आइपुग्दा त उनी ‘राजावादी’ नै कहलाए । स्वप्निल गफ गरेर नागरिकमा आफ्नो योजना सञ्चार गर्न सिपालु छन्, स्थापित । उनका पछिल्ला गफहरूलाई ‘भिजन’ मान्ने मतदाता पनि काठमाडौंमा छन् ।
अब उनले काठमाडौं महानगरको कायाकल्प गर्ने चुनावी योजना सुनाउन सक्छन् । नेपाल संघीय गणतन्त्र भएपछि एमाले फर्किएका स्थापित पहिलो स्थानीय निर्वाचन (२०७४) मा पनि महानगरको मेयरमा उठ्न लालायित थिए, तर पार्टीले विद्यासुन्दर शाक्यलाई उम्मेदवार बनायो ।
त्यसपछि वागमती प्रदेशसभाको राजनीतिक गणितमा लागेका उनले मुख्यमन्त्री ताकेपनि भौतिक तथा पूर्वाधार मन्त्रीमा चित्त बुझाउनुपर्यो । अस्थिर छवि बनाएका स्थापितको प्रदेश राजनीति पनि सुखद रहेन ।
तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेललाई गालीगलौज र दुव्र्यवहारको आरोपमा उनी बर्खास्त भएको छ । केही न केही बोलेर वा गरेर सधैं चर्चामा रहेका स्थापितले सामाजिक अवगालबाहेक अन्य कारबाही खेप्न नपरेको आरोप चाहिं यौन हिंसाको हो ।
जननिर्वाचित मेयर हुँदा उनले दुई महिलामाथि यौन हिंसा गरेको आरोप लाग्यो । त्यसबारे उनले कहिल्यै जिम्मेवार जवाफ दिएनन् । पछिल्लो पटक निर्वाचन आयोगमा उम्मेदवारी दर्ता गरेपछि प्रेसले उठाएको प्रश्नमा पनि ‘विवादास्पद भएन भने कसरी केशव स्थापित हुन सक्छ ?’ भन्दै पन्छिए ।

