
जेठ १५ इतिहासमा एउटा गौरवशाली दिन अर्थात् ‘गणतन्त्र दिवस’। ‘एक जुगमा एकदिन एकपटक आउँछ’ भनेझैँ हरेक युगमा त्यस्ता दिन कहिलेकाहीँ मात्र आउँछन्, जसले समाजमा उथलपुथल ल्याउँछन्, इतिहास बदल्छन् र नयाँ इतिहास निर्माण गर्छन्। जेठ १५ त्यस्तै ऐतिहासिक महत्वको दिन हो। नेपालको इतिहासमा यो दिन गरिमामय छ। जनताको इतिहास रचना गर्न यो दिन सफल भएको छ।
नेपालमा राजतन्त्रले २३८ वर्ष शासन र शोषण गर्दै आयो। सँगसँगै, राजतन्त्रविरुद्धको संघर्ष पनि चल्दै आयो। पटकपटकका आन्दोलन राजनीतिक दलहरूका कारण सम्झौतामा पनि टुंगिए। यद्यपि, ०६२/६३ को जनआन्दोलन निष्कर्षमा पुग्न सफल भयो। संयुक्त जनआन्दोलन उत्कर्षमा राजतन्त्रविरोधी ‘जनविद्रोह’मा रूपान्तरित भयो। जनक्रान्तिको स्वरूप ग्रहण गरेको त्यही आन्दोलनले नेपाली समाजमा जबर्जस्त जरा गाडेको सामन्तवादको किल्ला खुनी राजतन्त्रलाई उखेलेर फाल्यो र गणतन्त्रको झण्डा फहरायो। आन्दोलनबाट पुनर्स्थापित प्रतिनिधिसभाले राजतन्त्रको अन्त्य गरी लोकतान्त्रिक गणतन्त्र स्थापनाको ऐतिहासिक घोषणा गर्दै त्यसको कार्यान्वयन गर्ने संविधानसभाको पहिलो बैठकलाई ‘म्यान्डेट’ सुम्पियो। जसअनुसार १५ जेठ ०६५ मा सम्पन्न संविधानसभा पहिलो बैठकले नेपालमा राजतन्त्रीय युग समाप्त गरी लोकतान्त्रिक गणतन्त्र कार्यान्वयन घोषणा गर्यो।
नेपाली समाजलाई दासता र सामन्तवादले गाँजेको इतिहास लामो छ। नेपाली वीर देशभक्तहरूको संघर्ष र बलिदानीले हामी कहिल्यै विदेशीसामु पराधीन बन्नुपरेन। जनताको वीरताले बनाएको यो गौरवपूर्ण इतिहासलाई विकृत बनाउँदै राजा-महाराजालाई जस दिने प्रयत्न भएका छन्। जनता लामो समय विभिन्नखाले राजतन्त्रको साङ्लोमा बाँधिएका र छोटेबडे राजाबाट उत्पीडित हुँदैआएका छन्। यस क्रममा जनता र राजाबीचको लडाइँ वर्षौंदेखि चल्दैआएको थियो जसको फैसला एकदिन त हुनैपर्ने थियो। हाम्रो युगको त्यो ऐतिहासिक दिन बनेर १५ जेठ ०६५ आयो। अर्थात् त्यस दिन राजा र जनताबीचको लडाइँको छिनोफानो भयो। राजा र राजतन्त्रको हार भयो, जनताको जित भयो र देशमा लोकतान्त्रिक गणतन्त्र स्थापना भयो। त्यही सम्झनामा १५ जेठलाई हामी गणतन्त्र दिवसको रूपमा मनाइरहेका छौँ।
