सबैलाई पठाउनु होला

काठमाडौँ—संविधान संशोधनसम्बन्धी बहसलाई संस्थागत रूपमा अघि बढाउने उद्देश्यसहित गठित कार्यदलको बैठक सिंहदरबारमा जारी छ। प्रधानमन्त्री बालेन्द्र शाह का राजनीतिक सल्लाहकार तथा कार्यदलका संयोजक असिम साह को अध्यक्षतामा बैठक बसेको हो।

बैठकमा विभिन्न राजनीतिक दलहरूबाट प्राप्त लिखित धारणा, सुझाव तथा बहसका विषयहरू संकलन गरी संविधान संशोधनका प्रमुख मुद्दा पहिचान गर्ने काम भइरहेको छ। साथै, कार्यदलको आगामी कार्ययोजना तय गर्ने विषयमा पनि गम्भीर छलफल भइरहेको बताइएको छ। संयोजक साहका अनुसार संविधान संशोधनसम्बन्धी प्रक्रिया वृहत, समावेशी र चरणबद्ध ढंगले अघि बढाइनेछ।

उनले संविधान संशोधन राष्ट्रिय सहमति, व्यापक सहभागिता र तथ्यमा आधारित हुनुपर्नेमा जोड दिए। नेपालको संविधान को धारा २७४ ले संशोधनसम्बन्धी स्पष्ट प्रावधान गरेको उल्लेख गर्दै उनले सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता तथा जनतामा निहित सार्वभौमसत्ताको प्रतिकूल हुनेगरी कुनै पनि संशोधन गर्न नसकिने संवैधानिक व्यवस्था रहेको स्पष्ट पारे।

बैठकमा निर्वाचन प्रणाली सुधार, प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था, पूर्ण समानुपातिक प्रतिनिधित्व, सांसद मन्त्री नहुने प्रावधान, गैरदलीय स्थानीय सरकार तथा प्रदेश संरचनाको पुनर्समीक्षा जस्ता विषयमा व्यापक बहस हुँदैछ। कार्यदलले यी विषयलाई समेट्दै संविधान संशोधनको मार्गचित्र तयार गर्ने लक्ष्य राखेको जनाएको छ।

सरकारले संविधानलाई समयानुकूल, उत्तरदायी र जनमुखी बनाउन आवश्यक संशोधन प्रक्रिया अघि बढाउने संकेत दिँदै आएको सन्दर्भमा कार्यदलको यो पहललाई महत्वपूर्ण रूपमा हेरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com