सबैलाई पठाउनु होला

नेपाली नेताहरूसँगको कुराकानीमा “पलिटिकल पार्टीज् प्लस” सहकार्यबारे चर्चा गर्दै आएका चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ चियान छाओ राजनीतिक भेटवार्ताका लागि काठमाण्ठू आइपुगेका छन्।

चार दिने नेपाल भ्रमणमा आएका लिउ गत महिना मात्रै चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय सम्पर्क विभाग प्रमुख भएका हुन्।

यो विभागले चीनमा अन्तर-देशीय पार्टी कूटनीति हेर्दै आएको छ। सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसको निमन्त्रणामा आएका भनिएका लिउलाई आइतवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्न कांग्रेस र एमाले नेताहरू पुगेका थिए।

चीनमा भ्रष्ट्राचार विरोधी नेताको छवि बनाएका लिउ चीनका मन्त्रीस्तरका नेता हुन्। उनले आइतवारै प्रधानमन्त्री शेर बहादुर देउवासँग भेटवार्ता गरेका छन्। परराष्ट्र मन्त्री नारायण खड्कासँगको भेटपछि लिउले राष्ट्रपति विद्यादेवी भण्डारीसहित नेपालका मुख्य राजनीतिक दलका प्रमुखहरूसँग भेटवार्ता गर्ने योजना बनाएका छन्। उनले सोमवार माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित माओवादी नेताहरूसँग भेट गर्ने तय भएको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए। मङ्गलवार लिउले नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग भेट गर्ने कार्यक्रम रहेको एमाले नेता राजन भट्टराईले जानकारी दिए।

लिउले राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेट्ने योजना बनाएका छन्। तर राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले भेटवार्ताको मिति र समय तय नभएको बताए।

लिउ नेपाल आउनुअघि पनि परराष्ट्र मन्त्री नारायण खड्कासहित एमाले र माओवादी नेताहरूसँग भर्चुअल संवाद गरेका थिए।

“पलिटिकल पार्टीज प्लस” सहकार्य

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता, विभिन्न देशमा राजदूत र चिनियाँ भ्रष्टाचार निवारण सम्बन्धी निकायको प्रमुख रहिरहेका लिउले यसअघि नेपालका नेताहरूसँगको भेटमा राजनीतिक दलहरू सहितको सहकार्यबारे कुरा गरेका बताइन्छ। चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागले आफ्नो वेबसाइटमा राखेको विवरण अनुसार जेठ १६ गते परराष्ट्रमन्त्री खड्कासँगको भेटमा लिउले “पलिटिकल पार्टीज प्लस” सहकार्यको कुरा गरेका थिए।

परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानका पूर्व उप कार्यकारी निर्देशक रूपक सापकोटाका अनुसार चीनले प्रमुख राजनीतिक दलहरूसँगको सम्बन्धलाई “पलिटिकल पार्टीज प्लस” सहकार्यको नयाँ नाम मात्र दिएको हो।

“माओका पालामा समान विचारधारा राख्ने कम्युनिस्टहरूसँग मात्रै सम्बन्ध राख्ने चलन थियो। देङ सियाओ पिङका पालाबाट चीनले कम्युनिस्ट इतरका पार्टीहरूसँग पनि सम्बन्ध राख्न सुरु गर्‍यो,” उनी भन्छन्।

“नेपालमा पनि बीपी कोइरालासँग चीनको राम्रो सम्बन्ध थियो।”

चीन मामिलाका जानकार रूपक सापकोटाका अनुसार चीनले पछिल्लो समय सरकारी स्तरमा मात्रै नभई राजनीतिक दलहरूसँगको सम्बन्धलाई पनि प्राथमिकता दिँदै आएको छ।

“कूटनीतिकै एक अङ्ग भए पनि चीनले जुनसुकै पार्टीसँग पनि भाइचारा सम्बन्ध राख्नुपर्छ भन्ने कुरालाई मुखर बनाउन खोजेको देखिन्छ,” उनले भने।

यसअघि नेताहरूसँगको कुराकानीमा लिउले चिनियाँ कम्युनिस्ट पार्टीले अनुभव आदान प्रदान र शासन प्रशासनबारे साझा सिकाइका साथै दुवै पक्षबीच अन्तर घुलन बढाउनेमा जोड दिएका थिए।

त्यसअघि जेठ ९ गते एमाले अध्यक्ष केपी ओली सहितका नेताहरू र माओवादी अध्यक्ष प्रचण्ड सँगको भेटमा पनि लिउले दलहरूबीच सहकार्यको कुरा राखेका थिए।

यसअघि एमाले र माओवादी एकीकरणपछि बनेको नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीबीच भाइचारा सम्बन्ध स्थापित गर्ने समझदारी भएको थियो।

यसै वर्ष चिनियाँ कम्युनिष्ट पार्टीको २० औँ राष्ट्रिय सम्मेलन पनि हुँदैछ।

भ्रमणको उद्देश्य के हो

लिउ चिनियाँ कम्युनिस्ट पार्टीको विदेश सम्बन्ध प्रमुख भइसकेपछि पहिलो पटक नेपाल भ्रमणमा आएका हुन्।

चिनियाँ चासोबीच नेपालले अमेरिकी सहायता परियोजना एमसीसी सम्झौता संसद्‌बाट अनुमोदन गरेको पृष्ठभूमिमा उनको भ्रमण हुन लागेको हो। नेपालले अमेरिकासँगको सैन्य साझेदारी कार्यक्रम एसपीपी अघि नबढाउने निर्णय गरेपछि चीनले स्वागत गरेको थियो।

लिउलाई स्वागत गर्न विमानस्थल पुगेका प्रधानमन्त्री निकट विदेश मामिला जानकार दिनेश भट्टराईले लिउको भ्रमण सरकारी चासोका विषयमा कम तर राजनीतिक सम्बन्ध विस्तारमा बढी केन्द्रित हुने आफूले ठानेको बताए।

“पार्टीसँगको सम्बन्धलाई अघि बढाउन, सुदृढ गर्न र पार्टीका विचारहरू बुझ्न आउनुभएको हो भन्ने मेरो बुझाइ छ,” उनले भने।

“प्रधानमन्त्री र परराष्ट्र मन्त्रीसँग पनि भेट हुने भएपछि आपसी हितका र चासोका कुराहरू पनि होलान् भन्ने मेरो अनुमान हो।”

चिनियाँ नेता लिउबाट पूर्वप्रधानमन्त्री भट्टराईको शालिक शिलान्यास

नेपालको चारदिने भ्रमणमा रहनुभएका चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियन्चाओले आज गोकर्णेश्वर नगरपालिका–१, सुन्दरीजलस्थित पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको शालिक शिलान्यास गर्नुभएको छ ।

प्रमुख लिउले मेलम्ची खानेपानी आयोजनाको सुरुङ नजिक निर्माण हुने शालिकको शिलान्यास गर्नुभएको हो । आइतबार नेपाल आउनुभएका प्रमुख लिउले सोही दिन प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता गर्नुभएको थियो । प्रमुख लिउले आज नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल,  मङ्गलबार राष्ट्रपति विद्यादेवी भण्डारी र प्रमुख प्रतिपक्षी दलका नेतालाई भेट्ने कार्यक्रम रहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com