नेपालमा गणतन्त्र आयो तर जनताले यसको अनुभूति कति गर्न पाए- यो यतिबेलाको गम्भीर प्रश्न हो। नेतालाई कुर्सी र सत्तामा विराजमान गराउन या उनीहरूलाई शक्ति र सम्पत्ति सम्पन्न बनाउन अथवा उनीहरूलाई राजधानीमा महल ठड्याउन र महँगा चिल्ला गाडीमा सवारी चलाउनका लागि गणतन्त्र वा लोकतन्त्र ल्याइएको थियो? गणतन्त्र राजनीतिको रङ्ग परिवर्तन गर्ने घटना मात्र होइन, यो जीवनदर्शन हो। जनता किन गणतन्त्रनिम्ति आफ्नो अमूल्य जीवन दिन तयार भए? स्वतन्त्रताका लागि होइन र? त्यसकारण गणतन्त्रको आशयमा चोट पुगेको वा गणतन्त्रले आफ्नो लक्ष्यभेदन गर्न नसकेको विषयमा गम्भीर समीक्षा जरुरी छ।
जनताले गणतन्त्र प्राप्त गरे तर यो व्यवस्थामा तिनले अरू के पाए? भन्ने प्रश्न पनि यतातत्र आउने गर्छ।जनताले गणतन्त्र ल्याउन दलका सीमित नेताहरूलाई मन्त्री, सांसद बनाउन मात्र लडेको होइन । उनीहरूले वास्तविक सामाजिक मुक्ति, शान्तिसुरक्षा र स्वाधीनताका लागि संघर्ष गरेका थिए। गणतन्त्र भोको जनताका पेट भरिने सामाजिक व्यवस्था होइन र! जनताको चुलोमा साँझ-बिहान आगो बल्यो, बलेन? बेराजगार हरुले दिगो रोजगार सिर्जना भयो कि भएन खुल्ला आकाशमुनि बस्ने गरिब निमुखा भई मान्छेहरूको जीवनशैली नसुधार आयो कि आएन? ढुक्कलकारखानाहरू कति सञ्चालन भएका छन्?सीमित मान्छेहरूलाई मात्रै सुखभोग गर्नका लागि मात्रै गणतन्त्र स्थापना भएको होइन। तर देश र जनतालाई गणतन्त्रको विकल्प गणतन्त्र नै हो। यसलाई सुदृतीकरण गर्नको लागि दल दलका नेताहरुले आफ्नो स्वार्थ छोडेर देश जनता समाज आर्थिक विकास र समृद्धि सुखी नेपाली समृद्ध नेपालको साझा धारणा राखेर अगाडि बढ्नु आजको विकल्प हो।
व्यापार-व्यवसायीका लागि व्यवसायको सुरक्षा, जमिनमाथि जोत्नेको स्वामित्व, सामाजिक रूपमा बहिष्कृत र सीमान्तीकृत दलित, जनजाति, मधेसी, दुर्गमवासी, महिला सबैका अधिकार स्थापना गणतन्त्रको गन्तव्य बन्नुपर्छ। गणतन्त्रले सबै कुरा पुर्याइदिन्छ भन्ने भ्रममा कोही पर्नुहुँदैन तर यसले जनताको आर्थिक-सामाजिक जीवनमा परिवर्तन दिनैपर्छ। यो सामाजिक रूपान्तरणको कोशेढुङ्गा बन्नैपर्छ। तब मात्र गणतन्त्र सार्थक हुनेछ।
माओवादीकै सन्दर्भ लिऊँ। उसले जनतामाझ बाँडेका सपना कस्ता थिए? क्रान्ति, परिवर्तन र जनमुक्तिको सपना देखाएर युवालाई युद्धमा होमियो, तर तिनले आज के पाए? ‘जनयुद्ध’ र हजारौँको बलिदानी माओवादी नेतालाई सत्ता र कुर्सीमा पुर्याउने भर्याङ मात्रै बनेको घामजस्तै छर्लंग छैन र? त्यति ठूलो क्षतिको प्राप्ति आखिर के भयो? के त्यसको लेखाजोखा माओवादी वा स्वतन्त्र पर्यवेक्षकले निष्पक्षरूपमा गरेका छन्?
