सबैलाई पठाउनु होला

स्याङ्जा –   स्याङ्जामा १० वटा व्यावसायिक कृषि उत्पादन केन्द्र (ब्लक) सञ्चालनमा रहेका छन् । कृषि ज्ञान केन्द्र स्याङ्जाले कृषि क्षेत्रको आधुनिकीकरणमा योगदान पुर्याउने  गरी ब्लकमा समावेश गरिएका बाली-वस्तुहरुको उत्पादन तथा उत्पादकत्व वृद्धि गर्न, ‘ब्लक’ क्षेत्रमा कृषि यान्त्रिकीकरण, कृषि पूर्वाधार विकास तथा व्यावसायीकरण प्रवद्र्धन गर्ने उद्देश्यले ब्लक सञ्चालनमा ल्याएको हो ।

ज्ञान केन्द्रका सूचना अधिकारी एवं कृषि प्रसार अधिकृत ईश्वरीप्रसाद अर्यालले ‘ब्लक’ विकास कार्यक्रमअन्तर्गत स्याङ्जामा मौरी, तरकारी, फलफूल, धान र मसलाबालीमा ‘ब्लक’ सञ्चालनमा रहेको बताउनुभएको छ  । मौरी ‘ब्लक’ मा तीन, तरकारी र सुन्तलामा दुई÷दुई ‘ब्लक’ कागती, धान र मसलाबाली ‘ब्लक’ मा एक-एक रहेका छन् ।

मौरी ‘ब्लक’ विकास कार्यक्रम पुतलीबजार नगरपालिका–९ को कोल्मा, ६ को टक्सार र भीरकोट नगरपालिकाका ३, ५, ७ र ८ नम्बर वडामा सञ्चालनमा छ । तरकारी ‘ब्लक’ फेदीखोला गाउँपालिकाका १, २, ३, ४ नं. वडा तथा वालिङ नगरपालिकाका १ र ५ नं. वडामा सञ्चालनमा रहेको सूचना अधिकारी अर्यालले जानकारी दिनुभएको छ  ।

आँधीखोला गाउँपालिका २, ६ तथा वालिङ नगरपालिका २, ५ मा सुन्तला ‘ब्लक’ निर्धारण गरी कार्यक्रम सञ्चालनमा रहेको छ । बिरुवा गाउँपालिका ६ मा कागती, पुतलीबजार नगरपालिका १३ मा धान, हरिनास गाउँपालिका २, ४ मा मसलाबाली अन्तर्गत अदुवा ‘ब्लक’ विकास कार्यक्रम सञ्चालनमा रहेको छ ।

“बाली÷वस्तु उत्पादनमा काम गरिरहेका समूह सहकारीले दिएको आवेदनका आधारमा कार्यविधिअनुसार छनोट गर्छौँ’, उहाँले भन्नुभएको छ , ‘स्याङ्जामा हाल ६ वटा बाली तथा बस्तुका १० ‘ब्लक’ सञ्चालनमा छन् । एउटा ‘ब्लक’ मा दुई वर्षसम्म कार्यक्रम सञ्चालन हुनेछ । पहिलो वर्ष ज्ञान केन्द्रले रु २४ लाख र दोस्रो वर्ष रु १३ लाख ‘ब्लक’ विकास कार्यक्रमकालागि अनुदान उपलब्ध गराउँछ ।

‘ब्लक’ क्षेत्रमा रासायनिक तथा प्राङ्गारिक मल, उन्नत तथा हाइब्रिड बीउविजन, रासायनिक एवं जैविक विषादीलगायत उत्पादन सामग्रीमा अनुदान सहयोग उपलब्ध गराइने उहाँले बताउनुभएको छ  ।

बाली तथा वस्तुको उत्पादनमा वृद्धि गर्नका लागि क्षेत्रफल, कृषक समूह, लाभान्वित सङ्ख्यासहितलाई आधार मानेर पकेट, ब्लक, जोन र सुपरजोन निर्धारण गरी सञ्चालनमा रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com