काठमाडौं : वैदेशिक रोजगार विभाग ले सेवाग्राहीलाई व्यक्तिगत श्रम स्वीकृतिको प्रक्रियाका लागि अब विभाग वा श्रम कार्यालय धाउन नपर्ने स्पष्ट पारेको छ। विभागका अनुसार ‘वैदेशिक रोजगार व्यवस्थापन सूचना प्रणाली’मार्फत घरमै बसेर अनलाइन आवेदन दिन सकिने व्यवस्था लागू भइसकेको छ।
विभागले व्यक्तिगत श्रम स्वीकृति लिन चाहने व्यक्तिले आफ्नै अनलाइन खाताबाट आवेदन दिनुपर्ने बताउँदै यस प्रक्रियामा कुनै पनि संस्था, साइबर सेन्टर वा प्रतिनिधिको संलग्नता कानुनी रूपमा मान्य नहुने जनाएको छ। पछिल्लो समय म्यानपावर कम्पनीका प्रतिनिधि र बिचौलियाहरूको हस्तक्षेप बढेको गुनासो आएपछि विभागले कडा चेतावनीसहित सूचना जारी गरेको हो।
विभागले भ्रमपूर्ण विज्ञापन गर्ने साइबर सेन्टर, तालिम केन्द्र तथा अन्य निजी संस्थामाथि कडा कारबाही गरिने जनाएको छ। ‘यहाँ श्रम गरिन्छ’ वा ‘श्रमको अनलाइन फाराम भरिन्छ’ जस्ता भ्रामक साइनबोर्ड, होडिङ बोर्ड र फ्लेक्सहरूले सेवाग्राहीलाई भ्रममा पारेर अनाधिकृत रूपमा रकम असुल गर्ने प्रवृत्ति बढेको विभागको ठहर छ।
विभागले आफ्ना कार्यालय वरिपरि तथा देशभर यस्ता प्रचार सामग्री तत्काल हटाउन निर्देशन दिएको छ। तोकिएको समयसीमाभित्र अटेर गरेमा वैदेशिक रोजगार ऐन, २०६४ अनुसार कानुनी कारबाही गरिने चेतावनी दिइएको छ।
विभागका अनुसार संस्थागत श्रम स्वीकृति म्यानपावर कम्पनीमार्फत हुने भए पनि व्यक्तिगत श्रम स्वीकृति भने स्वयं व्यक्तिले मात्र लिनुपर्ने कानुनी प्रावधान छ। तर ‘श्रम मिलाइदिने’ बहानामा एजेन्ट र साइबर सञ्चालकहरूले रकम ठगी गर्ने घटना बढिरहेका छन्।
विभागकी महानिर्देशक मीरा आचार्य ले वैदेशिक रोजगारीमा जाने तयारीमा रहेका नागरिकलाई कुनै पनि अनाधिकृत व्यक्तिको प्रलोभनमा नपर्न आग्रह गरेकी छन्। उनले श्रम स्वीकृतिका नाममा रकम मागिएमा वा ठगीको प्रयास भएमा तुरुन्त विभागमा जानकारी गराउन अनुरोध गरिन्।
साथै, विभागले वैदेशिक रोजगारीमा हुने ठगी नियन्त्रणका लागि उजुरी परेका व्यक्तिहरूको नामावलीसमेत वेबसाइटमा सार्वजनिक गर्ने व्यवस्था गरेको जनाएको छ। विदेश जानुअघि सम्बन्धित देशको अवस्था बुझ्न, आर्थिक लेनदेन गर्दा प्रमाण सुरक्षित राख्न र आधिकारिक सरकारी माध्यम मात्र प्रयोग गर्न विभागले सबैलाई आग्रह गरेको छ।

