दैलेख – दैलेखको आठबिस नगरपालिका वडा नं. २ सिस्नेमा बस दुर्घटनामा परेर मृत्यु भएका ४ जनाको पहिचान भएको छ।
कालिकोटबाट सुर्खेततर्फ आउँदै गरेको म १ ख ६६० नम्बरको यात्रुबाहक बस बुधबार राती दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी भुवनेश्वरप्रसाद साहले बताएको हो ।
डीएसपी साहका अनुसार दुर्घटनामा परी दैलेखका दुई र कालिकोटका दुई जनाको मृत्यु भएकोछ । दुर्घटनामा दैलेखको दुल्लु नगरपालिका–९ का अन्दाजी ३२ वर्षीय प्रेम सुनार र ३६ वर्षीय काशिराम पाण्डे, कालिकोटको पलाँता गाउँपालिका–३ का अन्दाजी ३५ वर्षीय ज्ञानबहादुर बम र ५५ वर्षीय धनकला शाहीको मृत्यु भएको डीएसपी साहले जानकारी दिएको छ ।
बसमा कुल ६२ जना यात्रु रहेको खुल्न आएको र तीमध्ये ३९ जना घाइते रहेको डीएसपी साहले बताएको छ । सामान्यदेखि गम्भीर घाइते भएका बसमा सवार ३९ जनाको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको छ।
प्रहरीका अनुसार बस राजमार्गबाट ४० मिटर तल कर्णाली नदीमा खसेको छ। ‘प्रारम्भिक अनुसन्धान र चालकको भनाई अनुसार ब्रेक फेल हुँदा बस दुर्घटना हुन पुगेको भन्ने खुल्न आएको छ,’ ‘घटनाको विस्तृत अनुसन्धान थालेका छौं’, दैलेख प्रहरी प्रमुख डीएसपी साहले भने ।

