बागलुङ – बागलुङमा विद्यालय तहदेखि नै उपभोक्ता अधिकारबारे विद्यार्थीको ज्ञान र चेतना जगाउन प्रशिक्षण अभियान थालिएको छ । राष्ट्रिय उपभोक्ता मञ्च बागलुङले उपभोक्ता शिक्षा प्रवद्र्धनका लागि विद्यार्थीलाई प्रशिक्षित गर्न सुरु गरे ।
मङ्गलबार र बुधबार सदरमुकामस्थित विद्यामन्दिर मावि र कालीगण्डकी आवासीय माविमा प्रशिक्षण चलाइएको मञ्चका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभएको छ । ‘दुई दिन गरी झण्डै ३०० विद्यार्थी प्रशिक्षणमा सहभागी बने’, उहाँले भन्नुभयो, ‘यो अभियानकै रूपमा अगाडि बढ्छ, साउनदेखि अरु विद्यालयमा पनि गर्छौँ ।’
बागलुङ नगरपालिकासँगको सहकार्यमा मञ्चले नगरभित्रका विद्यालयमा उपभोक्ता सचेतनाका लागि प्रशिक्षण सञ्चालन गरेको हो । अध्यक्ष श्रेष्ठले अरु स्थानीय तहसँग पनि मिलेर जिल्लाभर उपभोक्ता शिक्षाको प्रसार र सबलीकरण गरिने बताउनुभएको थियो ।
‘विद्यार्थीलाई उपभोक्ता अधिकारका कुरा बुझायौँ, सिकायौँ भने उनीहरु आफू पनि सचेत हुन्छन्, घरपरिवार र समुदायमा पनि पु¥याउँछन्’, उहाँले भन्नुभयो, ‘प्रशिक्षणमा सम्बन्धित क्षेत्रका विज्ञ र अनुभवीले विद्यार्थीलाई सहजीकरण गर्छन् ।’ हरेक नागरिक उपभोक्ता भएकाले आफ्ना अधिकारका बारेमा पहिले व्यक्ति स्वयं सचेत हुनुपर्ने अध्यक्ष श्रेष्ठले बताउनुभएको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी गणेश पौडेलले विद्यालय तहका बालबालिकालाई उपभोक्ता शिक्षा फलदायी हुने धारणा राख्नुभयो । ‘सानो उमेर भनेको आफू कस्तो हुने र के सिक्ने भन्ने बेला हो, यस्तो प्रशिक्षणबाट बालबालिकाको सिकाइ पनि बढ्छ, उनीहरुलाई के खान हुन्छ, के हुँदैन भन्ने थाहा हुन्छ’, उहाँले भन्नुभयो, ‘उपभोक्ता अधिकारबारे जनस्तरमा व्यापक सचेतना फैलाउन विद्यार्थी असल माध्यम हुन सक्छन् ।’
दुई दिनसम्म चलेको प्रशिक्षणका क्रममा मञ्चका खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका खाद्य अनुसन्धान अधिकृत सौरभ श्रेष्ठ, भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका डा ऋषि सापकोटा, सरकारी वकिल कार्यालयका प्रमुख जिल्ला न्यायाधिवक्ता लालप्रसाद लामिछाने, मञ्चका सचिव रामबहादुर केसीलगायतले सहजीकरण गरे ।
सहजकर्ताले उपभोक्ता अधिकारसँग जोडिएका विविध विषयमा विद्यार्थीलाई सुसूचित गरेका थिए । खाद्य अनुसन्धान अधिकृत श्रेष्ठले दूषित खाद्य पदार्थ, न्यून गुणस्तरयुक्त खाद्य पदार्थ, ‘जङ्कफुड’, उपभोक्ता अधिकारसम्बन्धी कानुनी व्यवस्थाजस्ता विषयमा सहजीकरण गर्नुभएको हो ।
‘जङ्कफुड’को अधिक सेवनले मस्तिष्कको विकासमा अवरोध आउने, हाडजोर्नी कमजोर हुने, बौद्धिक शिथिलताजस्ता समस्या देखापर्ने उहाँको भनाइ छ । डा सापकोटाले स्वस्थकर मासु सेवन नगर्दा मानिसले गम्भीर रोगको सामना गरिरहनुपरेको बताउनुभयो ।
‘रोग निम्त्याउने सुक्ष्म जीवका लागि मासु उपयुक्त स्थान हो, सुरक्षित मासु सेवनका लागि मासु संरक्षणको विधि सबै उपझोक्ताले सिक्नुपर्छ जान्नुपर्छ’, उहाँले भन्नुभयो, ‘अस्वस्थकर मासुका कारण जुनोटिक रोगको समस्या बढ्दो छ, १२ घण्टा फ्रिजमा चिस्याएर मात्र मासु प्रयोग गर्नुपर्छ ।’प्रशिक्षणमा कक्षा ४ देखि ११ सम्मका विद्यार्थी सम्मिलित भएका थिए ।

