बलिउड अभिनेता – बलिउड अभिनेता अक्षय कुमार अभिनित फिल्म ‘रक्षाबन्धन’को ट्रेलर सार्वजनिक भएको छ।
सार्वजनिक ट्रेलरमा चार जना बहिनीहरूको विवाह गर्न दाइको संघर्षको कथालाई देखाइएको छ।
अक्षयले फिल्मको ट्रेलर सार्वजनिक गर्दै सामाजिक सञ्जालमा लेखेका छन्, ‘जहाँ परिवारको माया हुन्छ, त्यहाँ हरेक बाधा अवरोधको समाधान हुन्छ।’
आनन्द एल राय निर्देशित फिल्ममा अक्षयसँगै भूमि पेडनेकर, सादिया खातिब, साहिजमान कौर, दीपिका खन्ना र स्मृति श्रीकान्त लगायत कलाकारको अभिनय रहेको छ।
फिल्मको कथा निर्देशक रायले नै तयार पारेका हुन्। यो फिल्म आगामी अगस्ट ११ गते प्रदर्शन हुँदैछ। यहि मितिमा आमिर खानको फिल्म ‘लाल सिंह चड्डा’ पनि प्रदर्शन हुनेछ।
अक्षयको पछिल्लो समय प्रदर्शनमा आएको फिल्म ‘बच्चन पाण्डे’ र ‘सम्राट पृथ्वीराज’ बक्स अफिसमा फ्लप भएको थियो। त्यस्तै, आमिर खानको फिल्म ‘ठग्स अफ हिन्दोस्तान’ फ्लप भएको चार वर्षपछि ‘लाल सिंह चड्डा’ मार्फत कम्ब्याक गर्दैछन्।