निरंकुश राजतन्त्रको विरुद्ध र संघीय लोकतान्त्रिक गणतन्त्र को पक्षमा लडेको नेकपा माओवादी यतिखेर आफ्नो स्वार्थ लाई मुख्य मान्दै छिन्न भिन्न भइसकेको छ।
मुद्दा छोडेर सत्ता लिप्त हुँदा हिजो गणतन्त्रका लागि लडेका हुँ भन्नेहरू कोही परदेशी जीवन बिताइरहेका छन्। कसैले सबै मुद्दा छोडेर राजनीतिक समेत छाडिसकेका छन्।
जनताको संगठित आवाजसामु झुकेको दिन नेपाली लोकतन्त्रको पुनर्जन्म भएको दिन थियो। आज हामी संघीय लोकतान्त्रिक गणतन्त्रको रूपमै अगाडि बढिरहेका छौं, जहाँ देशको सत्ता जनताको हातमा छ, र त्यो परिवर्तन आफैंमा ऐतिहासिक, आवश्यक र जनहितमा भएको परिवर्तन हो भन्नेमा कुनै दुईमत छैन।
निरंकुश राजतन्त्रको युगमा नागरिक स्वतन्त्रता, मानव अधिकार, प्रेस स्वतन्त्रता, र न्याय प्रणाली सबै राजाको इशारामा चल्थ्यो। जनताको मत, आवाज र सहभागिता झन्झन् सिमित हुँदै गएको थियो। शासन प्रणाली उत्तरदायी र पारदर्शी बन्नुको सट्टा शक्ति केन्द्रित, जनताबाट टाढा र जनअपेक्षाविपरीत थियो। यस्तो सन्दर्भमा जनताले उठाएको आवाजले मात्रै लोकतन्त्र सम्भव थियो।
संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनापछि नेपालले नयाँ युगको यात्रा सुरु गर्यो। नागरिकलाई पहिलो पटक सार्वभौम अधिकार प्राप्त भयो, जहाँ शासनप्रति उत्तरदायी सरकार चुनिने सुनिश्चितता आयो। संघीय संरचनाले मात्र होइन, जातीय, क्षेत्रीय र भाषिक विविधतालाई समेट्ने प्रयासले पनि समावेशी शासनको बाटो खोल्यो।
अवश्य पनि, गणतन्त्र स्थापनासँगै सबै समस्या समाधान भएका छैनन्। भ्रष्टाचार, सुशासनको अभाव, राजनीतिक अस्थिरता, र बिचलनहरू अझै चुनौतीका रूपमा छन्। तर, यी कमजोरीहरू गणतन्त्रको कमजोरी होइनन्, ती कार्यान्वयन र नेताहरूको इच्छाशक्तिको कमजोरी हुन्। शासन प्रणाली सही दिशामा हो भने सुधार सम्भव हुन्छ जनताको चेक एन्ड ब्यालेन्स प्रणालीले सशक्त भूमिका खेल्न सक्छ।
त्यसैले, आजको आवश्यकता भनेको गणतन्त्रको मर्मलाई आत्मसात गर्दै जनतामैत्री, जवाफदेही र समावेशी शासनलाई सुदृढ बनाउनु हो। निरंकुशताको कालखण्डको सम्झनाले हामीलाई सतर्क राख्नेछ, र गणतन्त्रको मार्गले हामीलाई समृद्ध, न्यायपूर्ण र समान समाजतर्फ अघि बढाउनेछ।
संघीय लोकतान्त्रिक गणतन्त्र पश्चात् दलका नेताहरूको जीवनशैली बदलिएको र जनताको जीवनशैली ज्यू भएको कुरा पनि प्रश्न उठ्ने गरेका छन्। श्रम भ्रष्टाचार व्यथिति बढ्दै गएको कुराले पनि आम जनतामा निराशा छाएको छ। सुशासनमा कमजोरी पारदर्शी नहुनु। जनप्रतिनिधि हरू जनताप्रति उत्तरदायी नहुनु। ले पनि गणतन्त्रप्रति जनताको निराशा बढ्दो छ। जनप्रतिनिधि राजा बन्ने होइन जनताको साझा बन्ने हो। नेता बन्ने होइन। सेवक बन्ने हो। गणतन्त्रको नाममा कमाउने धन्दा मा लागेकाहरूले गणतन्त्रको धज्जी उडाइरहेको कुरा पनि यता तत्र छ । हामी सबैले राष्ट्र निर्माण समाज परिवर्तन जनताको भविष्य बदल्न निस्वार्थ भएर लाग्यो भने पक्कै पनि गणतन्त्रले सार्थक पाउनेछ।