काठमाडौं – विसं. २०५८ सालमा नेपालबाट वषिर्क ४० करोड अमेरिकी डलर बराबरको तयारी पोशाक विभिन्न मुलुकमा निर्यात हुन्थ्यो । वस्तु निर्यात गरेर नेपालमा डलरमा आम्दानी गर्नेमध्ये पहिलो उद्योगको रुपमा तयारी पोशाक रहेको थियो ।
नेपाल तयारी पोशाक संघका महासचिव अशोक कुमार अग्रवालका अनुसार त्यो समयमा देशभर रहेका १२ सय उद्योगले करिब १० लाख मानिस प्रत्यक्ष/अप्रत्यक्ष रोजगारी सृजना गरेको थियो ।
तर, अहिले यस्तो निर्यात ५ करोड डलरमा सीमित भएको नेपाल आर्थिक पत्रकार संघ -नाफिज) ले बुधबार राजधानीमा आयोजना गरेको विदेशी मुद्रा आर्जनमा निर्यात उद्योगको भूमिका विषयक नाफिज सम्वादमा अग्रवालले जानकारी दिएको छ ।
विसं २०३७ सालतिर करिब ५० वटा तयारी पोशाक उद्योगबाट बंगलादेश र नेपालले उत्पादन र निर्यात थालेकोमा २०७६ सालमा बंगलदेशले ५२ खर्ब बढीको निर्यात गरेको थियो । जबकी नेपालको निर्यात ६ अर्बको हारहारीमा रहेको छ ।
नेपालमा यो क्षेत्रको रोजगारी सृजना निकै कमजोर अवस्थामा रहँदा बंगलदेशमा यस क्षेत्रमा रोजगारी पाउने संख्या ५० लाखको हाराहारी रहेको छ ।
वाषिर्क झण्डै ३० अर्ब (तत्कालीन डलर मूल्यअनुसार) हाराहारीको निर्यात गर्ने तयारी पोशाक उद्योग सरकारी वेवास्ताका कारण अहिले वषिर्क ६ अर्ब हाराहारीमा सिमित भएको भन्दै उनले आफ्नो क्षेत्रका उद्योगहरुको दुःखको पोको फुकाएको छ ।
‘मुलुक अहिले उच्च आयातका कारण बढ्दो शोधानान्तर घाटा र कमजोर डलर सञ्चितिको अवस्थामा रहेको छ,’ अग्रवालले थपे ‘पछिल्लो २० वर्षमा हाम्रो क्षेत्रमा लाखौंको रोजगारी गयो, करोडौं लगानीका उद्योग विस्थापित भएको छ ।
विदेशी मुद्रा आर्जन कहाँबाट कहाँ पुग्यो ।’ नेपालको रोजगारीसँगै ढुकुटी बलियो बनाउनेे उद्योग टाट फर्किंदा सरकार रमिते बनेको र आयातलाई प्रोत्साहन गरिरहेको उनले आरोप लगाएको छ ।
आयात प्रोत्साहन र निर्यात वृद्धिमा पुच्चर लुकाउने सरकारी नीति र चरित्रको प्रतिफल अहिले मुलुकले भोग्नु परेको भन्दै अग्रवालले स्वदेशी उद्योगी रोएर हिंड्नु पर्ने बाध्यता हटाउन सरकारसँग माग गरेको छ ।
संघका अध्यक्ष चण्डी प्रसाद अर्याल निर्यातलाई प्रोत्साहन गर्नु पर्ने सरकारको निकाय नै उद्योगीसँग तर्किने गरेको गुनासो गर्छन् । ‘उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले निर्यात उद्योगी र व्यवसायीलाई भेट्न समेत समय नदिने गरेको उनले गुनासो गरेको छ ।
‘निर्यात प्रवर्द्धनको नीति र सरोकारका विषयमा छलफल गर्न मन्त्री भेट्न जान्छौं, ‘ अर्यालले भने ‘मन्त्री सबै कुरा बुझेको भनेर तर्किन्छन् ।’ आयात बढाउन कम्मर कसेर लागेको सरकारले निर्यात नीति नल्याएको र निर्यात प्रोत्साहनमा उद्योगीलाई झुलाउने काम गरेको उनले आरोप लगाएको छ ।
सरकारी प्रोत्साहन नीति अभाव, सामुदि्रक बन्दरगाहसम्म टाढाको पहुँच, चर्को हवाइ तथा स्थल कार्गो भाडा, श्रमिकको ज्याला र उत्पादकत्व, चर्को ब्याजदर लगायतका समस्यामा स्वदेशी उद्योगहरुको उत्पादन क्षमता अन्तराष्ट्रिय तुलनामा निकै कम प्रतिस्पर्धात्मक भएको अर्यालले बताएको छ ।
निर्यात प्रवर्द्धनका लागि वाणिज्य सचिवको नेतृत्वमा बस्ने प्रर्वधन समितिको बैठक कहिल्यै नबसेको पनि उनले गुनासो गरेको छ । ‘आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धनमा सरकार कति जिम्मेवार रहेको छ भन्ने बुझाउन म एउटा भोगाइ भन्छु’ अर्यालले भने ‘म पनि सदस्य भएको वाणिज्य सचिव नेतृत्वको निर्यात परिषद्को वैठक नबसेको वर्षौं भयो ।’
कार्यक्रममा बोल्दै नेपाल यार्न म्यानुफ्याक्चर एसोसिएसन अध्यक्ष पवन गोल्यानले आयात प्रतिस्थापन र स्वदेशी उद्योगको संरक्षणमा सरकारी स्पष्ट योजना नभएको बताएको छ ।
विश्वस्तरीय गुणस्तरको धागो उत्पादन गरेर निर्यात गर्न सक्ने नेपाली उद्योगीले नेपालमै कपडा उद्योग चलाउन सक्छ भन्ने मान्यातामा सरकारले अझै विश्वस गरी नसकेको उनले दुखेसो पोखेको छ ।
‘नेपालले वाषिर्क ६ अर्बको तयारी कपडा आयात गर्छ । सरकारी आँकाडामा यो एक अर्ब मात्रै देखिन्छ ‘ गोल्यानले प्रश्न गरे ‘५ अर्ब आयातको विवरण खोइ ? राजस्व खोइ ?’
