सबैलाई पठाउनु होला

काठमाडौं –    स्थानीय वायु र भारतको पश्चिम बंगालमा बनेको न्यून चापीय प्रणालीको असरले निर्वाचनको दिन ३० वैशाखमा वर्षा हुनसक्ने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाए  ।

मौसम पूर्वानुमान महाशाखाले वैशाख २८ गतेदेखि ३१ गतेसम्मको मौसम पूर्वानुमान   सार्वजनिक गरे  । निर्वाचनको दिन वैशाख ३० गते देशभर आंशिकदेखि सामान्य बदली रहने सम्भावना रहेको  छ ।

प्रदेश १, बागमती तथा गण्डकी प्रदेशका केही स्थानहरुमा मेघ गर्जन/चटयाङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना  रहेको छ । साथै मधेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशहरुका थोरै स्थानहरूमा मेघ गर्जन/चटयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको उल्लेख गरिएको  छ ।

महाशाखाले सामान्यतया तीन दिनसम्मको मौसम पूर्वानुमानबारे बुलेटिन जारी गरी जानकारी गराउँदथ्यो । तर महाशाखाले आज नै ३१ गतेसम्मको मौसम पूर्वानुमान सार्वजनिक गरे ।

त्यसमा लेखिएअनुसार वैशाख २८, २९ र ३० गते देशभर आंशिकदेखि सामान्य बदली हुने र प्रदेश १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका केही स्थानहरुमा मेघ गर्जन र चटयाङ्ग सहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको  छ ।

साथै मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशहरुका थोरै स्थानहरूमा मेघ गर्जन/चटयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको  छ । २९ गते मधेश प्रदेशका जिल्लाहरुमा हावाहुरी चल्ने सम्भावना पनि रहेको  छ ।

अहिले नेपालमा स्थानीय वायु र भारतको बिहार–पश्चिम बंगाल क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको संयुक्त प्रभाव  परेको  छ । साथै दक्षिण बंगालमा चक्रवात पनि विकसित भएको छ ।

‘असानी’ नाम दिइएको सो चक्रवातले जलवाष्पयुक्त हावा नेपालसम्म ल्याउने र नेपालकै स्थानीय प्रणालीमा मिसिएर पानी पर्ने मौसमविदको भनाइ रहेको  छ ।

‘यसले पहाडी भूभागहरुमा अलि धेरै असर पार्ने देखिन्छ’, मौसमविद् हिरा भट्टराईले भने, ‘तराई मधेशका जिल्लामा अग्ला पहाडहरु नभएकाले पहाडी भूभागको तुलनामा कम असर पर्छ ।’ पूर्वसावधानी भने देशैभर अपनाउनुपर्ने बताउँदै उनले भने, ‘कम्तिमा छाता बोकेर भोट हाल्न जानुपर्छ ।’

असानीको चक्रवातको आंशिक प्रभाव

असानी चक्रवात भारतको उत्तरपश्चिम तर्फ सर्ने क्रममा रहेको  छ । वैशाख ३० गतेसम्म यो कमजोर अवस्थामा उत्तरी बंगालको खाडीमा रहने सम्भावना देखिन्छ । मौसमविद भट्टराईका अनुसार असानी चक्रवातको प्रत्यक्ष प्रभाव नेपालमा पर्दैन । तर त्यसको आंशिक असर भने देखिन्छ ।

जलवाष्पयुक्त हावा नेपालसम्मै आउने छ । खासगरी पूर्वी नेपालबाट जलवाष्पयुक्त हावा प्रवेश गर्ने भएकाले अन्यको तुलनामा पूर्वी नेपालमा अलि बढी पानी पर्ने पूर्वानुमान गरिएको  छ । ‘यसले अन्तभन्दा पूर्वमा अलि बढी असर पार्ने हो,’ मौमसविद भट्टराईले भने, ‘लगातार झरी पर्दैन तर पानी पर्ने, केहीबेर रोकिने र फेरि पानी पर्ने हुन्छ ।’

यो मौसमी प्रणालीका कारण निर्वाचन अवधिमा पर्न सक्ने असर र प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । साथै मौसम पूर्वानुमान महाशाखाले सो प्रणालीलाई निरन्तर अनुगमन गरिरहेको र आवश्यकता अनुसार थप बुलेटिन जारी गर्ने पनि जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com