काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलतर्फ शंकास्पद वस्तु (बम) राखेको भन्दै अज्ञात व्यक्तिले पटकपटक फोन गरेपछि आज बिहान यात्रुहरूलाई समेत बाहिर निकालेर ‘सर्च’ गरियो।
शंकास्पद वस्तु फेला नपरेपछि बिहान ११:१० बजेदेखि विमानस्थल सुचारू गरिएको थियो। विमानस्थलमा ९ देखि १० बजेको बीचमा दुई पटक फोन आएको थियो। फोनमा पुरूष व्यक्तिको आवाज सुनिएको थियो। छ/सात वटा बम राखिएको र दुई घन्टामा पड्कने उसले बताएको थियो।
त्यसलगत्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालयले सबै यात्रुहरूलाई बाहिर लगेको थियो। सो फोन नेपालभित्रबाटै आएको हुन सक्ने महानगरीय प्रहरी कार्यालय रानीपोखरीका निमित्त प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) उत्तम सुवेदीले जानकारी दिए।
उनकाअनुसार यो फोन कुनै एपको प्रयोग गरी गरिएको अनुसन्धानबाट देखिएको छ।
यस घटनाको अनुसन्धान गर्न रानीपोखरीले टोली परिचालन गरिसकेको छ। प्रहरीले फोन गर्ने व्यक्तिको खोजी गरिरहेको छ।
शंकास्पद वस्तु नभेटिएपछि विमानस्थल सुचारू गरिएको हो।

