सबैलाई पठाउनु होला

बयानब्बे वर्षीया आमा मनमाया सिटौला र ५० वर्षीय कान्छा छोरा कवीन्द्र सिटौला ‘जिज्ञासु’ द्वारा लिखित दुई पुस्तक एकैसाथ विमोचन गरिएको छ । आमा मनमायाको आत्मकथा ‘मैले बिताएको युग’ र छोरा कवीन्द्रको कविता सङ्ग्रह ‘हृदयका स्पन्दनहरू’ एकैसाथ शनिबार सार्वजनिक गरिएको छ  ।

यहाँ आयोजित कार्यक्रममा प्रज्ञा प्रतिष्ठानका कुलपति डा गङ्गाप्रसाद उप्रेतीलगायतले ती दुवै कृति विमोचन गर्नुभएको छ  । पुस्तक विमोचन समारोहमा डा उप्रेतीले मनमायाको कृतिले एक सय वर्षअघिको नेपालको सामाजिक, सांस्कृतिक र आर्थिक परिवेश अभिव्यक्त गरेको बताउँदै यो पुस्तक एउटा कालखण्डको एक महत्वपूर्ण अभिलेख भएको उल्लेख गर्नुभएको थियो  ।

त्यसैगरी छोरा स्रष्टा कवीन्द्रको कवित्व आकर्षक रहेको चर्चा गर्दै कवितायात्रालाई निरन्तरता दिन आग्रह गर्नुभएको हो  । साहित्यकार डा साधना प्रतीक्षाले ‘मैले बिताएको युग’को समीक्षात्मक टिप्पणी गर्दै मनमायाको जीवन आफैँमा एउटा कृति भएको उल्लेख गर्नुभएको छ  । उहाँले भन्नुभयो, ‘सिटौलाको यो कृति पढ्नु भनेको हरेकले आफ्नी आमालाई पढ्नु हो ।’

प्राज्ञ कवि डा देवी नेपालले कवीन्द्रको कृतिमाथि चर्चा गर्दै उहाँको कवितामा जीवन र जगत्का विविध भोगाइ अभिव्यक्त भएको धारणा राख्नुभएको छ  ।

‘मैले बिताएको युग’का सम्पादक तथा मनमायाकी छोरी साहित्यकार राधिका दाहालले आफूले आमाको जीवनका भोगाइहरु डायरीमा लेख्ने गरेको र आज त्यही डायरीले पुस्तकको रूप लिएको जानकारी दिनुभएको बताउनु भएको थियो  । सो आत्मकथाको राधिकाले सम्पादन गर्नुभएको हो ।

हरिचरण सिटौला प्रतिष्ठानद्वारा आयोजित उक्त कार्यक्रममा वरिष्ठ साहित्यकार मोहनलाल सिटौला, स्रष्टाहरू विजया पन्त, कवीन्द्र सिटौला, डा वसन्त पन्तलगायतले उक्त कृतिहरूमाथि आफ्ना धारणा राख्नुभएको थियो । वरिष्ठ साहित्यकार मोहनलाल मनमायाका जेठा छोरा हुनुुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com