सबैलाई पठाउनु होला

स्याङ्जा, १० असार – स्याङ्जाको वालिङ–१ धरमपानीमा व्यावसायिकरुपमा ड्रागनखेती सुरु भएको छ । वालिङ नगरपालिका–१ का कृष्णप्रसाद ढुङ्गानाले गत फागुनदेखि व्यावसायिकरुपमा ड्रागन खेती थाल्नुभएको हो ।

ढुङ्गानाले ८० रोपनी जमिन भाडामा लिएर सुरुमा चार हजार बिरुवाबाट व्यवसाय थाल्नुभएको हो । यस क्षेत्रकै नयाँ र नौलो व्यवसायको थालनी उहाँले युट्युबको सहायतामा अगाडि बढाउनुभएको हो ।

“युट्युब हेर्दै जाँदा ड्रागन खेतीकाबारेमा देखेपछि यस क्षेत्रमै नयाँ र सम्भावना देखेकाले व्यावसायिकरुपमा थालनी गर्ने सोंच बनाएँ”, उहाँले भन्नुभयो, “सुरुमा जमिन भाडामा लिएर सम्याउने काम सकिएसँगै चार हजार बिरुवा लगाएर सुरुआत गरेको हुँ ।” ८० रोपनी जमिनमा ३० हजार ड्रागनका बिरुवा लगाउने योजना उहाँको छ । तीस हजार बिरुवाका लागि उहाँले १० हजार सिमेन्टका खम्बा निर्माण गर्नुभएको छ भने प्रत्येक खम्बामा तीन/चार वटा बिरुवा लगाउने तयारीमा हुनुहुन्छ ।

सिँचाइका लागि पर्याप्त पानीको आवश्यकता नपर्ने, हावापानी र माटो ड्रागनखेतीका लागि उपयुक्त भएकाले हालसम्म लगाएको बिरुवा राम्रो हुँदै गएको उहाँले बताउनुभयो ।

“वीरगञ्ज, विराटनगरबाट बेर्ना तथा बीउ ल्याएर लगाएको हुँ”, उहाँले भन्नुभयो, “अहिले राम्रो हुँदै गएकाले अझै बिरुवा थप्दै विस्तार गर्दै जाने तयारीमा छु ।” नयाँ र नौलो फल हुनुका साथै यसको माग पनि बढ्दै गएकाले उत्पादित वस्तुको बजारीकरणमा समस्या नहुने उहाँको धारणा छ ।

एकपटक रोपेपछि वर्षौंसम्म पनि फल दिने भएकाले पनि यो खेती सजिलो र पछिल्लो समय व्यावसायिकरुपमा गरिँदै आएको छ । फल र स्वाद दुवै स्थानीयका लागि नौलो भएकाले पनि उत्पादन गर्न सकेमा उत्पादन भएको ठाउँबाट नै बिक्री हुनसक्ने उहाँ बताउनुहुन्छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com