सरकारले उचित वातावरण बनाई दिए आयात प्रतिस्थानका लागि गार्मेन्टको ७० प्रतिशत खपतको माग आन्तरिक उत्पादनबाटै धानने अवस्था सृजना गर्न आफूहरु तयार रहेको उनले बताएको छ ।
गार्मेन्टले वर्षको २ लाख रोजगारी सृजना गर्न सक्ने पनि उनको भनाइ थियो । अहिले कच्चा पदार्थ आयात गरेर नियार्त भएका वस्तुको मूल्यअभिबृद्धि हेर्न आग्रह गर्दै गोल्यानले अपसर पाए आफूहरुले गामेन्ट्स ८०० प्रतिशतसम्म मूलयअभिबृद्धि गर्न सकिने दाबी गरेको छ ।
कार्यक्रममा बोल्दै नेपाल निर्यात परिषद्का अध्यक्ष रेशमबहादुर पोख्रेलले नेपाली निर्यातकका लागि सरकार र नीति कहिल्यै अनुकुल नभएको दुखेसो गरेको छ । निर्यात प्रवर्द्धनका लागि नीति नियम र अन्तरमन्त्रालय समन्वय कहिल्यै नभएको उनले गुनासो गरेको हो ।
‘नेपाली उद्योगलाई चाहिने कच्चा पदार्थ चीनबाट ३ महिनामा आइपुग्छ, सामान बनाएर अमेरिका निर्यात गर्न ८० दिन लाग्छ’ पोख्रेलले प्रश्न गरे ‘यस्तो उत्पादन प्रणालीबाट नेपालीले उत्पादन गरेको कपडा कुन सिजनमा लागाउने हो ?’ स्वदेशी कच्चा पदार्थको प्रयोग र उत्पादन वृद्धिमा सरकारी नीति र प्राथमिकता नै नभएको उनले औल्याएको छ ।
नेपाल उद्योग परिसंघका उपाध्यक्ष कृष्णप्रसाद अधिकारीले आयात प्रतिस्थापन गर्ने नीति मै समस्या रहेको बताएको छ । स्वदेशी उद्योग अयातका कारण समस्यामा रहेको भन्दै उनले स्वदेशी उत्पादन प्रतिस्पर्धात्मक बनाउन, कानुन, पहुँचमार्ग र पुर्वाधारमा जोडदिन सरकारको ध्यानाकर्षण गराएको छ ।
कोभिड जस्तो अप्ठ्यारो अवस्थामा स्वदेशी उद्योग चल्ने तर सामान्य अवस्थामा उद्योगको उत्पादन ५० प्रतिशतले ह्रास आउने कारण खोज्न उनले सरकारलाई आग्रह गरेको छ । निर्यातथ व्यवसायी महासंघका उपाध्यक्ष दुर्गा बिक्रम थापाले नियार्मत प्रर्वधनमा सरकारले लगानी नै नगरेको आरोप लगाएको हो ।
हाल वस्तु आयातमा देखिएको विसंगत केलाउन पनि उनले नीति निर्मातालाई आग्रह गरेको छ । ‘कच्चा भटमासको तेल पनि आयात गर्ने, पिना पनि आयात गर्ने । यो कस्तो प्रवृत्ति हो,’ सैजुले भने ‘पाँचथरको तरकारी महेन्नगर र धनगढी पुर्याउन नसक्ने तर भारतको तरकारी काठमाडौं आउन सक्ने आन्तरिक आपूर्ति श्रङ्खला रहुन्जेल निर्यात वृद्धि र आयात प्रतिस्थापन हुन्न ।’
भारतसँग व्यापार सन्धि पुनरावलोकन हुँदैं गरेको भन्दै उनले त्यसमा हामी बलियोगरी उपस्थित हुन पर्ने उनको भनाई रहेको छ । निर्यात बढाउन व्यापार खर्च घटाउन पर्नेमा उनले जोड दिएको छ । सरकारले नियुक्त गरेका कन्सुलेट जनरलको भुमिका व्यापार बढाउनेतर्फ नभएको भन्दै सैजुले ती संस्थालाई ट्रेड मिशन बनाउनु पर्नेमा जोड दिएको छ ।

