सबैलाई पठाउनु होला

काठमाडौं  –  पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारण सार्वजनिक सवारीको भाडादर १० देखि १५ प्रतिशतसम्म बढेको छ। यातायात व्यवस्था विभागले आइतबारदेखि लागू हुनेगरी लामो दूरीका सार्वजनिक सवारीकोे नयाँ भाडादर सूची सार्वजनिक गरेको हो।

अहिले बढेको भाडादर काठमाडौं उपत्यकाको भने होइन।  सरकारले तीनवटा क्षेत्र छुट्ट्याएर भाडा समायोजन गरेको छ। लामो दूरीका पहाडमा चल्ने ट्रक , लामो दूरीका बस  र लामो दूरी तराईमा चल्ने मालवाहक ट्रकको छुट्टाछुट्टै भाडादर तय गरेको छ। विभागका अनुसार सार्वजनिक यात्रुवाहक सवारी साधनको भाडादर १० प्रतिशतले वृद्धि भएको छ।

यससँगै पहाडी बाटोमा चल्ने मालवाहक सवारीसाधनको भाडादर १३ प्रतिशतले बढेको छ भने तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडादर १५ प्रतिशतले वृद्धि भएको छ। मन्त्रिस्तरीय निर्णयले बिहीबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट भाडा बढाउन सैद्धान्तिक सहमति प्राप्त भएपछि विभागले नयाँ भाडादरको सूची सार्वजनिक गरेको बताएको  हो ।

विभागका महानिर्देशक नमराज घिमिरेका अनुसार सबै क्षेत्रको हिसाब गरेर रुटगत भाडा सूची प्रकाशन गरिएसँगै लागू भएको छ।

 

  • लामो दूरीका बस, पहाडमा चल्ने ट्रक र तराईमा चल्ने मालवाहक ट्रकको छुट्टाछुट्टै भाडादर तय।
  • लामो दूरीको भाडादर १० देखि १५ प्रतिशतसम्म वृद्धि।

विभागले छोटो, मध्यम र लामो दूरीका अन्तरप्रदेश रुटहरूमा कायम भएको सार्वजनिक यातायातको भाडादर साबिकको भन्दा १० प्रतिशतले बढेको छ। तर, विभागअन्तर्गतको सवारी परीक्षण कार्यालयबाट स्तरीय डिलक्स सवारीको रूपमा स्तर कायम भई सवारी दर्ता प्रमाणपत्र स्तर प्रमाणित भएका यात्रुवाहक सवारीको हकमा भने बढाइएको भाडामा थप २० प्रतिशत फेरि थप्न सकिने व्यवस्था गरेको छ।

विभागको सूचीमा रहेको मुलुकभरका २ सय ८० ओटा रुटको भाडादर समायोजन भएको छ। जस्तैः २ सय ५१ किलोमिटर रहेको कलैया, तानसेन , पाल्पाको भाडा ६ सय ८३ रुपैयाँ कायम भएको छ। यसअघि ६ सय २१ रुपैयाँ थियो। यस्तै अब काँकडभिट्टा, कुनौली हुँदै राजविराजको भाडा ४ सय ६२ पुगेको छ। यसअघि ४ सय २० रुपैयाँ थियो। काठमाडौं–अत्तरिया–मार्तडीको भाडादर बढेर २ हजार ८ सय ४० रुपैयाँ पुगेको छ।

यसअघि २ हजार ५ सय ८२ रुपैयाँ थियो। यसैगरी अन्य रुटहरूको सम्बन्धमा तराईको लामो दूरी (२५० किमिभन्दा बढी) पक्की र ग्राभेल बाटोमा सञ्चालन हुने यात्रुवाहक बस, मिनीबसको लागि यसअघि प्रतिकिमि २.४३ रुपैयाँ कायम थियो। अब प्रतिव्यक्ति प्रतिकिलोमिटर २.६७ रुपैयाँले भाडादर कायम भएको छ। यस्तै २५ किलोमिटरदेखि २५० किमिसम्मको दूरीको पक्की र ग्राभेल बाटोमा सञ्चालन हुने यात्रुवाहक बस, मिनीबसका लागि प्रतिव्यक्ति प्रतिकिलोमिटर २.७४ रुपैयाँले भाडादर कायम भएको छ। यसैगरी काठमाडौं, पोखरा र पोखरा, नारायणघाट खण्डको लागि प्रति किमी २.९४ रुपैयाँ भाडादर कायम भएको छ।

मालवाहक सवारीका सम्बन्धमा  पहाडी क्षेत्रमा र  तराईमा  नयाँ भाडादर कायम भएसँगै अब प्रतिकिलोमिटर प्रतिटन ७.०७ रुपैयाँ र १३.४९ रुपैयाँले हुन आउने रकमलाई १० टनले हिसाब गरी तोकिएका रुटहरूमा भाडा कायम गर्न विभागले निर्देशन दिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com